नेकपा एमाले अछामको नेतृत्व चयनमा चासो, डिबी साउँदको अध्यक्षमा दाबी

कोहलपुर, बैशाख १३,

विद्यार्थी राजनीतिबाट अघि बढेका युवा नेता डिबी साउँद प्रमुख दाबेदारका रूपमा उदाएका छन् । अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष रहेका साउँदले पार्टीका विभिन्न तहमा लामो समयदेखि सक्रियता र योगदान दिएका छन् । साउँदले आफू जिल्ला, प्रदेश र केन्द्रस्तरीय नेताहरूको विश्वास जित्न सफल भएको दाबी गरेका छन् । “पार्टीप्रतिको समर्पण, जनसमस्याप्रतिको निरन्तर सक्रियता र संगठनभित्र आर्जन गरेको अनुभवले मलाई नेतृत्वका लागि योग्य बनाएको छ,–‘साउँदले भने, “म सर्वसम्मत अध्यक्ष बन्नेमा पूर्ण विश्वास लिएको छु ।’

उनको पक्षमा विशेषगरी युवा पुस्ताको उल्लेखनीय समर्थन देखिएको छ । उनी संगठनलाई नवीन उचाइमा लैजाने सक्ने क्षमताशाली नेताका रूपमा स्थापित हुँदै गएका छन् ।

अध्यक्ष पदमा कडा प्रतिस्पर्धा
एमाले अछामको अधिवेशनले जिल्लाको भविष्यको संगठनात्मक दिशा तय गर्ने भएकाले नेतृत्व चयनमा विशेष चासो देखिएको छ । अध्यक्ष पदमा डिबी साउँदसँगै वर्तमान अध्यक्ष चन्द्र बहादुर बोहरा, भीम रावल (कालोटोपी), शिवप्रसाद उपाध्याय, बमबहादुर विसी र तिलक कुँवर पनि बलिया दाबेदारको रूपमा प्रस्तुत भएका छन् । त्यस्तै, केही समयअघि नेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किएका हिरण्ड भट्टराईको नाम पनि अध्यक्षको प्रतिस्पर्धामा चर्चामा छ ।

संगठनभित्र एकता कायम गर्दै नयाँ नेतृत्व चयन गर्ने चुनौतीसँगै, अछामको ९औं अधिवेशनले पार्टीको आगामी बाटो र संगठनको भविष्यलाई गम्भीर असर पार्नेछ । प्रतिस्पर्धी नेताहरूबीचको चुनावी प्रतिस्पर्धा र सहमति निर्माण प्रयासले अधिवेशनको परिणाम झन् रोमाञ्चक बनाउने संकेत देखिएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !