काठमाडौं । दक्षिण छिमेकी भारतले स्वास्थ्य तथा जनंसख्या मन्त्रालयलाई ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।
कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्न नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले बिहीवार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरे । उक्त मेडिकल अक्सिजन प्लान्ट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ ।
प्रतिव्यक्ति ५ एलपीएम (लिटर प्रतिमिनेट) क्षमता भएको उक्त अक्सिजन प्लान्टको कूल क्षमता ९६० एलपीएम छ । प्लान्टले एकसाथ २०० जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता राख्छ ।
समारोहमा भारत र नेपालबिचको गहिरो र बहुआयामिक साझेदारीबारे चर्चा गर्दै राजदूत क्वात्राले उक्त अक्सिजन प्लान्टको हस्तान्तरण कोभिड–१९ महामारीको सामना गर्न भारतले नेपाललाई गर्दै आएको निरन्तर साथ र सहयोगको प्रतीकको रुपमा रहेको बताए ।
मन्त्री श्रेष्ठले उपहार स्वरुप प्रदान गरिएको अत्यन्तै आवश्यक स्वास्थ्य पूर्वाधारको रुपमा रहेको यस अक्सिजन प्लान्टको मद्दतले नेपाललाई कोभिड–१९ महामारी विरुद्घको लडाइमा थप बल पुग्ने उल्लेख गरे ।
धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणमा लागि दुई दशकअघि भारत सरकारले गरेको सहयोग कोशेढुङ्गा भएको चर्चा गर्दै उनले बिहीवार हस्तान्तरण गरिएको अक्सिजन प्लान्ट स्वास्थ्यको क्षेत्रमा अर्को कोषेढुङ्गा भएको उल्लेख गर्दै सो सहयोगबाट विशेष गरी प्रदेश नं १ र २ का जनता लाभान्वित हुने बताए ।
अक्सिजन कोभिड–१९ का बिरामीहरुको उपचारका लागि स्वास्थ्य सेवा केन्द्र र अस्पतालहरुमा नभई नहुने एक महत्वपूर्ण क्लिनिकल ग्यास हो जुन भारत र नेपालमा महामारीको दोस्रो लहर देखापर्दा अनुभव गरिएको थियो ।
रक्षा अनुसन्धान एवम् विकास संगठन (डिआरडिओ) ले निर्माण गरेको यो मेडिकल अक्सिजन प्लान्टको मद्दतबाट कम लागतमा अस्पतालले अब अस्पताल परिसरमै अक्सिजन उत्पादन गर्न सक्नेछ । यो प्रविधि विकास गर्ने भारत संसारकै चौथो मुलुक हो ।
मेडिकल अक्सिजन प्लान्टको स्थापनाले अपर्याप्त अक्सिजन सिलिन्डर माथिको अस्पतालको निर्भरता र सिलिन्डरको ढुवानीमा लाग्ने खर्च घटाउनुका साथै भरपर्दो तरिकाले चौबिसै घण्टा अक्सिजनको उपलब्धतालाई सहज बनाउनेछ ।
दुई देशबीचको गहिरो द्विपक्षीय सम्बन्ध अनुरुप सक्दो सहयोग गर्दै महामारी विरुद्धको लडाइमा भारत सरकार नेपाल र नेपाली जनतासँग सदैव साथमा हुने दूतावासले जनाएको छ ।
तपाईको प्रतिक्रिया