- 3Shares
काठमाडौं । नेकपा एकता बदर भएर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको चौथो दल जनता समाजवादी पार्टी (जसपा) नेपालसँग गठबन्धन प्रक्रिया अगाडि बढाएका छन् । सरकार गठनताका समर्थन गरे पनि पछि विवाद भएर समर्थन फिर्ता लिएको जसपालाई सरकारमा ल्याएर कुर्सी सुरक्षित गर्ने रणनीतिमा ओली लागेका छन् ।
मंगलवार बसेको जसपा संसदीय दलको बैठकमा सत्ता समीकरणबारे छलफल गर्न एमाले र जसपाको संयुक्त वार्ता टोली नै गठन भइसकेको जानकारी अध्यक्ष महन्थ ठाकुरले दिएका छन् । टोलीबारे संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका नेताहरुलाई कुनै जानकारी दिए । यी नेताहरू प्रधानमन्त्री ओलीलाई निरन्तरता दिन सत्ता समीकरण गर्न नहुने पक्षमा रहेका छन् भने महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरू प्रधानमन्त्री ओलीसँग सुटुक्क वार्ता गरेर सरकारमा जाने पक्षमा रहेका छन् ।
सोमवार मात्रै नेता ठाकुर र प्रधानमन्त्री ओलीबीच गोप्य वार्ता भएको स्रोतले जनाएको छ । दुवै पक्षबीच वार्ता मात्रै भइरहेको छैन, भागबण्डा कसरी गर्ने भनेर टुंगो लगाउने विषयसम्म कुरा पुगिसकेको जनाइएको छ ।वार्ताका क्रममा प्रधानमन्त्री ओलीले जसपालाई रोजेर १२ वटा मन्त्रालय दिने, थुनामा रहेका सांसद रेशम चौधरीलाई मुक्त गराउन पहल गर्ने लगायतका आश्वासन दिएका छन् । सरकारमा २५ मन्त्रालय हुने भएकाले त्यसको करीब आधा १२ मन्त्रालय जसपालाई दिन ओलीले प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको सरकार बनाउँदा यतिधेरै मन्त्रालय नपाइनेमा जसपा नेताहरू ढुक्क रहेकाले ओलीसँग कुरा अगाडि बढाइएको छ ।दुबै पक्षबीच वार्ता गर्न जसपाको टोलीमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्र शुक्ल छन् भने एमालेको वार्ता टोलीमा सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेका छन् । जसपाका ३४ सांसदमध्ये बाबुराम–उपेन्द्रका पक्षमा १७, महन्थ–राजेन्द्रका पक्षमा १७ जना रहेका छन् । २ सांसद निलम्बनमा परेकाले जसपाका ३२ सांसदले मात्रै मताधिकार पाउने भएका छन् ।ओलीले मन्त्रीहरूमा मात्रै होइन, प्रतिनिधि सभामा रिक्त रहेको उपसभामुख पद समेत जसपालाई दिन सकिने संकेत गरेको छ ।
तसर्थ ओलीसँग मिल्दा जसपाले धेरै फाइदा देखिरहेको स्रोतले जनाएको छ ।तर सत्ता समीकरणको विवाद चर्को भएमा जसपाभित्र ठूलो विग्रह आउनसक्ने स्रोतको अनुमान छ । सिद्धान्ततः संघीयता, समावेशीता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका विषयमा प्रधानमन्त्री ओली असहिष्णु रहेको निष्कर्ष बाबुराम–उपेन्द्र पक्षको रहेको छ ।
यसअघि सरकारमा रहेका नेता यादवलाई प्रधानमन्त्री ओलीले अपमानजनक ढंगले सरकारबाट बाहिरिन बाध्य पारेकाले पनि यादव ओलीसँगको समीकरणप्रति सन्तुष्ट नरहेको जनाइएको छ । उपेन्द्र यादव लगायतका नेताहरू नेकपा माओवादी केन्द्र र कांग्रेससँग सत्ता समीकरण बनाएर ओली सरकार ढाल्ने पक्षमा रहेका छन् ।मंगलबारै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र बाबुराम भट्टराईलाई भेटेका छन् ।
तपाईको प्रतिक्रिया