बिहान उनले बालेको वत्तिले
घर, भान्सा र मझेरी उज्यालिन्छ
सासु-ससुरालाई तातो–चिसो पानी र दुध
चिया, कुकिज र पाउरोटीले
सेवा गरे पश्चात
शरिर तन्काउँदै
श्रीमान् उठ्छ र भन्छ
सधैं तातो पानी, चिया र दुध
फलफुल, जुस आदि बजारमा पाइँदैन ?
कर्कश आवाजमा गर्जिन्छ
रुँदै रुँदै बच्चा उठ्छ
लछप्प भिजेको सुरुवाल लतार्दै
सुरुवाल फेरि
तातोपानी र दुध खुवाएर
भान्सामा जाँदा
डढेको भातको बास्ना
घरभरि फैलिन्छ
सासु कराउँछिन्
सधैं डढाउँछे
राँड !
खाना बनाएर
कोखाई कोखाई गर्दै
बच्चालाई खाना खुवाउँछे
र विद्यालय पुर्याउँछे
घर पुग्दा
श्रीमान् रिसाउँछ
कहाँ गएकी यतिका बेलासम्म हँ !
भोक लागिसक्यो
नडढेको खाना
सासुससुरा र श्रीमानलाई
भोजन गराई
माम्म्रासहितको डढेको खाना
हतारमा खाईवरि
भाँडा माझेर कार्यालय पुग्दा
विहानको करिब ११ बज्छ
हाकिम कराउँछ
सँधै ढिला ! किन
कहिले ङिच्च हाँस्छे
कहिले सिर झुकाएर बस्छे ।
कार्यालयमा साथीहरुसँग
बोल्दा बोली तौलिनु पर्ने
कतै बढी हुन्छ कि डराउनु पर्ने
जताजता बाजे उतै उतै स्वाहा
हुँदा मात्रै खुसी हुन्थे साथीहरु ।
कार्यालय समय पश्चात
एक मिनेट दायाँबायाँ नगरी
विद्यालयबाट बच्चा लिएर
घर पुग्दा
भोकाएका सासुससुरा र श्रीमानका नजर
भोको बाघका भन्दा कम डरलाग्दा हुँदैनन्
हतारमा खाजा बनायो खुवायो
एउटा न एउटा खोट लगाई
घोँच्ने गरी बोल्छन् ।
सासुससुरा, श्रीमान् र बच्चा भरसक सबैको
खुसी पार्ने खाना बनायो
खै के पुग्दैन, पुग्दैन
उनीहरुको मिठो मुख र हँसिलो अनुहार
पार्नै सक्दिनन् उनी
खाना खाएका जुठा भाँडा
पकाएका भाँडा
भान्सा सबै सफा गरेर
कोठामा पुग्दा
घडीले ११ बजाएको हुन्छ
नाङ्गो शरिर
खाटमा पल्टिएको बच्चालाई
सुताउन नपाउँदै
श्रीमानले व्वाँसोले झैं च्याप्प समाउँछ
पल्टाउँछ र विस्तरा बनाउँछ
इच्छा पुरा गर्छ
ढाड फर्काउँछ
अनि सुत्छ ।।
(नारीका दुःख कलमले लेख्नै सक्दैन)
– विजय खत्री
२०७७ भदौ ७, सोमबार
तपाईको प्रतिक्रिया