कोहलपुर, कार्तिक २,
२०६८ सालमा स्थापना भएको रेसिङ सहारा क्लब बाँके आफ्ना विभिन्न खेलकुद गतिविधिहरू गर्दै अगाडि बढिरहेको छ । युवराज शाही संस्थापक अध्यक्ष रहने गरी स्थापना भएको यो क्लबले कोहलपुर क्षेत्रमा आफ्ना विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । ग्रासरुट फुटबल सञ्चालन गर्दै कोहलपुर क्षेत्रमा आफ्नो बर्चस्व कायम गर्न सफल भएको छ । नेपालको प्रतिनिधित्व गर्दै ए डिभिजनका खेलहरू खेल्ने खेलाडीहरू पनि यस क्लबले उत्पादन गर्दै आइरहेको छ । कोहलपुरलाई खेलकुद क्षेत्रको हब बनाउने मुख्य उद्देश्य बोकेको रेसिङ साहरा क्लब यतिबेला तेस्रो मुख्यमन्त्री गोल्डकपको तयारीमा जुटिरहेको छ । आफ्नो स्थापना कालदेखि विभिन्न खेलकुद प्रतियोगिता तथा खेलकुदका गतिविधिहरू सञ्चालन गर्दै आइरहेको यो क्लबले प्रथम तथा दोस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप सफलताका साथ सम्पन्न गरिसकेको छ ।
रेसिङ साहरा क्लबले उत्पादन गरेका धेरै खेलाडीहरू राष्ट्रिय टिममा रहेर खेलिसकेका छन् । रेसिङ सहारा क्लबका टिम क्याप्टेन हरि कठायतले पुलिस क्लब, फ्रेन्ड्स क्लबबाट ए डिभिजनका खेलहरू खेलिसकेका छन् । यस्तै रेसिङ सहारा क्लबले उत्पादन गरेका खेलाडी विशाल बम राष्ट्रिय टिममा पर्न सफल भएका छन् । यस क्लबले खेलकुद मात्रै नभएर सामाजिक विकास लगायत समाज सेवाका कामहरु पनि गर्दै आइरहेको छ । यस क्लबले वृक्षारोपण लगायतका धेरै सामाजिक गतिविधिहरू पनि गरिरहेको छ । यति मात्र नभई जाजरकोटका भूकम्प पीडितका लागि राहत सङ्कलन तथा राहत वितरणमा पनि हात अगाडि बढाएको थियो ।
कोहलपुरलाई खेलकुदको हब बनाउने लक्ष्य त छँदै छ । खेलकुद पर्यटन विकासमा पनि जोड दिँदै आएको छ । क्लब स्थापना भएदेखि हालसम्म धेरै साना ठूला खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको रेसिङ साहरा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले बताएका छन् । बाँकेको खेलकुद क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका युवा खेलाडी क्षेत्रीसहितको टिमले पश्चिम नेपालकै सबैभन्दा ठूलो धनराशिको फुटबल प्रतियोगिता मुख्यमन्त्री कोहलपुर गोल्ड कप सफलताका साथ समापन गरेको क्लब तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको भव्य तयारीमा जुटिरहेको छ । पहिलेका गोल्डकप भन्दा अहिलेको गोल्डकप भव्य र सभ्य तरिकाले सम्पन्न गर्नका लागि कुनै कसर बाँकी नराख्ने गरी तयारी गरिरहेको छ । प्रस्तावना पेस तथा विभिन्न प्रायोजक तथा सहप्रायोजकहरूलाई प्रपोजल पठाउने काम भइरहेको छ भने स्थानीय सरकारसँग समन्वय भइरहेको छ ।
आफू राष्ट्र सेवक कर्मचारी भएको, पश्चिमाञ्चल पोखराको टिम क्याप्टेन भएको तथा त्रिपुरागणको फुटबल खेलाडी भएका कारण पनि खेलकुद प्रतिको मोहले रेसिङ सहारा क्लबसँग आवद्ध भएको क्षेत्रिले बताए । क्लबका अध्यक्ष समेत रहेका क्षेत्री पछिल्लो समय सामाजिक सेवामा पनि उत्तिकै समर्पित देखिन्छन । क्षेत्रीले रेसिङ सहारा क्लबको बिषेश पहलमा बालबालिकाहरुका लागि ग्रासरुट फुटबल ट्रेनिङ समेत दिदै आएका छन् । करिब १७ वर्ष सशस्त्र प्रहरी बलमा कार्यरत क्षेत्री अवकास प्राप्त भएपछि क्लबका सदस्यहरूले फुटबल तिरको मोह देखेर आफूलाई रेसिङ साहरा क्लबमा तानेको सम्झिन्छन् । क्लबको विकास तथा खेलाडीहरूको हौसलाका लागि आफूलाई पनि इच्छा जागेको उनले सुनाए । उनले भने,–‘फुटबलमा धेरै किसिमका चुनौती तथा समस्याहरू आइपर्छन् । फुटबलमा सबैभन्दा ठूलो समस्या भनेको आर्थिक अवस्था हो ।’ उनले स्थापना भएको दुई दशक बितिसक्दा पनि हालसम्म क्लबको भवन निर्माण हुन नसकेको बताए ।
क्लबको वृद्धि विकासका लागि के के गर्न सकिन्छ ? कसरी क्लबलाई अगाडि बढाउने भन्ने विषयमा आफू चिन्तित रहेको र सदा त्यही विषयमा सोच्ने गरेको क्षेत्रीले बताए । क्लबलाई अगाडि बढाउनको लागि प्याब्सन, एन प्याब्सन लगायतका विभिन्न संघ संगठनहरू तथा स्थानीय सरकारले राम्रो सहयोग गरिरहेको उनको भनाइ छ । सबैको साथ र सहयोग रहेका कारणले पनि क्लबले राम्रो प्रगति गर्न सक्ने उनको भनाइ थियो । रेसिङ साहरा क्लब ए डिभिजन क्लब भएकोले पनि छुट्टै महत्व छ । विभिन्न जिल्लाहरूमा धेरै खेलहरू खेलिसकेको क्लबले नवलपरासी जिल्लामा भएको खेलमा पुलिस क्लब जस्तो बलियो टिमलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो । रेसिङ सहारा क्लब मात्रै नभई समग्र कोहोलपुरको प्रतिनिधित्व गर्दै देशका विभिन्न स्थानमा विभिन्न मोफसलका टुर्नामेन्टहरू खेल्ने उनको दाबी छ । त्यही तयारीका साथ अन्य क्लबका अध्यक्षहरूसँग पनि आफ्नो छलफल भइरहने उनी बताउँछन् ।
क्लबको भवन निर्माणका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको र सकारात्मक प्रतिक्रिया आउनेमा उनी विश्वस्त छन् । गोल्डकपको आयोजना गर्दै गोल्डकपबाट सङ्कलन भएको रकमबाट भवन निर्माणको तयारी थाल्ने क्लबको उद्देश्य रहेको छ । अब आयोजना हुन गइरहेको तेस्रो गोल्ड कपबाट दर्शकहरुले फरक स्वाद पाउने पाउने अपेक्षा उनको छ । फुटबल मैदानको स्तर उन्नतिमा स्थानीय सरकारको पनि दायित्व भएका कारणले क्लब तथा स्थानीय सरकारको समन्वयमा मैदानको स्तर उन्नति गर्ने उनको दाबी छ । सबै राजनीतिक दल स्थानीय सरकार पत्रकार लगायत समन्वयकर्ताहरूसँगको सहकार्यमा खेलमैदानको स्तर उन्नति गरिने तथा तेस्रो गोल्ड कप सञ्चालन गर्ने उनले बताए । जसका लागि मिनी प्याराफिट स्थानीय सरकारले गर्ने पहिलेको जस्तो प्याराफिट नबनाई सस्तो टिकट मूल्यमा कप सञ्चालन गर्ने बताए । क्लब स्थापना भएदेखि हालसम्म नेपाल आर्मी, सशस्त्र प्रहरी तथा पुलिस क्लबमा धेरै खेलाडीहरू खेलिरहेका छन् । उनले भने,–‘फुटबलमा भविष्य खोज्नेहरूका लागि राम्रो छ । हामीले पनि खेलाडीको उज्वल भविष्यका लागि टिमवर्कले काम गर्छौं ।’ उनका अनुसार सबै पदाधिकारीहरूले साथ सपोर्ट क्लबलाई तथा खेलाडीलाई दिईरहेको छ ।
यस क्लबका सचिब नवकिरण शाह पनि खेलाडी उत्पादन तथा खेलाडीको मनोभावना उच्च राख्न लागिपरेका छन् । उनी भन्छन्,–‘म क्लबको सचिब हुँ । यसमा मेरो कुनै पनि व्यक्तिगत स्वार्थ छैन । यस क्लबबाट राम्रा खेलाडि उत्पादन गरि राष्ट्रिय स्तरसम्म पु¥याउने मुख्य उद्देश्य छ ।’ स्थानीय खेलाडि उत्पादनका साथै ग्रासरुटबाट ट्रेनिङ सञ्चालन गरी स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका टिमहरू सहभागी गराउँदै विभिन्न स्तरीय खेलहरू सञ्चालन गर्दै आइरहेको सचिब शाहले बताए । उनले भने,–‘पश्चिम नेपालमै सबैभन्दा ठूलो धनराशिको फुटबल प्रतियोगिता आयोजना गर्नु नै सबैभन्दा ठूलो चुनौतीको विषय हो । पहिलो र दोस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप विभिन्न तहका सरकारवाला निकाय, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्थानीय सरकार लगायतको सहयोगमा सफलताका साथ सम्पन्न गरेका छौं । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको प्रारम्भिक चरणको तयारी गरिरहेका छौं ।’
उनले दशैं तिहारको बीचमा सम्पूर्ण तयारीहरू पूरा गरी मङ्सिरको पहिलो या दोस्रो साताभित्रै गोल्डकप सञ्चालन गर्ने तयारी भैरहेको जानकारी दिए । शाहले क्लबले विभिन्न खालका खेलकुद कार्यक्रमहरुको आयोजना गर्दै गर्दा आर्थिक चुनौति मुख्य समस्या रहेको बताए । पहिलो र दोस्रो गोल्डकप सम्पन्न गरिसक्दा आर्थिक कुरामा धेरै कुराले प्रभाव पारेको बताउँदै व्यक्तिगत तरिकाले पनि गोल्ड कपमा क्लबका सदस्यहरु मार्फत ५ देखि ६ लाखसम्म खर्च गरेको उल्लेख गरे । उनले अपेक्षा गरेअनुसार आर्थिक रूपमा आफूहरु सम्पन्न नभएको बताए । खेललाई व्यवस्थित बनाउने क्रममा संकलन भएको आर्थिकले मात्रै पर्याप्त नभएको बताए । रेसिङ साहरा क्लबले खेल क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ ।
यहाँ आयोजना भएका प्रतियोगितामा देशका चर्चित खेलाडीहरुको खेल कौशल नागरिकले हेर्ने मौका पाए भने नयाँ खेल प्रतिभाहरुले कला सिक्ने अवसर पाएका छन् । यस क्लबले मुख्यगरी देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सफलता पाउने खेल प्रतिभाको खोजी गरिरहेको छ । ठूला प्रतियोगिताबाट स्थानीयस्तरमा भएका खेल प्रतिभाको पहिचान हुन सक्छ । हाल यस क्लबसँग ३ ग्रुरुपको खेलाडीहरु रहेका छन् । ८ देखि १४ वर्षको, १४ वर्ष देखि १८ वर्ष सम्मको, त्यो भन्दा माथिको अर्को ग्रुरुप १८ देखि २२ वर्षसम्मको सिनियर टिम रहेको छ ।
बिधुत्मा रैका, प्रधान सम्पादक




