काठमाडौं । सत्तारुढ नेकपा व्यावहारिक रुपमा विभाजन भइसकेको छ । कानुनी रुपमा विभाजनको टुंगो लागेको छैन । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ ।सो समूहले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग राख्दै आएको छ । नेकपा ओली र प्रचण्ड–माधव समूहले आधिकारिक पार्टी आफ्नो भएको दाबी गर्दै आएका छन् ।
निर्वाचन आयोगमै निवेदन दर्ता गरिसकेका छन् ।तर, निर्वाचन आयोग भने नेकपाको विवाद नटुंग्याई निर्वाचनको तयारीमा जुटेको छ । आयोगले निर्वाचनको आचारसंहिताबारे छलफल गर्न आज प्रमुख दलका अध्यक्षलाई आयोगमा बोलाएको छ ।निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए ।
आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ ।दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ ।तर नेकपाको विवाद टुंगो नलागी कसरी निर्वाचन हुन्छ भन्ने विषयमा आयोग मौन छ । आयोगको यो तयारीले नेकपा ओली समूहकै हो कि भन्ने भान सबैमा परेको छ भने प्रचण्ड माधव समूहलाई धक्का लागेको छ ।
तपाईको प्रतिक्रिया