कोहलपुर, भदौ ३०,
नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै उद्योग क्षेत्रको विद्युत् बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् ।
घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि उद्योगहरूले तिर्न बाँकी राखेको विद्युत् बक्यौता उठाउन निरन्तर पहल गरेका थिए । तर तत्कालीन ऊर्जामन्त्रीहरूको असहयोगका कारण उनले काम अघि बढाउन कठिनाइ खेपेका थिए । बारम्बार स्पष्टीकरण सोधेर अनावश्यक दबाब दिने र उठाउनुपर्ने बक्यौता उठाउन नदिने हतकण्डा अपनाइएकाले उनको कार्यकाल सकिन केही महिना बाँकी रहँदा बर्खास्तीमा पर्नु परेको थियो ।
लोडसेडिङका कारण १८ घण्टासम्म अँध्यारोमा बस्न बाध्य भएको देशलाई उज्यालो बनाउनेतर्फ नेतृत्व गरेका घिसिङ आज ऊर्जामन्त्रीको हैसियतमा फर्किएका छन् । ऊर्जा क्षेत्रमा सुधार ल्याउने उनको अघिल्लो भूमिकाले नै उनलाई ‘उज्यालो नेपालका बिम्ब’ बनाएको छ ।
उनको यो निर्णयलाई ऊर्जा क्षेत्रमा सकारात्मक सन्देशका रूपमा लिइएको छ । “विद्युत् बक्यौता उठाएर आफ्नो गोजी भर्ने होइन, राज्यकोषमा फिर्ता ल्याउने घिसिङजस्ता प्रशासक÷मन्त्री भएमा देशले छिट्टै काँचुली फेर्नेछ,” ऊर्जा विश्लेषकहरू बताउँछन् । नवनियुक्त मन्त्री घिसिङलाई ऊर्जा क्षेत्रमा थप चुनौतीहरू हुने अनुमान गरिएको छ । तथापि, उनका समर्थकहरूले यी चुनौतीहरूलाई सहजै पार गर्ने विश्वास व्यक्त गरेका छन् र सफल कार्यकालको शुभकामना दिएका छन् ।



