- 7Shares
जब तिमी यात्रामा
पानी पानी भएकी थियौ
त्यतिबेला एक थोपा पानी बनेर
म तिम्रो सामु उभिएको थिएँ ।
म जुनसुकै बेला पनि
मरुभुमिमा विलिन हुन सक्थें
हावाका झोक्काहरुले उडाएर
तिखा काँडाहरुमा पछारिन सक्थें
बसन्तको चर्को घाममा
सुकेर हराउन सक्थें
दानविर ! तिमी आयौ
प्यासी बनेर
हामी चिनी पानी झैँ घुल्यौं
र
चिनीपानी बन्यौँ ।
चिनीलाई चोट लाग्दा
पानीलाई दुख्यो
पानीलाई निचोर्दा
चिनी निचोरियो
चिनीको मूल्य बढ्दा
पानीले उत्सव मनायो
पानीको विजयी यात्रामा
चिनी रंगियो ।
एक थोपा पानी मात्रै अट्ने
साँघुरो भाँडामा पनि
पानीसँगै चिनी छिर्यो
निसासिनै परे पनि सँगै निसासियो
भिज्नै परेपनि सँगै भिज्यो
विलाउनै परेपनि सँगै विलायो ।
मेरो मन भरिएर आउँथ्यो
मेरो मन भरिएर आउँथ्यो
जब कुनै घरमा कहिले काहीँ सुन्थेँ
कति झगडा गर्छौ
चिनीपानी झैँ
मिलेर बस न,
कहाँको चिनी कहाँको पानी
सदैव चिनीपानी ।
समयसँगै चिनीलाई पानी
बेस्वाद लाग्न थाल्यो
र
दुध, दही, महमा मिल्न थाल्यो
पानीले घर बगाएको देख्न थाल्यो
घर बनाएको देखेन
बस्ति डुबाएको देख्न थाल्यो
बस्ति बसाएको देखेन
टोल नै गन्ध आउने ढल देख्न थाल्यो
सफा गर्ने पानी देखेन
दोष मात्रै भेट्यो
गुण भेटेन ।
निष्कर्षमा पुग्यो पनि होला,
पानीसँग मिले
गिलासको रु बीस
दुध, दही र महसँग मिले
गिलासको क्रमश : रु तीस, पचास र एकसय पचास ।
– विजय खत्री
२०७७ कातिक १२
तपाईको प्रतिक्रिया