- 9Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउँदले नेपाली भूमि एक इन्च पनि मिचिए सह्य नहुने बताएका छन् ।दार्चुला सदरमुकाम खलंगामा सोमवार आयोजित सरकार विरुद्धको विरोध सभालाई सम्बोधन गर्दै नेता साउँदले नेपाली भूमि एक इन्च मिचिए पनि सह्य नहुने बताएका हुन् ।
‘अहिले पनि सीमामा गतिविधिहरू भइराखेका छन् । ती सीमामा भइराखेका गतिविधिका क्रममा नेपालको सीमा एक इन्च पनि कसैले मिच्छ भने त्यसको विरोध गर्नका लागि, जाइ लाग्नका लागि नेपाली कांग्रेस तयार छ,’ नेता साउँदले भने ।नेता साउँदले राष्ट्रियताका लागि संघर्ष गर्दै आएका दार्चुलावासीप्रति सम्मान समेत व्यक्त गरे । ‘म दार्चुलाका दाजुभाइ दिदीबहिनीहरूले राष्ट्रियताका मामिलामा जसरी संघर्ष गर्नुभएको छ, लड्नुभएको छ । त्यसलाई सम्मान गर्न चाहन्छु, सलामा गर्न चाहन्छु,’ नेता साउँदले भने ।
नेता साउँदले हुम्लामा चिनियाँ पक्षले नेपाली भूमि मिच्दा सरकारले प्रतिवाद गर्न नसकेको भन्दै आपत्ति समेत जनाए । ‘भारतसँग सीमा विवाद हुँदा नक्सा संशोधन गर्ने तपाईं हो । भारतसँग सीमा विवाद हुँदा कूटनीतिक मञ्चमा आवाज नठाइकन तपाईंहरू आमसभामा जनतालाई उत्तेजित बनाउने काममा संलग्न हुनुभयो,’ नेकपाका नेता र सरकारप्रति लक्षित गर्दै साउँदले भने, ‘चीनले हुम्लामा सीमा मिच्दा किन बोल्न सक्नुभएन ? भारतले सीमा मिच्दा जति खराब हो, चीनले पनि सीमा मिच्छ भने त्यत्तिकै खराब हो ।’
उनले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने निर्णय कांग्रेसलाई मान्य हुने बताए । ‘नेपाली कांग्रेस विधिको शासन मान्छ । कानूनको शासन मान्छ । सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्छ । सर्वोच्च अदालतको निर्णय बमोजिम नेपाली कांग्रेस अगाडि बढ्ने छ,’ नेता साउँदले भने ।
नेता साउँदले प्रतिनिधिसभा विघटन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली मात्रै दोषी नभएर पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम पनि उत्तिकै दोषी भएको दाबी गरे । ‘यो सरकारले गरेको काम एक व्यक्ति केपी ओलीले गरेको होइन । यसमा प्रचण्ड पनि, माधव नेपाल पनि, भलनाथ पनि, बामदेव गौतम पनि सबै दोषी छन् । यो दोषको जिम्मा प्रचण्ड खेमा होस वा ओली खेमा, दुवैले लिनुपर्छ,’ नेता साउँदले भने ।
तपाईको प्रतिक्रिया