सप्तरी । कोरोना संक्रमणका कारण मृत्यु भएका सप्तरीका एक वृद्धले व्यापक रुपमा कोरोना फैलाएको देखिएको छ । हालसम्म उनीसँग सम्पर्कमा आएका ९ जनामा कोरोना संक्रमण देखिइसकेको छ ।
राजविराज नगरपालिका–६ का उनी भारतमा उपचार गराई श्रीमती र छोरासहित नेपाल आएका थिए ।
मुटु रोग, थाइरराइडलगायतका दीर्घरोगीसमेत रहेका उनीलाई स्वास प्रश्वासमा समस्या हुनुकासाथै ज्वरो पनि आएपछि धरानको बीपी प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएका उनको उपचारकै क्रममा साउन १ गते राति अस्पतालमै मृत्यु भयो ।
घटनाक्रम
साउन १ गते : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ७३ वर्षीय कोरोना संक्रमितको मृत्यु ।
साउन ४ गते : मृतक पुरुषको परिवारका ५ जनामा कोरोना संक्रमण रहेको पुष्टि । उनकी श्रीमती श्रीमती(६७ वर्ष), छोरा(४५), बुहारी३६), नाती(१७), नातिनी(११) मा कोरोना संक्रमण रहेको पुष्टि ।
साउन ५ गते : मृतकको घरमा थापिएको खाद्य तथा ग्याँस पसलमा काम गर्ने ५५ वर्षीय पुरुष र मृतकका छोराका साथी ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि ।
साउन ६ गते : मृतकका छिमेकी ५३ वर्षीय पुरुष र उनकी ४८ वर्षीया श्रीमतीलाई कोरोना संक्रमणको पुष्टि ।
आज कोरोना संक्रमणको पुष्टि भएका पुरुष र महिलाकी छोरी राजविराजमा रहेको सनराइज बैंकमा काम गर्ने कर्मचारी हुन् । उनीमार्फत बैंकमा पनि कोरोना संक्रमण फैलिएको हुनेसक्ने आशंका गरी बैंकलाई सिल गरिएको छ।
संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा लगातार कोरोना संक्रमित देखिन थालेपछि अहिले राजविराजका स्थानीयमा त्रास छाएको छ । उनीहरुले कम्तिमा पनि १५ दिन कडा लकडाउन गर्न प्रशासनसमक्ष माग गरेका छन् । नगरपालिकाले भोलीबाट सम्पूर्ण पसल तथा व्यवसाय बन्द गर्न उर्दी जारी गरेको छ। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने भनेको छ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मृतक र उनीपछि कोरोना संक्रमण देखिएकोको कन्ट्याक्ट ट्रेसिङका आधारमा १५० जनाभन्दा बढीको स्वाब संकलन गरिसकिएको छ । आज संक्रमण देखिएकाको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलनको तयारी भइरहेको छ । -हेल्थपाटी
तपाईको प्रतिक्रिया