– लोकनारायण सुवेदी
हामीले जब हाम्रो देशको रंगमञ्चमा खडा भएर साँस्कृतिक परिदृष्यमाथि बिहंगम दृष्टिपात गर्दछौ त्यतिबेला हाम्रो ध्यान परम्पराको बिघटन र नबीनताको उदय या खोजी भइरहेको कुरामा केन्द्रित हुन पुग्दछ । अहिलेको राजनीतिक परिवर्तनको सन्दर्भमा यो कुरा अझ प्रष्टरुपमा देख्न सकिन्छ । बस्तुतः साच्चै ध्यान दिएर हेर्ने हो भने परम्परा पनि जडताको दासी होइन, बरु नबोन्मेष नै त्यसको पनि सहज गुण हो भन्ने कुरा बुझ्न सकिन्छ । सँस्कृतिमा परिवर्तनको यो चिरन्तन प्रकृयाले सामाजिक जीवनमा गतिशीलता ल्याउँदछ र त्यो गतिशीलता नै वास्तवमा जीवन हो । प्रकृति अथवा श्रृष्टिका चराचर बस्तुहरुमा जस्तै नै यो प्रकृया सँस्कृतिमा पनि परिलक्षित हुन्छ । जब परम्पराहरु असामयिक, अनुपयुक्त र असक्त हुनपुगेर दम तोड्न थाल्दछन् या मरणोन्मुख हुन्छन् त्यसबेला सँस्कृतिले पनि नयाँ रुपको खोजी गर्न थाल्दछ । परम्पराको अर्थ हो परम्परासँगभन्दा माथि, श्रेष्ठमा पनि श्रेष्ठतर र जुन कहिले सिद्ध नभएर निरन्तर साध्य हुन्छ । यसकारण परम्परा साधनाको पर्याय हो । परम्परा ऊषा (बिहानी) जस्तै हो जुन प्रत्येक दिनको सूर्योदयमा नयाँ देखिने गर्दछ । प्रत्येक दोपहरमा प्रखर हुने गर्दछ, प्रत्येक सन्ध्यामा ध्यानमग्न हुने गर्दछ अनि प्रत्येक चाँदनी रातमा स्वप्नमग्न हुने गर्दछ । त्यसले नमरीकन नै जन्म लिन्छ । त्यसैगरी परम्पराद्वारा नै नबीनताको बिकास हुन्छ र नबीनताबाट परम्परामा गतिशीलता आउँदछ । एकजना भारतीय सँस्कृतिबिद् डा. बिद्यानाथ श्रीबास्तवका अनुसार ‘परम्पराले आफैलाई काटेर, तोडेर अगाडि बढाउँदछ । यसकारण यो निरन्तर अनुशासित हुँदाहँुदै पनि प्रयोगहरुका बिभिन्न नयाँ नयाँ आयामहरुमा बिकसित हुने गर्दछ र त्यो प्रयोग नै बिकसित र उन्नत भएर परम्परा बन्दछ ।’’ यस प्रकार परम्परा नयाँपनाको निरन्तरताको प्रयास हो । यो प्रकृया पनि ठीक त्यस्तै हो जस्तो बर्तमान भूतकालबाट उत्पन्न हुन्छ ।
कुनै पनि नबीनता सोझै आकाशबाट झर्ने कुरा होइन । त्यो त अतीतबाट जीवन रस लिएर समाजको काखमा उत्पन्न हुने र हुर्किने कुरा हो । वास्तवमा परम्परा सदैब बिकासशील हुन्छ । तर यो परम्पराको बिकास सरल रेखामा भने हुने गर्दैन । बदलिदो जीवन र समाजका नयाँ सम्भवनाहरु, नयाँ मूल्यहरुको प्रतिष्ठा र रुढीवादीताको खण्डनको लागि त्यस परम्परामा सदैब परिवर्तन आइरहन्छ । यस्ता परम्परा जसमा कुनै बिकासको शक्ति र गति हुँदैन या छैन त्यो धेरै दिनसम्म जीवित रहँन सक्तैन । परम्पराले सदैब गतिशील रहेर नै आफ्नो बिकास गर्दछ । त्यसैले यस्तो ‘परम्परा’ शब्दले सदैब बिकास–क्रमको नै अर्थ दिन्छ । किनभने सन्दर्भहरु बद्लिदा परम्परा पनि बद्लिने गर्दछन् । त्यसैले परम्परामा युगानुकूल बद्लिने क्षमता हुन्छ र हुुनु पर्दछ भन्ने मान्यता यसले अघि सार्दछ । जति जति बेला परम्पराको धारा अबरुद्ध हुने गर्दछ त्यसमा अबरोध आउँदछ त्यति त्यति बेला प्रयोगको चेतनाले त्यसलाई तोड्दछ । प्रयोगले वास्तवमा पुनः परीक्षणको माग गर्दछ र त्यसमा नयाँ सम्भावना खोज्ने प्रयत्न गर्दछ । बस्तुतः प्रयोगले परम्परलाई देशकाल र यथार्थका आधरमा परिवर्तित र जीवित राख्दछ । प्रयोगले परम्पराको दृष्टि र ज्ञानलाई परिष्कार र परिबद्र्धन पनि गर्दछ । यस्तो प्रयोगले परम्पराका त्रुटीहरुलाई खोजबिन गर्ने तथा तिनलाई हटाउन र सच्याउनका लागि नयाँ जग राख्ने काम गर्दछ । यस्तो प्रकृयाले नबीनताद्वारा परम्परामा गतिशीलता आउँदछ ।
परम्परा तथा प्रयोगका बीचमा कार्य–कारण सम्वन्ध हुने गर्दछ । नयाँ प्रयोगहरु अतीतका परम्परासँग जोडिएका हुन्छन् । किनभने अतीतले नै बर्तमानलाई जन्म दिएको हुन्छ । निश्चय पनि बर्तनमान अतीतकै अंश हो । एकजना साँस्कृतिक चिन्तक डा. गोपाल दत्त सारस्वतले भनेका छन् ‘बर्तमान परिस्थिति, पूर्वकालीन परिस्थितिको प्रतिफल हो र पूर्व परिस्थिति आफुभन्दा पहिलाको स्थितिको परिणाम । कार्य–कारणको यही परम्परा चिरन्तर कालदेखि चलिआइरहेको छ ।’’ मन्थन र टक्करको प्रकृयामा कमजोर मूल्यहरु टुट्ने र बिघटन हुने गर्दछन् अनि नयाँ मूल्यहरु परम्परामा जोडिन आइपुग्दछन् । प्रबुद्ध कलाकारहरुले रुढीहरुलाई तोडेर स्वस्थ परम्पराको बिकास गर्ने गर्दछन् । अनि त्यसलाई नयाँ रुप, नयाँ रङ्ग र नयाँ साधन प्रदान गर्दछन् । आधुनिक जीवन तीब्र गतिमा परिवर्तन हुँदै गइरहेको छ । यो परिवर्तन साँस्कृतिक परिवर्तन नै हो जुन वास्तवमा ब्यक्ति र समाजको सोच, रहन–सहन, तौर–तरीका र मान्यताहरुमा देखिने र अभिब्यक्त हुने गर्दछ । निश्चय नै युगको नयाँ चेतना अनुरुप नै परम्पराले पनि नयाँ मोड लिने गर्दछ । जब जब नयाँ चेतनाको संक्रमण शुरु हुने गर्दछ तब तब मानिसहरुका साँस्कृतिक मूल्य, मान्यताका प्रसंगहरु पनि बदलिने गर्दछन्, तिनको भाव भङ्गिमाहरु नयाँ रुपमा बिकसित हुने गर्दछन् । प्रत्येक बिवेकशील मानवको चेतना सँधै नै बिकासोन्मुखी रहेको हुन्छ । किनभने रुढीगतरुपमा बाँधिएका परम्परामा निस्सासिएर उसको श्वास रोकिएको मानिसले अनुभव गर्दछ । त्यसैकारणले उसले नवीनताका सम्भावनाहरुको खोजीमा बिश्वास गर्न र खोजी गर्न थाल्दछ । आजको बिश्वमा हाम्रो जस्तो देशमा उपभोक्ताबादले नेपाली सँस्कृतिलाई नराम्रोसँग प्रभावित तुल्याएको छ । उपभोक्तावाद मूलतः सामाजिक र समुहीक हितमा नभएर ब्यक्ति या ब्यक्तिहरुको ऐन्द्रिंक तथा भौतिक सुख–केन्द्रित दृष्टि हो । त्यसैले त्यसमा नैतिक र भावनात्मक सरोकारका लागि कुनै स्थान हुँदैन । वास्तवमा आजको यो उपभोक्तावादी प्रबृत्तिले नै हामी नेपालीहरुको जीवन मूल्यलाई पनि बदल्दै लगेको हामी देखिरहेका छौं । परिणामस्वरुप नेपाली समाजमा आज मानबीय संबेदनको ठाउँमा अति ब्यक्ति केन्दिू्रत बौद्धिकता देखापर्न थालेको प्रतीत हुन्छ ।
त्यसैले सामाजिक जीवनमा बिभिन्न साँस्कृतिक परम्पराहरुले नयाँ रुप लिन थालेका छन् । पहिला बिवाहको कुरा छिन्नुभन्दा पहिला चार गोत्रको मिलान गरिने गरिन्थ्यो , आफ्नै, आमाको, हजुर आमाको र मावलका हजुर आमाको । ती चारै गोत्रभन्दा बिपरीत गोत्रहरुमा नै बिवाह निर्धारण गर्ने गरिन्थ्यो । आज यस्तो चार गोत्रको ठाउँमा तीन गोत्रमै काम चलाउन थालिएको छ । मावलको हजुर आमाको गोत्रलाई वास्ता गर्न छाडिएको छ । पहिला पहिला पाँच, सात, नौ, एघार या एक्काइस दिनको लगन पठाउने प्रचलन थियो । तर आजभोली यो तीन दिनमा नै सम्पन्न हुने गर्दछ । जन्तिलाई कम्तिमा एकरात बेहुलीको घरमा राख्ने चलन थियो पहिला । आजभोली एकै दिनमा दिउसै बिवाह सम्पन्न गरिन्छ । राती जन्ति गए पनि केही घण्टा पछि नै फर्किने आजभोलीको चलन छ । पहिला जन्तिहरुलाई घरको आँगन मै भतेर खुवाउने चलन थियो । तर आजभोली पाल राखेर शहर बजारमा त क्याटरिङ्गको खाना खुवाउने गरिन्छ । यी त बिवाह प्रकृयामा आइरहेका परिवर्तनका केही उदाहरण मात्र हुन् । हरेक क्षेत्रमा साँस्कृतिक परिवर्तन आउँदछ र आइरहेको छ । यसैलाई सँस्कृतिबिद्हरुले परम्पारामा नयाँ पनको खोजीको संज्ञा दिने गरेका छन् ।
पहिला महिलाहरुमा खाशगरी नेपालको तराईका महिलाहरुमा घुँघट वा पर्दा प्रथा ब्यापक मात्रामा थियो । तर अब बिस्तारै बिस्तारै त्यो परम्परा हट्दै गएर लोप हुन थालेको छ । पहिला बुहारीहरुले आफ्ना पतिको नाम लिएर बोलाउने कुरालाई नै अपमान जस्तो मानिन्थ्यो र कुनै पत्नीले पनि त्यसरी नाम लिएर बोलाउँदैनथे र नाम लिन पनि बडो संकोच मान्दथे । तर आजभोली मजाले ‘फलानोजी’ भनेर नै नाम लिएर बोलाउने गर्दछन् । के एकदमै प्रष्ट छ भने जुन परम्पराले बर्तमान सामाजिक जीवनलाई योगदान पु¥याउँदैनन् बरु उल्टै अबरोध पैदा गर्दछन् ती परम्पराहरु हराएर मासिएर जान्छन् या त्यस्ता अबरोधका बिरुद्ध समाजमा आन्दोलन नै चल्दछ । अनि जुन परम्पराले बर्तमान सामाजिक जीवनलाई मद्दत गर्दछन् ती भने नयाँ नयाँ रुपमा परिवर्तन हुँदै कायम रहन्छन् । बस्तुतः असन्र्दभिक मूल्य,मान्यता र परम्पराहरु समयको थप्पड खाएर टुट्दछन् र यसरी रुढगत सडेगलेका परम्परासँग मानिसहरुको मोह भंग हुने गर्दछ । अनि उनीहरुले नयाँ मूल्य, मान्यता, परम्पराको खोजी पनि गर्दछन् । अहिले हाम्रो देशको राजनीतिक परम्परामा जुन परिवर्तन आएको छ त्यसलाई आत्मसात गर्ने,सुदृढ तुल्याउने र स्थापित गर्ने कुरामा अझै पनि दुबिधा र अन्यमनस्कता देखिन्छ । त्यो पनि पुरातन र नबीन सँस्कृति बीचकै संघर्ष हो । यद्यपि सबै नयाँ खोजिगरिएका या बिकसित गरिएका परम्पराहरु पनि कालान्तरमा पुराना भएर जान्छन भन्ने कुरा बिर्सनु हुँदैन । तिनमा पनि परिवर्तनको खोजी गरिन्छ । यो क्रम निरन्तर चलिरहन्छ । त्यसैले यसरी परम्पराहरु समय अनुसार आफुलाई परिवर्तन गरेर नयाँ रंगरुपमा सदैब जीवित रहने गर्दछन् भन्दा अत्युक्ति हुँदैन । प्रष्ट छ, हामीले सुन्दर समाज निर्माण गर्ने समाज उपयोगी, जीवन सहयोगी असल परम्पराहरुलाई अघि बढाउनु पर्दछ र गलत परम्पराहरुलाई परित्याग गर्नु पर्दछ । यही नै साँस्कृतिक क्रम भंगता र निरन्तरताको प्रकृया हो ।
तपाईको प्रतिक्रिया