काठमाडौ, देशको पहिलो पूँजी भनेको त्यस देशको सक्रिय जनशक्ति हो । एउटा देशको विकासको मात्रामा उक्त सक्रिय जनसंख्या (युवाहरू)को ठूलो भुमिका रहेको हुन्छ । हाम्रा युवाहरू देश भित्र आफुमा भएको सीप, दक्षता, क्षमता र योग्यताका आधारमा सिर्जनाशिल ढ·बाट महाअभियानमा जुट्ने हो भने समृद्ध नेपाल निर्माणका लागि विदेशी सहायता पर्खेर बसिरहन पर्दैन । तर हामीहरूको राजनीतिक पार्टीहरूले युवा नेतृत्व छान्दा देश, जनताको लागि रगत बगाएका भन्दा ‘व्यक्ति गुलामी’ गरी अकुत सम्पत्ति कमाउन सक्ने र नेतृत्वको चाकडी गर्नेलाई नेतृत्वमा स्थापित गर्ने परिपाटी देखिन्छ । यस्तो युवा नेतृत्व राष्ट्रका लागि सुखद देखिदैन । नेतृत्वको सपना देख्ने युवाहरूले आफुमा नेतृत्वका लागि चाहिने गुणहरूको पनि विकास गर्नु जरूरी हुन्छ । युवा नेतृत्व अवसर, चुनारुैती दुवै हो तर हाम्रो नेतृत्व तहमा भएकाहरूले चुनौतीको पर्खाल भत्काउन तत्परता देखाउदैनन् केवल अवसरको पछि मात्र दौडिरहेको देखिन्छन् । हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरूमा आफुले भोग्नुपरेका चुनौतीका थुप्रै कुरा ग¥यौ । तर आफुभित्रका सम्भावनालाई खोजी कहिल्यै गरेनौ । समय परिस्थिति फेरिएको छ तर नेपाली युवाहरू विभिन्न व्यवस्थाका नाममा रोमल्लीरहेका छन् । मिहिनेत गरेर देश निर्माणका लागि पसिना बगाउने युवा देशले खोजिरहेको छ, तर हाम्रा तरूणहरू फेरि पनि रगत बगाउने, चन्दा आतंक फैलाउने बाटोमा दौडिरहेका छन् । यस्ता कार्य देशको लागि आवश्यक छैन भन्ने कुराको पुष्टि १० बर्षे सशस्त्र द्वन्द्वकालले गरिसकेको छ । यो प्रवृत्तिले हामीलाई कहि पु¥याउँदैन । अब बदलिएको अवस्थालाई बुझेर देशलाई नविन विचार प्रदान गर्न सक्ने युवा जनशक्ति आवश्यक छ । युवा परिवार, समाज र राष्ट्र कै सामाजिक, आर्थिक एवंम् सांस्कृतिक रूपान्तरणका लागि मात्र नभई शोषण, अन्याय, अत्याचार र दमनबाट ग्रसित समाजलाई उज्यालो मुहारमा बदल्न सक्ने सार्मथ्य भएको हुनुपर्छ । युवाहरू समाजका लागि उदाहरणीय र अनुकरणीय हुनुपर्छ । युवा नेतृत्वले बोल्ने भाषा अरूका लागि मार्गदर्शन गर्न लायक हुनुपर्छ । युवाहरूले २१औ शताब्दीमा वोल्ने वचन भोलिको दर्शन हुनुपर्छ । युवा नेतृत्वले देशका आम नागरिकहरूसँग गर्ने व्यवहार समाजका प्रत्येक सदस्यले अँगाल्न सक्ने हुनुपर्छ । हामी अहिले कस्तो समाजमा जीवन विताइरेका छौ ? हाम्रा अगाडिका चुनौतीका पर्खालहरू के–के हुन् ? यी पर्खालहरू भत्काउँदै सभ्य अनि सु–संस्कृत समाज निर्माणका लागि हामीले कुन–कुन क्षेत्रमा पहल गरिरहेका छौ । यी प्रश्नको उचित समाधान गर्न सक्ने तागत भएको युवा नेतृत्व आजको आवश्यकता हो । फलस्वरूप युवा नेतृत्वले एउटा कार्यक्रम भित्र जीवन खोज्ने होइन, नविन दृष्टिकोण भित्र आफ्नो र आफु बसेको समाजको जीवन खोज्न सिक्नुपर्छ ।
नेपालको विकासको आधारशिला भनेको कृषि, जलस्रोत र पर्यटनलाई लिइन्छ । अब हामीले यी क्षेत्रका अध्ययनका लागि सिक्ने र सिकाउने पाठशाला खोल्न ढिलो गर्नु हँुदैन । जलस्रोतको सम्भावना बोकेको हाम्रो मुलुकमा युवा जनशक्तिलाई विदेश पलायन हुन रोक्न हाइड्रोपावर विश्वविद्यालय र पर्यटन विश्वविद्यालय तत्काल खोल्नुपर्छ । नेपाली युवा विद्यार्थीहरू अनुसन्धानमा आधारित विश्वका विभिन्न देश गइराखेका छन्,जसले गर्दा नेपालको ठूलो पूँजी विदेश पलायन भएको छ । त्यसैले तत्काल यी विद्यार्थीहरूलाई हाम्रै विश्वविद्यालयमा फर्काउनका लागि हाम्रा अनुसन्धान केन्द्रहरूमा ठूलो सुधार गर्नुका साथै पर्याप्त बजेट विनियोजन गर्नुपर्छ । हुनत कलेजका गेटहरूमा बसेर विद्यार्थीहरूका परिचय पत्र बनाई कमिशन खाएर जीवन निर्वाह गर्ने र युवा विद्यार्थीद्वारा नै राजनीतिलाई नै घृणित गराउने कार्य गर्ने युवाहरूको जमात पनि राजनीतिमा छन् तर यो प्रवृत्तिलाई निरूत्साहित गरेर क्षमतावान युवाहरूलाई अगाडि बढाउनु पनि हामी युवाहरूको दायित्व हो । आफैमा राजनीति गर्ने युवाहरू सबै खराब हुँदैनन्, सबैलाई एउटै तहमा तुलना गर्नु हुँदैन । तर युवाद्वारा राजनीतिमा शुद्विकरण गर्नु जरूरी छ । राजनीतिमा थुप्रै युवाहरू नविन दृष्टिकोणका साथ देश चलाउने सार्मथ्य पनि राख्दछन्। अतः क्षमतावान युवाहरूलाई वन्देज गरेर उपभोक्तावादी चिन्तन बोकेका, वैचारिक रूपमा स्खलित युवाहरूलाई राजनीतिमा राखिरहन्छौ, त्यसले व्यक्तिको जीवनशैली बदलिएला तर देशको परिस्थिति बदलिदैन । देश बनाउन त उमेर होइन दृढ इच्छाशक्ति भएको, नवीन दृष्टिकोण बोक्ने, विचारमा युवापन र युवामन भएको व्यक्ति नै चाहिन्छ । जुन नेपाल राष्ट्र र नेपाली मनले खोजी राखेको छ । यो राष्ट्रले खाजेको नेतृत्व हामी मध्येबाट नै हामी युवाहरूले विकल्प दिनसक्नुपर्छ ।
मानिसको जीवनकाललाई उमेरगत रूपमा विभिन्न अवस्थामा वर्गीकरण गरिएको छ। शैशव अवस्था पूर्व गर्भावस्थादेखि वृद्धावस्था सम्मको समयलाई नै मानिसको जीवनकाल भनिन्छ। जीवनकालका विभिन्न अवस्था मध्ये किशोर अवस्था पछि आउने युवा अवस्था नै जीवनको महत्त्वपूर्ण अवस्था हो। उमेरगत रूपमा १६ देखि ४० वर्षको उमेरलाई युवावस्था भनिए तापनि २५ देखि ४० वर्षको उमेर नै सशक्त युवा अवस्था हो। त्यसपछिको उमेरमा शारीरिक शक्ति क्षीण हुँदै जाने प्रक्रिया सुरु हुने प्राकृतिक नियम भएकाले ४० देखि ६० वर्षसम्मको उमेरलाई प्रौढ अर्थात् परिपक्व उमेर मानिन्छ। यसैगरी ६० वर्ष भन्दा माथिको उमेरलाई ज्येष्ठ नागरिक (वृद्ध) र ८० वर्षभन्दा माथि वयोवृध्दावस्थामा वर्गीकरण गरिएको छ। ४० देखि ६० वर्षसम्मको उमेर परिपक्व उमेर भएकाले आफूसँग भएको ज्ञान, सीप, दक्षता, अनुभव अरूलाई बाँड्दै निर्देशक रूपमा भूमिका निर्वाह गर्ने उमेर हो। ६० वर्षभन्दा माथिको उमेर स्वाभाविक रूपमा शिथिल र निष्क्रिय हुँदै जाने भएकोले भावी पीढीलाई अनुभवको आधारमा राजनैतिक, आर्थिक एवं सांस्कृतिक महत्त्वका विषयमा आफूले आर्जन गरेका ज्ञान र अनुभव प्रवाह गर्दै संरक्षण सम्वर्धन, प्रोत्साहन, प्रेरणा, सल्लाह सुझाव दिने अवस्था हो । पूर्वीय दर्शनले पनि वर्णाश्रम व्यवस्थामा यिनै कुराहरूलाई निर्देशित गरेकोले निश्चित उमेरमा नै भाइभारदारहरूलाई आफ्नो राजपाट सुम्पेर अलग रहने परम्परालाई अङ्गीकार गर्दै सर्वसाधारण वर्गले पनि आफ्नो सन्तानहरूलाई अधिकार प्रत्यायोजनगरी स्वतन्त्र पूर्वक बाँकी जीवनको सदुपयोग गर्ने पूर्वकालदेखि चली आएको परम्परा हो।
युवावस्थामा किशोर अवस्थामा प्राप्त गरेको ज्ञान, सीप, दक्षता तथा योग्यतालाई व्यवहारमा उजागर गर्ने ऊर्जा प्राप्त हुने अवस्था भएकोले मानिस शारीरिक तथा मानसिक रूपले परिपक्व, सक्षम, क्षमतावान् भई भविष्य निर्माणमा योग्य नागरिकको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यले नवीनतम सोच विचारको चिन्तन मनन गर्दछ। यो अवस्थामा खोज, अनुसन्धान,अनुशरण गर्ने व्यग्र आकाङ्क्षा,अभिरुचि, कौतुहलता, जिज्ञासा तीव्र रूपमा मन मस्तिष्कमा प्रवाह हुने उमेर भएकोले नै शारीरिक तथा मानसिकरूपमा सक्रियतापूर्वक आफूलाई स्वतःस्फूर्त परिचालन गर्दछन्। फलस्वरूप व्यक्तिगत अभिरुचि अनुसार मानिस डाक्टर, इन्जिनियर, पाइलट, दार्शनिक, राजनीतिज्ञ, उद्योगी ,वकिल, साहित्यकार, समालोचक, विशेषज्ञ साथै वैज्ञानिक बन्न सफल हुन्छन् र देशको निम्ति योग्य कर्णधार नागरिक बन्न सक्छन्। यही अवस्थालाई जीवनको ऊर्जाशील समय मानिन्छ । उदाहरणको रूपमा विश्वमा ख्याति प्राप्त गरेका रोचक छन्। वैज्ञानिक राइट दाजुभाइ विलियम राइट र ओरिभल राइट जसले ३२ र ३६ वर्षको उमेरमा विमानको ख्यातिप्राप्त वैज्ञानिक वनेका थिए। कम्युनिस्ट दार्शनिक कार्लमाक्सले ३० वर्षको उमेरमा कम्युनिस्ट सिद्धान्त प्रतिपादन गरी ‘कम्युनिष्ट म्यानिफ्यास्टो प्रकाशित गरी जर्मनीका विश्व चर्चित महान् दार्शनिक नेता वनेका थिए। कम्युनिस्ट क्रान्तिकारी लेनिनले ४६ वर्षको उमेरमा रुसी क्रान्तिको सफल नेतृत्व गरी विश्व इतिहासमा कम्युनिजम लागु गर्ने पहिलो नेताको रूपमा इतिहासमा नाम लेखाउन सफल भएका थिए। नेपालीहरूको सन्दर्भमा-महाकवि लक्ष्मीप्रसाद देवकोटाले २५ वर्षको उमेरमा २ वटा विधामा डिग्री प्राप्त गरी विभिन्न कठिनाइको बाबजुद ३५ वर्षको उमेरमा नेपाली वाङ्मयको अमूल्यनीधि शाकुन्तल महाकाव्य, सुलोचना महाकाव्य र विभिन्न विधामा अनेकौँ साहित्य सिर्जना गरी विश्व साहित्य जगतकै सुप्रसिद्ध साहित्यकार बन्न सफल भएका थिए। युवा कवि मोतीराम भट्टलगायत अन्य प्रसिद्ध साहित्यकारहरूको उदाहरण प्रशस्त रहेका छन्। जननायक वि पी कोइराला (१९७१-२०३९)नेपाली राजनीतिका अग्रणी दार्शनिक एवं सुप्रसिद्ध राजनीतिक व्यक्तित्व जसले ३२ वर्षको उमेरमा नै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको परिकल्पनामा आधारित नेपाली कांग्रेस पार्टीको सिद्धान्त प्रतिपादन गरी विदेशमा छरिएर बसेका नेपालीहरूलाई राणा शासन विरुद्ध सङ्गठित गरे २००७ सालमा राणा शासनबाट नेपाललाई मुक्त गराउन सक्रिय भूमिकामा नेतृत्व गरी प्रजातन्त्र स्थापना गर्न सफल नेताको रूपमा स्थापित भई महामानवको रूपमा परिचित भए। युवा अवस्थामा नै उनले साहित्य क्षेत्रका विविध विधामा साहित्य सिर्जना गरी ख्यातिप्राप्त मनो वैज्ञानिक साहित्यकारका उज्ज्वल नक्षत्र वने। राणा शासन विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने युवा नेता सुवर्ण शम्सेर ४० वर्षका थिए। नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठले २००६ सालमा २५ वर्षकै उमेरमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता बनेर सांगठनिकरुपमा २००७ सालको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। शहिद गंगालाल श्रेष्ठले २० वर्षको कलिलो उमेरमा देशको निम्ति आफूलाई साहसिक बलिदान गरेका थिए। उनी लगायतका अन्य शहिद तथा राष्ट्रिय विभूतिहरूले युवा अवस्थामा नै देशको निम्ति आफूलाई समर्पित गरेको इतिहासमा उल्लेख छ। जननेता मदन भण्डारी २०४६ सालकोजन आन्दोलनमा सक्रिय राजनीतिमा प्रवेश गर्दा ३५ वर्षका थिए। जनताको बहुदलीय जनवाद(जवज) को मार्गदर्शक सिद्धान्त प्रतिपादन गरी नेपालको राजनीतिमा साहसिक नेतृत्व गर्दा उनीमा देखिएको अद्भुत वैचारिक क्षमता बाबजुद राजनीतिमा प्रतिस्पर्धा गर्न नसक्ने दुर्बल मानसिकताबाट ग्रसित कुण्ठा शक्तिबाट उनको सुनियोजित हत्या गरियो।
युवा र युवा शक्ति अभेद्य शक्ति हो। कुनै पनि राष्ट्रको मेरुदण्ड युवा शक्ति नै हो। विश्वका अनेकौं मुलुकहरूको राजनैतिक,आर्थिक तथा सामाजिक परिवर्तन युवा शक्तिबाट नै भएको कुरा सर्वविदितै छ । नेपालको इतिहासमा भएका परिवर्तनहरूमा प्रजातन्त्र स्थापना (२००७) बहुदल व्यवस्था पुनर्स्थापना (२०४६) र गणतन्त्र स्थापनार्थ भएको जन आन्दोलन (२०६२/६३) समेतका सबै आन्दोलनलाई गहनरुपले विश्लेषण गर्नु हो भने देशका निम्ति रगत बगाइ बलिदान गर्ने युवा शक्ति देशको राजनीतिक शक्तिमा भने नेतृत्वविहीन छ। युवा शक्तिको पहुँचबाट नै नेकपा(माओवादी)को दश वर्षे जन आन्दोलनले सार्थकता पाएर नेतृत्व गर्दै आएता पनि आजसम्म कुनै दलले राजनैतिक नेतृत्वमा युवालाई समेट्न सक्ने युवामैत्री नीति निर्माण गरेका छैनन्।
विश्व मानचित्रमा हाम्रो देश नेपाल एउटा सानो अल्प विकसित, भू-परिवेष्टित राष्ट्र रही आएको छ तर अनुपम प्राकृतिक सुन्दरताभित्र अथाह सम्पत्ति श्रोत सम्पन्न मुलुक हो। यहाँका वनजंगल नदी नाला भौगोलिक बनावटमा हिमाल पहाड तराईका साथै भूगर्भमा रहेका अमूल्य निधिहरूले परिपूर्ण देश भएकाले विश्वकै सुन्दर स्वतन्त्र र सार्वभौम सम्पन्न हाम्रो देशलाई साम्राज्यवादी शक्ति राष्ट्रहरूले लोभिएर कुदृष्टि राखेकै कारण यहाँ राजनैतिक अस्थिरताका निम्ति पटक पटक प्रत्यक्ष तथा परोक्षरुपमा समस्या सिर्जना हुने गरेको कारण देशको राजनैतिक, भौगोलिक, र आर्थिक क्षेत्रमा हस्तक्षेप भएको आम नेपालीको बुझाइ छ।
राजनैतिक अस्थिरता भईरहनु, भू-अखण्डतामा आँच आउन सक्ने गतिविधि, सीमा विवाद लगायत विभिन्न सन्धि सम्झौतामा हस्तक्षेपकारी वाध्यात्मक परिस्थिति सिर्जना हुनु यसैको मूल कारण हो। विवादित विगतका सन्धि सम्झौता लगायत सुगौली सन्धि, नेपालको वर्तमान संविधान (२०७२) स्वीकार्य नभई हस्तक्षेपकारी अघोषित नाकाबन्दीमा मधेस आन्दोलनको परिस्थिति सिर्जना भई जनता उत्तेजित गराउन प्रोत्साहित गर्नुका साथै विवादित एमसीसी सम्झौता आदी कैंयौ ज्वलन्त उदाहरणहरू छर्लङ्ग भएको जनताले महसुस गरेका छन्।
विगतमा सञ्चालनमा आएका उद्योग धन्दालाई अस्तित्वविहीन बनाइ देशलाई परनिर्भर बनाउन देशी विदेशी शक्तिले खेलेको भूमिकाबाट नै मुलुक आक्रान्त भई आत्म निर्भर बन्न नसकेको कारण सिङ्गो देश र जनताले अन्य मुलुकको दासत्व स्विकार्नु पर्ने बाध्यकारी परिस्थिति दिनानुदिन सिर्जना भइरहेको छ। देशमा रोजगारको अवसरबाट युवाहरू वञ्चित हुनु, प्राप्त रोजगारीबाट उचित पारिश्रमिक प्राप्त गर्न नसकेका आदि विभिन्न कारण यहाँका युवा शक्ति विदेश पलायन भइरहेका छन्।
विभिन्न तथ्याङ्कले देखाए अनुसार देशका ४८ लाख युवाहरू खाडी मुलुक लगायत विभिन्न देशमा रोजगारीको सिलसिलामा ४० डिग्री तापक्रममा अठार घण्टा न्यून पारिश्रमिकमा काम गर्न विवश छन् भने देशले युगानुकूल शिक्षामा गरेको लगानीको प्रतिफल क्षमतावान् युवाहरू डिग्री उपाधिको प्रमाणपत्र बोकेर बिदेसिनु परेको तीतो यथार्थप्रति सत्तासीन र प्रतिपक्षी कुनै पनि दलका नेताहरू संवेदनशील बन्नुको सट्टा युवाहरूलाई विदेश पठाउन नै सहजीकरणको माध्यमले प्रोत्साहित गरिरहेको देखिन्छ । जसको कारण योग्यता प्राप्त युवाहरूलाई घर खेत धितोराखि आफ्ना आमाबाबुले बैङ्कबाट कर्जा लिई विदेश पठाउन बाध्य छन्।
नेपाल एक कृषिप्रधान देश भएकोले सन् १९८० को दशकमा दक्षिण एसियाली मुलुकहरूमध्ये २० अर्ब भन्दा बढीको वार्षिक रूपमा धान निर्यात गर्ने मुलुक थियो भने अहिले सो भन्दा बढी मूल्यको खाद्यान्न आयात गर्ने मुलुक भएको छ। कृषिजन्य उत्पादन र विभिन्न उपकरण तथा मेशिनरी सामान लगायत विलासिताका वस्तुहरूको वढदो आयातले कहालीलाग्दो व्यापार घाटा भई देशको अर्थतन्त्र दिनानुदिन धराशायी बन्दै गइरहेको अवस्थामा विडम्बना हाम्रो हाम्रो देशका नेताहरू र सरकार विदेशी मुद्रा संचितिमा विप्रेषणले ठुलो टेवा पुग्न गई देशको विकाशमा अर्थतन्त्रमा सुधार हुन गएको तथ्याङ्क सार्वजनिक गर्न हिच्किचाउँदैनन्।
समृद्ध नेपाल सुखी नेपाली’को नारा ‘युवा जति विदेश जाऊ देशमा रेमिटेन्स पठाऊ’को अवधारणामा आधारित भएको बिदेसिएका युवाहरूले महसुस गरिरहेका छन्। योजना आयोगबाट ‘पोलेसी मेकर’ले युवा केन्द्रित आकर्षक योजनाका कार्यक्रम नबनाउनु र बनिएका योजनाहरूमा पनि कार्यान्वयनमा जटिलताको कारण निरीह बन्नुले नेपाली राजनीतिको आकाशमा युवाप्रतिको सद्भावमा गहिरो रहस्य भएको युवा वर्गको आशङ्का छ।
देशमा विदेशी मुद्रा भित्र्याउने तथा व्यापक रोजगार सिर्जना गर्ने मुख्य श्रोत पर्यटन विकाश हो। नेपालको सबैभन्दा बढी रोजगारी सिर्जना गरी बेरोजगार युवाहरूलाई समेट्ने क्षेत्र पर्यटन, होटल एवं रेस्टुराँ व्यवसाय महामारीको कारण करिब दुई वर्षदेखि ठप्प हुन पुगेको छ। यसको नियमित सञ्चालन तथा पूर्व अवस्थामा फर्कन अझै तीन वर्ष पर्खनुपर्ने सम्भावना देखिएकोले देशका मुख्य शहरहरुका मात्र करिब ६ लाख भन्दा बढी युवा श्रमिकहरू र व्यवसायीहरूको बिल्लिबाठ भइरहेको अवस्था छ । यसका लागि व्यवहारिक रूपमा सहजता प्रदान गर्न सरकार लाचार देखिएकोले सरकारको मूल्याङ्कन युवा वर्गले गहन रूपमा गरेका छन्। श्रमजीवी युवाहरूको नाजुक परिस्थितिमा मलहम लगाउन कुनै कार्यक्रम नल्याइनु युवा माथिको संवेदनहीनताको पराकाष्ठा देखिएको यस वर्तमान अवस्थामा नेताहरू पद र सत्ता प्राप्ति लुछाचुढीको फोहरी खेल खेल्नमा व्यस्त नेपाली राजनीतिलाई कुन संज्ञा दिने प्रश्न खडा भएको छ।
हामी नेपाली र हाम्रा सन्ततिमाथि ऋणको व्ययभार बोकेर प्रत्येक वर्ष आउने सङ्घीय सरकारका नीति तथा कार्यक्रम र वार्षिक बजेटमा विनियोजित रकमको आँकडाले क्षणिक आकर्षण गरेता पनि विगतका वर्षहरूमा देखिएको कार्यान्वयन पक्षले हामीलाई विकर्षण गरिरहेको जगजाहेर छ । कमिसन र भ्रष्टाचारको दलदलबाट बेमौसमी र मापदण्ड विपरीत विकाश बजेटमा २७ देखि ६७ प्रतिशतको हाराहारीमा खर्चिएर गरिएको विकास र निर्माणले सम्वृध्दि र देश विकाश टाढिँदै जाने निश्चित भएकाले वास्तविक विकाशलाई द्रुततर गतिमा लैजान आन्तरिक उत्पादनबाट आत्म निर्भर हुन सकिने क्षेत्रहरू युवा शक्तिको अभावबाट निष्क्रिय भएका कृषियोग्य जमिन तथा खेतलाई उत्पादनमूलक बनाउन, वन जङ्गलको सदुपयोग गर्न, देशमा औद्योगिक क्रान्ति गर्न वृहत् योजना र कार्यक्रम निर्माण गर्नुपर्छ।
रोजगारीको अवसरबाट विदेशमा रहेका मजदुर र युवालगायत लाखौँ युवा शक्तिलाई स्वदेशमा फर्काई उनीहरूको सीप दक्षतामा अभिवृद्धि गर्दै औद्योगिक क्षेत्र, कृषि क्षेत्र, पशुपालन क्षेत्रमा आकर्षित गर्दै राष्ट्रिय सम्वृध्दिमा उपयोग गर्ने नीति निर्माण गरी युवा शक्तिको काँधमा विकाश सुम्पनुपर्ने आवश्यकता छ। विगतमा हाल नेपालको भन्दा नाजुक अवस्थामा गुज्रेका विश्वका कैयौँ मुलुकहरू जसले युवा शक्ति र युवा नेतृत्वको पहुँचबाट आफ्नो देशलाई विकसित र सम्पन्न राष्ट्रको रूपमा उभ्याउन सफल भए। उदाहरणको रूपमा चिली, कोरिया, जापान, सिंगापुर आदि विभिन्न मुलुकको विकाश क्रम अध्ययन गर्न सकिन्छ।
संवृद्ध नेपाल सुखी नेपाली’को परिकल्पनालाई साकार रूप दिने हो भने राजनीतिको मूलधारमा युवा नेतृत्व आउन आवश्यक छ। युवाको नेतृत्व नभै कुल जनसङ्ख्याको ४५ र ५४ प्रतिशत युवा रहेको देशमा युवालाई समेट्न सक्ने योजनाहरू निर्माण हुन सक्दैन। परिवर्तनको संवाहक युवा भएकोले देशको आर्थिक रूपान्तरणमा पनि युवा नेतृत्वको आवश्यकता खट्किएको हामी सबैले महसुस गर्नुपर्छ।
उनीहरूको विगतमा देखिएका राजनीतिक भूमिका र शैली तथा विद्यार्थी राजनीतिमा गरेका वकालत र परिवर्तनका लागि विद्रोही स्वभावले जनतालाई आकर्षित गरेको देखिएता पनि विभिन्न दलमा रहेका युवा नेता,नेतृ र स्वतन्त्र रुपले रहेका इमानदार योग्य सक्षम युवाको सङ्ख्यामा कुनै कमी छैन। पार्टीले मूल्याङ्कन गरेर दक्ष र योग्य युवालाई अघि बढाउनुपर्ने आजको आवश्यकता भएकोले सबै दलका नेता तथा कार्यकर्ताले सोच्नुपर्ने अनिवार्यता भैसकेको छ। अग्रज नेताहरूले आफ्नो समर्थनको लागि मत बटुल्न निर्माण गर्ने गुट उपगुटप्रति सचेत बन्दै युवा वर्ग एक ठाउँमा उभिनको लागि भातृ सङ्गठनलगायत शुभेच्छुक सङ्घ संस्थालाई सक्रिय भूमिका निर्वाहका लागि गोलबन्द गर्नुपर्ने भएको छ। सफल नेतृत्वले मात्र आफूपछि अर्को कुशल योग्य नेता जन्माउँछ र नेतृत्व हस्तान्तरण गर्छ भन्ने कुरालाई अग्रज नेताहरूले आत्मसात् गर्नसक्नु पर्छ। लो फराकिलो दायराबाट राजनीतिक दलभित्र गणेश प्रवृृत्तिको भन्दा राष्ट्रिय राजनीतिमा नेतृत्व गर्न सक्ने, नेतृत्वमा हस्तक्षेप गर्न सक्ने, नीति निर्माणमा निर्णायक भूमिका निर्वाह गर्न सक्ने युवा नेतृत्व आजको आवश्यकता हो । नेतृत्वले पनि आफ्नो राजनीतिक दास होइन, प्रश्न गर्न सक्ने, नेतृत्वमा हस्तक्षेप गर्न सक्ने, दलभित्रका गैरदलीय प्रजातान्त्रिक विचार र पद्धति विरुद्ध अग्रगामी र समाजवादको पक्षमा लड्न र उभिन सक्ने युवा आजको राष्ट्रिय आवश्यकता हो । जनता र राष्ट्रका समस्यालाई बुझ्न सक्ने, उठान गर्न र पक्षमा लड्न सक्ने युवा नेतृत्वले उत्पादन, रोजगार र परिवर्तनको पक्षमा संघर्ष गर्न सक्नुपर्छ । ज्येष्ठ नागरिकलाई पार्टीको नेतृत्वमा थुपारेर न पार्टी बलियो बनाउन सकिन्छ न राष्ट्रिय नेतृत्व नै गर्न सकिन्छ । त्यसैले राजनीतिक दलहरूले आफ्ना पार्टीका नर्सरी युवा, विद्यार्थी, महिला, दलित, आदिवासी, युवा, किसान, मजदुरको संगठनलाई पुनर्जीवित गर्ने, निर्माण गर्ने, परिचालन गर्ने, हुर्काउने, प्रशिक्षित गर्ने गर्नुपर्छ । यसरी राजनीतिमा युवाको राष्ट्रिय आवश्यकतालाई पूर्ति गर्न सकिन्छ ।
लेखक:- कमल कृष्ण बिष्ट
तपाईको प्रतिक्रिया