–लोकनारायण सुबेदी
आजसम्मको बिडम्बना के छ भने जनता र देशको हितमा परिवर्तन पछि जस्तो किसिमले राजनीतिक परिचालन हुनुपर्ने थियो त्यसो पटक्कै भएन । निरन्तर सामन्ती नबसामन्ती परिपाटीलाई अँगालेर सत्ताबाट फाइदा उठाउने काइदाको बाटो अबलम्बन गर्ने गरियो । फलतः एकदलीय, बहुदलीय र गणतन्त्रात्मक जुनसुकै राजनीतिक प्रणालीमा अस्थिरतामा नै आफ्नो स्वार्थ सिद्ध हुने र छिटो छिटो सत्ताको स्वाद पाइरहने दाउपेच र षडयन्त्रलाई सत्ता र त्यसको सेरोफेरोमा पुगेका दल र तिनका नेताहरुले आत्मसात गरे । यसमा देशी बिदेशी शक्ति केन्द्रहरुको खेल र चलखेल पनि रह्यो र रहिरहेको छ । यो पुरानो रोगी राजनीतिको निरन्तरता बाहेक अरु केही होइन र हुन सक्तैन । अनि नयाँ नेपालको गफ चुट्दै पुरानो फोहोरी खेल खेल्दै राजनीतिको रोगी रडाको मच्चाउने स्थितिले निरन्तरता पाइरह्यो र पाइरहेको छ । यो सत्ता–केन्द्रित खेलले पछिल्लो आम निर्बाचन पछि पनि कुनै फरक आएन र आउने आधार पनि देखिदैन ।
सत्ता भोग गर्दै आएका र गरिरहेका दलहरु ‘जसले बहुमत पाउँछ उसले ने सरकार बनाउँदछ’ भन्दै यो यथास्थितिलाई स्वीकार्दछन् । यसलाई अन्यथा लिनु नहुने पनि उनीहरुको निष्कर्श छ । यसले ल्याउने गरेको राजनीतिक अस्थिरतलाई उनीहरुले सत्तारोहणको अवसरको रुपमा लिने गरेका छन् । सिद्धान्ततः राजनीतिक स्थिरताको कुरा गरे पनि ब्यवहारमा अस्थिरतलाई नै रातोदिन अँगालो हाल्ने र मलजल गर्न उद्यत हुने चरित्र हरेक सत्तामुखी पार्टी भित्र बनेको छ । देश र जनताका जल्दाबल्दा राष्ट्रिय समस्या प्राथमिकतामा नपर्नु, समाधान नहुनु, कचल्टिनु र आधा अधूरो रहनुका पछाडिको आजको मूल कारण नै बास्तवमा यही हो । राजनीतिक प्रणाली अनुसारको राजनीतिक चरित्रको यो गलपासो संसदबादी राजनीतिक दलहरुले भिरुञ्जेल देशको राजनीतिमा सुशासन र स्थिरताको कुरा पनि खोक्रो गफ बाहेक अरु केही हुँने देखिदैन । वास्तवमा जनता र देशको हितभन्दा सत्ताको खेल केन्द्र बिन्दूमा रहने यो प्रणालीको कमजोर पक्षलाई सबैभन्दा अग्रभागमा राखेर चलेपछि कुनै दल या प्रधानमन्त्री परिवर्तन हुनुले कुनै अर्थ राख्दैन भन्ने बारम्बार प्रष्ट हुँदै देखिदै आइरहेकै कुरा हो ।
यसमा देश र जनताका आधारभूत मुद्दाहरु अपवादकोरुपमा मात्र केन्द्र बिन्दूमा यदाकदा पर्दछन् । नीति, नैतिकता, आदर्श, सिद्धान्त, चिन्तन, चरित्र सबै कुरा ताकमा राखेर सत्ताको लागि जस्तोसुकै अपबित्र, अबाञ्छित र अमान्य साँठगाँठ पनि गर्ने र बिदेशी शक्ति समेतलाई प्रत्यक्ष परोक्षरुपमा गुहार्ने गरिन्छ । अनि भरसक त्यसैलाई सही ठहराउन भरमग्दुर प्रयत्न गरिन्छ र केही नलागे परिस्थितिको ‘बाध्यता’को कल्की लगाएर भए पनि त्यसको औचित्य जोड जुलमकासाथ साबित गर्न खोजिन्छ ।
हुन पनि हाम्रो देशमा संविधान सभाद्वारा बनाउने २००७ सालको सेरोफेरोदेखि उठेको हो र यो नेपाली जनताको चीर प्रतिक्षित आकांक्षा पूरा गर्न नेपाली जनताले ६ दशकभन्दा बढी समय कुर्नु परेको तथ्य अबिस्मरणीय छ । २०६२÷६३ को आन्दोलन त्यसको पृष्ठभूमिमा रहेको राजाको निरंकुशताको अन्त्य तथा राज्य र माओवादी बीच चलिरहेको द्वन्दको समाधान गर्ने हेतुले संबिधान सभा निर्बाचनको अबलम्बन गरिएको र भएको थियो । त्यसैका लागि अन्तरिम ब्यवस्था गर्न संक्रमणकालीन अन्तरिम संबिधान बनाइएको थियो । अहिले आएको संबिधान त्यो अन्तरिम संविधानले नेपाली जनतालाई दिएका कतिपय अधिकारहरु पनि सकेसम्म कटौति गर्ने र अधिकारबाट बञ्चित ब्यापक जन समुदायलाई सकेसम्म पुनः पहिलाकै जस्तै यथास्थिति राख्ने कसरतकासाथ आएको प्रतीत हुन्छ । अपाङ्ग, अधूरो, अपूरो र अल्मल्याउने खालको यस संविधानले नयाँ द्वन्द्व सिर्जना गर्ने र देश जनतालाई अग्रगतिमा – समानता,न्याय, स्वाधिनता,समुन्नति शान्ति र सम्बृद्धिको दिशामा – जान नदिने किसिमले संयुक्त जन आन्दोलनको जनादेश, अन्तरिम संविधानको दिशा निर्देश र जनताको मतादेश बिपरीत दिशा पक्रेको महसुश हुँदै आएको छ । द्वन्द्वको एउटा चरणबाट द्वन्द्वको अर्को चरणमा धकेल्ने खालको संविधान नेपाली जनताले चाहेका र अपेक्षा गरेका पटक्कै होइनन् । यसलाई आधारभूतरुपमा सच्याएर सार्थक दिशा दिइएन भने देश र जनतामाथि फेरि पनि गम्भीर खेलबाड गरेको मात्र ठहरिने निश्चत छ । वास्तवमा संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्वको जसरी दुरुपयोग भएको या गरिएको देखिदैछ त्यसले अबाञ्छित राजनीतिक दुर्घटना गराउने या हुने कुरा टाढाको कुरा हुँदैन ।
हुन पनि नेपाली राजनीतिमा देखिएको एउटा अत्यन्तै गलत प्रबृत्ति के छ भने सत्तामा पुग्न हुने नहुने जेसुकै कुरा गरेर जनताका समस्यालाई उराल्ने र भजाउने तर सत्तामा पुगेपछि ती समस्याबाट मुख मोडेर जनतालाई जिल्लाराम पार्ने गलत परम्पराको शिकार देश र जनता भइरहेका छन् । यस्तो गैर जिम्मेबार राजनीतिक प्रबृत्तिले संविधान सभा जस्तो राष्ट्रको दूरगामी हितलाई ध्यानमा राखेर सन्तुलित र सतर्करुपमा परिचालन हुनु पर्ने बेलामा त छाडेन भने अबको समयमा त झन के छाड्ला भन्ने सर्बत्र सन्देह ब्याप्त छ । बास्तबमा यस्तो अबाञ्छित र गलत प्रबृत्तिका बारेमा जनता र राष्ट्र समक्ष कुनै पनि सत्तामा बसेका दलहरुले आजसम्म आत्म समीक्षा गरेका छैनन् र घारघुर गरेर जनतालाई एउटा घोषणापत्रको पोथा दिने र फुलबुट्टा भरेका भाषण दिने काम गरेर केवल सत्तामा पुग्ने तथा बिलाश र बैभबको बाटो लाग्ने निहीन स्वार्थको मात्र काम अधिकांशतः हुँदै आएको र भएको छ । यसबाट मुक्त नभइ कसैले पनि भाषण गरेको, प्रतिबद्धता जनाएको या घोषणापत्रमा लेखेको भरमा पत्याउने स्थिति आज रहेको छैन । जनताई मनमा चित्त नबुझे पनि मत दिन या दिनुपर्ने बाध्यताको स्थिति बिकसित गरिएको छ । यस्तो असाध्य रोगी राजनीतिक प्रबृत्ति नहटाइएसम्म पुरानै गलत परम्परा हाबी भइरहन्छ । यस्तो परिप्रेक्षमा भ्रष्ट, तस्कर, कालोबजारी र कमिशनखोरकै राजनीतिमा पनि बिगबिगी चल्ने अनर्थकारी अबस्था रहिरहने र त्यही मात्र सुदुढ हुने कुरा निश्चित छ ।
बास्तबमा यस्तै परिस्थिति बिकसित भएकोले गर्दा जनतामा राजनीतिक दलहरुप्रति बितिष्णा र ब्यामोह पैदा हुँदै आएको छ र त्यो बढ्दै छ । यो अबाञ्छित स्थिति दलहरु आदर्श, सिद्धान्त, मूल्य–मान्यता र जनता तथा राष्ट्रको अपेक्षा अनुसार नचल्दा नै उत्पन्न भएको हो । यसले सिद्धान्तनिष्ठ, जनता र राष्ट्रपति समर्पित राष्ट्रिय बिकल्पको माग गर्दछ । अन्यथा देश सम्हालिने र सही दिशा लाग्ने बिश्वासिलो शिस्थति सिर्जना हुन सक्तैन । यो ध्रुब सत्य कुरा हो । देश र जनताप्रति जिम्मेवार सबैले समय नभिड्किदै सोच्नु पर्ने ज्वलन्त र गम्भीर कुरा हो यो !
तपाईको प्रतिक्रिया