दुवै हातले
टाउको च्यापेर
दुवै घुँडा
छातिमा टाँसी
अनाथ बच्चा
विहानको पारिलो घाममा सेकिए झैं
विस्तारामा उ
कुक्रुक्क ढलिरहेछ
परदेशमा ।
दुई ब्लांकेटको थिचाई
शरिरको तापक्रमले
न्यानो महसुस भए पनि
पाकेको केरा थिचिए झैं
थिलाथिला परेर
शरिर कट्कट् दुखिरहेथ्यो
परदेशमा ।
कोठा बाहिरबाट आएको
सुमधुर स्वर
कानको जालीसम्म आईपुग्दा
ढुंगा काट्दा
ग्रायण्डरले निकालेको
कर्कश आवाज भन्दा
एक रति कम थिएन
परदेशमा ।
हातलाई
ब्लाङकेट कुनामा राख्न
आँखालाई ढकनि खोल्न
मस्तिस्कले
बारबार आदेश दिइरह्यो
तर हात र ढकनी
अटेर गरी
चोयाले घाँसको भारी कसेझैं
कसिरहेथे
परदेशमा ।
विरामी परेर ढलिरहँदा
तातो पानीले स्वागत गर्ने
र
चिसो पानीले विदाई गर्ने
मात्रै पनि
कोही भएन
परदेशमा ।
-विजय खत्री
२०७७ भाद्र ११ गते
तपाईको प्रतिक्रिया