कोहलपुर, भदौ २९,
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंगो लागेको छ ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम निश्चित भएको हो । गृहमन्त्री अर्याललाई कानुन मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी भएको छ । यस्तै, कुलमान घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइने भएको छ ।
“यो प्रारम्भिक सूची हो, उहाँहरूको मन्त्रालयको जिम्मेवारी थपिन पनि सक्छ,” प्रधानमन्त्री निवास स्रोतले जानकारी दियो । स्रोतका अनुसार उनीहरूको शपथ ग्रहण सोमबार बिहान हुने पक्का भएको छ । रामेश्वर खनाल हालै मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा प्रतिवेदन बुझाइसकेका छन् । उनी पूर्वअर्थ सचिव पनि हुन् ।
ओमप्रकाश अर्याल चर्चित कानुन व्यवसायी हुन् र पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकारका रूपमा सक्रिय थिए । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन्, जसलाई केपी शर्मा ओली नेतृत्वको सरकारका समयमा पदमुक्त गरिएको थियो । सरकारमा उनीहरूको प्रवेशसँगै आगामी दिनमा मन्त्रालयहरूको कामकाजमा गति आउने अपेक्षा गरिएको छ ।



