काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बालबालिका र वृद्धवद्धाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमण फैलिँदै गएका काठमाडौं लगायतका ठूला शहर र घना बस्तिहरुमा बालबालिका र वृद्धवृद्धाहरु बाहिर निस्कन नहुने बताएका हुन्
‘६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा १२ वर्ष मुनिका बालबालिका काठमाडौं र काठमाडौं जस्तै घना बस्ति भएका ठाउँहरुमा घरबाट बाहिर ननिस्कनु हुन अनुरोध छ,’डा गौतमले भने, ‘केही दिन यता हाम्रो देशमा कोरोना पोजेटिभ दर बढी भएको छ ।’
डा गौतमले कोरोना निको हुनेको संख्या पनि बढ्दै गएको बताए । तर कोरोना संक्रमण हुन नदिन सचेत हुनुपर्ने डा गौतमले बताए ।
डा गौतमले कोरोना संक्रमणबाट बच्ने नागरिक आफैको जिम्मेवारी भएको पनि बताए । उनले नाक मुख छोपिने गरी मास्क प्रयोग गर्न पनि आग्रह गरेका छन् । घर र कार्यालय भित्र प्रवेश गर्दा वा कुनै सामाग्री छोएपछि साबुनपानीले हात धुनुपर्ने साथै घर होस् वा कार्यालय वा सार्वजनिक स्थलमा चिनेका तथा नचिनेका सबै व्यक्तिसँग २ मिटरको दूरी कायम गर्न पनि आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया