दार्चुला । विश्व हिन्दु युवा संघका सुदूरपश्चिम प्रदेश संयोजक सम्राट सिंहको आतिथ्यमा मंगलबार दार्चुलामा युवाहरूसित भेटघाट तथा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ । दार्चुलाको गोकुलेश्वरस्थित एक होटलमा आयोजित कार्यक्रममा विश्व हिन्दु युवा संघका सुदूरपश्चिम प्रदेश संयोजक सिंहले जिल्लामा रहेका युवाहरू सित भेटघाट तथा छलफल गरेका हुन ।
हिन्दु धर्मको रक्षा गर्नु अहिलेको पुस्ताको आवस्यकता रहेको औल्याउँदै संयोजक सिंहले सनातन हिन्दु धर्ममा आस्था राख्ने सम्पुर्ण युवाहरू एक ढिक्का भएर विश्व हिन्दु युवा संघमा जोडिन आग्रह गरेका छन । “अहिले हामीहरू हाम्रो अभियानलाई सार्थक बनाउन देशदौडाहाको क्रममा छौ । सुदूरपश्चिमका पनि सबै जिल्लामा संगठन बिस्तार तथा छलफल गर्ने क्रममा आज दार्चुला पुगेका छौ ।” सिंहले भने, “आफूहरूले बोकेको मुद्दा कुनै दल र व्यक्ति विशेषका लागि हो उठाएका हैनौ । हामी यो पार्टी, त्यो पार्टी भन्दैनौ बरू सिङ्गो राष्ट्र र राष्ट्रियताको सवालमा हामी उभिएका छौ । त्यसैले पनि सम्पूर्ण हिन्दु युवा पिढिले हाम्रो अभियानमा जुट्न जरुरी छ ।”
‘अभियानको क्रममा प्रदेशको यात्रा गरिरहदा दार्चुलासहित सुदूरपश्चिममा युवाहरूले कत्तिको पत्याउदै छन ?’ भन्ने हाम्रो जिज्ञासामा सिंहले यसो भने, ” बाहिरी तत्वका कारण संकटमा परिरहेको हाम्रो धर्मको जगेर्ना गर्न हामी सबैरसधैं तयार हुनुपर्छ । पवित्र उद्देश्यका साथ युवाहरूले शुरु गरेको यस अभियानमा युवाले नै नपत्याइदिने हो भने ठूलो हाम्रो अभियान अनर्थ हुन जान्छ । शुरु गरिएको छोटो समयमै देशभरबाट हामीलाई लाखौं युवाले साथ दिएका छन ।” उनले थपे, “सुदूरपश्चिमको सवालमा केहिदिन अघिमात्रै कैलालीको गोदावरीमा दसौं हजार युवाको सहभागितामा विशाल धार्मिक सभाको आयोजना सम्पन्न गरेका छौ ।
यस्तै प्रदेश राजधानी धनगढीमा मोटरसाइकल र्याली समेत सफल पार्यौ । अहिले युवाहरूसित भेटघाट गर्न र हाम्रो अभियानमा जोड्न प्रदेशका विभिन्न जिल्लामा हामी केन्द्रिय नेतृत्वसहितको टिम घुमिरहेका छौ, हामीप्रती युवाहरूको सकारात्मक प्रतिक्रिया र धारणा भएकै कारण हाम्रो यात्रा सम्भव र सुखद भइरहेको छ ।” हामी सितको संवादमा संयोजक सिंहले छिट्टै नै धनगढीमा ५० हजार युवाको सहभागितामा विशाल धार्मिक सभा गराउने तयारी भइरहेको बताएका छन ।
यस्तै विश्व हिन्दु युवा संघका दार्चुला संयोजक रबिन पालले अभियानको मर्म र भावना अङ्गिकार गर्दै जिल्लामा रहेका युवाहरूलाई यस अभियानमा जोड्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन ।प्रदेश यात्रामा प्रदेश संयोजक सिंहसहित विश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य शिरोमणि ओझा र भाष्कर चन्द तथा बैतडी संयोजक लक्ष्मण भण्डारी र दार्चुला जिल्ला संयोजक रबिन पाल लगायतका अभियन्ता तथा युवाहरू सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया