भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले सीताविना अयोध्या अधुरो रहेको बताएका छन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग विहीबार लखनऊस्थित आफ्नै कार्यकक्षमा भेट गर्दै मुख्यमन्त्री आदित्यनाथले नेपालको कालीगण्डकीबाट रामलिलाको प्रतिमा बनाउन ल्याइएको देवशिलाले पनि राम-सीतालाई जोडेको बताए ।
भेटमा मुख्यमन्त्री आदित्यनाथले राम जन्मभूमि अयोध्यामा नेपाल हाउस बनाउने प्रतिबद्धता व्यक्त गरेको नेता शाहले जानकारी दिए । ‘सीता माताविना अयोध्या अधुरो छ । सीतालाई समेट्ने नेपाल हो । मिथिला हो । नेपाली भक्तजनलाई समेटेर अयोध्यामा नेपाल हाउस निर्माण हुन्छ,’ मुख्यमन्त्री आदित्यनाथको भनाइ उद्धृत गर्दै नेता शाहले भने ।
नेपाली प्रतिनिधिमण्डलले नेपाल र भारतलाई अवध र मिथिलाको सम्बन्धले जोडेको भन्दै नेपाली भक्तजनलाई निशुल्क भोजन र आवासको सुविधा हुनेगरी नेपाल हाउस बनाउन योगीसँग माग गरेका थिए । ‘भेटमा मैले भर्खरै नेपालको कालीगण्डकीबाट रामललाको प्रतिमा बनाउन ल्याइएको देवशिलाको महत्व र दुई देशबिचको सांसकृतिक संम्बन्धका साथै अयोध्यामा नेपाल हाउस बनाउन हुन आग्रह गरेको छु,’ शाहले भने ।
मुख्यमन्त्री आदित्यनाथले जवाफमा सीताविना केही पनि पूर्ण नहुने भन्दै नेपाल हाउस भवन बनाउने प्रतिबद्धता जनाएका हुन् । उत्तर प्रदेश सरकारले अयोध्यामा धार्मिक स्मार्ट सिटी बनाउँदैछ । त्यसमा सीताविना सबै अधुरो हुने भन्दै नेपाल हाउस भवन बनाउने प्रतिबद्धता योगीले गरेका छन् ।
नेपाली प्रतिनिधिमण्डलमा नेपाल फाउण्डेशनका अध्यक्ष विकास ठाकुर, टेलिभिजन पत्रकार अनन्त अनुरागलगायत थिए ।
तपाईको प्रतिक्रिया