काठमाडौं । अनलाइन डेलिभरीमा संलग्न र व्यवसाय सञ्चालन गर्नेलाई बुधबार र बिहीबार प्रहरीले पक्राउ गरेपछि काठमाडौं उपत्यकामा खाद्यान्न र अत्यावश्यक सामग्रीको डेलिभरी ठप्प भएको छ ।
उपत्यकामा अनलाइन डेलिभरीको सेवा दिइरहेका एक दर्जनभन्दा बढी कम्पनीका प्रतिनिधि र व्यवसाय सञ्चालकलाई प्रहरीले पक्राउ गरी डेलिभरी काम रोक्ने सर्तमा बिहीबार राति छाडेको थियो ।
प्रहरीको अवरोधपछि अनलाइन डेलिभरी सेवा दिइरहेका कम्पनीहरूले निषेधाज्ञा अवधिभर डेलिभरी नगर्ने निर्णय गरेको फुडमान्डुका संस्थापक मनोहर अधिकारीले बताए । अधिकारीलाई बिहीबार प्रहरीले बोलाएर अनलाइन डेलिभरी नगर्ने सर्तसहित कागजमा सही गराएको थियो ।
अधिकारीसहित यूजी केककी संहसंस्थापक निकिता आचार्यलाई पनि प्रहरीले कार्यालयबाट पक्राउ गरी अनलाइन डेलिभरी सेवा सञ्चालन नगर्ने सर्तसहित राति अबेर छाडेको थियो । फुडमान्डु, यूजी केकसहित दर्जनभन्दा बढी कम्पनीले लकडाउन र निषेधाज्ञाको अवधिमा तयारी खानेकुरासहित अन्य अत्यावश्यक खाद्यान्न घरघरमा पुर्याएर सेवा दिइरहेका थिए ।
प्रहरी हस्तक्षेपपछि व्यवसाय निरन्तर राख्न माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाउन गएको टोलीलाई पनि सरकारले निराश बनाएको छ । नेपाल ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरूको साझा फोरमका सागरदेव भट्टसहितको टोलीले शुक्रबार अनलाइन डेलिभरी सेवा निरन्तर गर्न पाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी दाहाललाई ज्ञापन बुझाएको थियो ।
तर प्रजिअ दाहालले निषेधाज्ञाका बेला अनलाइन डेलिभरी गर्न नपाइने जवाफ दिएको संयोजक भट्टले जानकारी दिए । ‘प्रजिअले अनलाइन डेलिभरी गर्दा कोभिड–१९ को संक्रमण फैलिन्छ भन्नुभयो,’ उनले भने, ‘हामीले अन्य पसलभन्दा अनलाइन डेलिभरी बढी सुरक्षित भएको तर्क गर्यौं ।’ व्यवसायीले अनलाइन डेलिभरी गर्दा अपनाइएको सुरक्षाको उपायका विषयमा पनि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए । भेटमा प्रजिअ दाहालले निषेधाज्ञाका बेला अनलाइन डेलिभरी सेवा सञ्चालन हुन दिने निर्णय नभएको भन्दै अर्को निर्णय नभएसम्मका लागि सेवा स्थगन गर्न भनेको प्रजिअ दाहाललाई उद्धृत गर्दै भट्टले बताए ।
गत सातादेखि भदौं १७ सम्म लागू हुने निषेधाज्ञाको अवधिमा उपत्यकामा सर्वसाधारणलाई बिहान सवा ९ बजेसम्म मात्रै किनमेल गर्ने सुविधा दिइएको छ । प्रहरीले बुधबार र बिहीबार अनलाइन डेलिभरी सेवामा सक्रिय व्यक्तिलाई पक्राउ गर्दै डेलिभरी सेवा दिने भए बिहान सवा ९ बजेभित्र दिइसक्न निर्देशन दिएको थियो ।
अनलाइन डेलिभरी सेवा सञ्चालन गर्न नदिने प्रहरी निर्णयको सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा आलोचना भइरहेको छ । ‘अनलाइन डेलिभरी गर्दा सुरक्षाका उपाय अपनाइरहेका छौं,’ भट्ट भन्छन्, ‘डेलिभरी गर्दा धेरै बेर भेट हुने पनि होइन । त्यति बेला पनि हामीले सामाजिक दूरी कायम गरिरहेकै हुन्छौं ।’
गत बुधबारदेखि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो । अत्यावश्क वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, आद्यवस्तु, इन्धन, ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार जस्ता सवारी सञ्चालन गर्न अनुमति आवश्यक नपर्ने बैठकले बताएको थियो ।
मन्त्रालयले अत्यावश्यक खाद्यान्न सामग्री, स्वास्थ्य तथा सरसफाइ सामग्रीको ढुवानीमा सहजीकरण गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव बैकुण्ठ अर्यालले बताए । ‘तर कुन समयमा ढुवानी गर्न दिने वा नदिने भन्ने विषय हाम्रो क्षेत्राधिकारको कुरा होइन,’ उनले भने । कान्तिपुर
तपाईको प्रतिक्रिया