काठमाडौं । पछिल्लो दुई पुस्तामा निरन्तर बाजा बजाउने काम गरेका इमानुयलको घरमा हिजोआज पञ्चैबाजा भेटिँदैन । उनका छोराले त पञ्चैबाजा किताबको पानामा पढेको बाहेक चिन्दा पनि चिन्दैनन् । न त उनले घरमा पञ्चैबाजाको कुरा सुने न त समाजमा । यतिबेला उनी कहिलेकाहीँ चर्चमा पुगेर ब्याण्ड बाजा बजाएर नाच्ने बाहेक मौलिक बाजासँग परिचित छैनन् । दुई पुस्ताले त्यही बाजा बजाएर नै परिवार पालिरहेका थिए । हरेक महिनामहिनामा विष्टको घरमा गएर धान चामल, तरकार, नुन तेल लगायत आवश्यक सबै सामग्रीहरु लिएर आउँथे । त्यसको साँटो उनले बाजा बजाउनेदेखि परेको बेलामा कपडा सिलाइदिनु पर्दथ्यो । इमानुयलको पालोसम्म आइपुग्दा त कपडा सिलाएको पनि थप पैसा आउन थालिसकेको थियो ।
२०६७ सालतिर गाउँमा केही नयाँ मान्छेहरु आए । बिरामी भएका एक महिलालाई प्रभुले दिएको अमृतभन्दै औषधि खुवाए । बिस्तारै ती महिला निको हुँदै गइन् । त्यसपछि उनले प्रभुका कारण आफ्नो रोग निको भएको भन्दै सो धर्मको प्रचारमा गाउँका मान्छेलाई सम्झाउन थालिन् । उनी ज्वरो आउँदा पनि बाहिरी औषधि खान छाडिन् । चर्चमा गएर प्रभुको अमृत भन्दै खान्थिन् । सायद त्यो अमृत भनिएको खानेकुरामा नै औषधि मिसाइएको हुन सक्छ । गाउँमा शिक्षितहरु कम थिए, औषधिमूलोको रुपमा त्यही जडिबुटीबाहेक केही थिएन । जडिबुटीको तुलनामा बाहिरी औषधिले छिटो काम गर्ने गर्दथ्यो । त्यसैले उनीहरु जडिबुटीलेभन्दा पनि प्रभुको अमृतले छिटो निको हुने भ्रममा बाँचे । बिस्तारै समाजमा इसाईकरणको माहोल बढ्दै गयो ।
२०७२ सालतिर इमानुयलको घरमा पनि केही व्यक्तिहरु आए । उनीहरु एकपटक आएपछि नियमितजसो घरमा आउन थाले । हरेक दिन आउने प्रभुको कथा सुनाउने, मुक्तिको बाटो सिकाउने गर्न थाले । बिस्तारै इमानुयलको पनि मन त्यतै गयो । उनलाई पनि हो कि ? भन्ने जस्तो लाग्न थाल्यो । वास्तवमा इमानुयलको नाम राम परियार हो । उनले इसाईमा आस्था राख्नेबित्तिकै सबैभन्दा पहिले आफ्नो नाम परिवर्तन गर्नुप¥यो । त्यसको अर्थ थाहा नभए पनि तिनै अभियान्ताहरुले उनको नाम इमानुयल राखिदिए । त्यही नामबाट बोलाउन थाले । उनी २०७३ को वैशाखमा पहिलोपल्ट चर्च छिरे । त्यही दिनदेखि उनी आधिकारिक रुपमा इसाई भएका थिए ।
इसाई त भए तर उनले आफूले मान्दै आएको धर्म संस्कृति बिस्तारै छाड्दै जानुपर्ने भयो । त्योभन्दा ठूलो उनको पूर्खाले धेरै पहिलेदेखि मान्दै आएको गाना बजाना छाड्नु पर्ने भयो । चर्चमा ब्याण्ड बाजा थियो । उनले पञ्चैबाजा बजाउँदा त्यो चर्चमा अनुमति नभएको भन्ने जानकारी पाएपछि उनले बाध्य भएर भएको बाजा पनि अर्कै गाउँका आफन्तलाई दिनु परेको थियो ।
अहिले त्यो गाउँमा उनी मात्रै होइन, कुनै पनि परियार खलकले अहिले बाजा बजाउन छाडेका छन् । यो कथा हो धादिङको उत्तरी भेग रुबीभ्यालीको वडा नं २ को । अहिले त्यो क्षेत्रमा बौद्ध बाजा र हिन्दु बाजाहरु बज्न छाडिसकेका छन् । पछिल्लो डेढ दशकमा यो क्षेत्रले पञ्चैबाजाबाट ब्याण्डबाजामा प्रवेश पाइसकेको छ । यो क्षेत्रमा मात्रै नभएर पछिल्लो समय जिल्लाका अन्य क्षेत्रमा पनि इमानुयल जस्तै धेरै परियार थरका व्यक्तिहरुले बाजा बजाउन छाडिसकेका छन्् । यसमा कसैको चासो नभएर त कसैले धर्मका कारण पनि बाजा बजाउन छाड्ने गरेको बताउँछन् । धर्मान्तरणले हाम्रो समग्र संस्कृतिसँगै बाजा संस्कृतिलाई पनि प्रभावित पारेको देखिन्छ ।
श्रोत- Kathmandukhabar
तपाईको प्रतिक्रिया