कोहलपुर, पुष १६,
विभिन्न सुविधा सम्पन्न उपचार तथा विभिन्न रोगहरुको सेवा प्रदान गर्दै आएको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले क्यान्सरको चेकजाँच तथा उपचार गर्दै आईरहेको छ । क्यान्सर भए नभएको परीक्षण तथा परामर्श दिन थालेको यस अस्पतालले जटिल केसहरु आउँदा भने विभिन्न क्यान्सर अस्पताल पठाउँदै आएको छ । यसै सम्बन्धि हामीले यस अस्पतालका प्याथोलोजी विभाग प्रमुख तथा प्रोफेसर डाक्टर घनश्याम दास कटियारसँग कुराकानी गरेका छौं ।
क्यान्सर भनेको के हो ?
क्यान्सर धेरै लामो समयसम्म रहेने एक प्रकारको रोग हो । एक पटक लागेपछि यो रोग निको हुन समस्या हुन्छ । मानव शरिर जिवीत कोषिकाहरुबाट बनेको छ । नयाँ कोषिकाहरु बन्दा यो टुक्रिन्छ र कोषिका मर्छ । कहिंलेकाही नयाँ कोषिका अस्वस्थ तरिकाले बन्दछ । प्रायः यसले शरिरलाई हानी पुर्याउँदैन र मरेर जान्छ । तर कहिलेकाहिं बिग्रिएको कोषिका टुक्रिएर धेरै हुन्छन् र ट्युमर बन्छ । कुनै ट्युमर हानिकारक नभए पनि कुनै ट्युमर चाहि हानिकारक हुन्छ । यो बढ्दै गएर शरिरका अन्य भागहरुमा समेत आक्रमण गर्दछ । यसैलाई क्यान्सर यो नै क्यान्सर हो ।
नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा क्यान्सर सम्बन्धी के कस्ता उपचार सेवाहरु छन् ?
यस अस्पतालमा पनि क्यान्सरको चेकजाँच हुँदै आएको छ । हामी यहाँ ब्लड क्यान्सर, शरिरमा भएक विभिन्न प्रकारका गिर्खा, गाँठागुठी लगायतका क्यान्सरका संका लागेका विरामीहरुको उचित परीक्षण गर्दै आएक छौं । यहाँ सम्भव उपचार संभव नहुने खालका बिरामीलाई क्यान्सर अस्पतालमा पठाउने गरेका छौं ।
क्यान्सर कति किसिमको हुन्छ ?
क्यान्सर धेरै किसिमको हुन्छ । कुनै क्यान्सरको रोकथाम गर्न सकिन्छ र केहीको सजिलै उपचार गरेर निको हुन्छ । कुनै क्यान्सर चाहिं निको पार्न गाह्रो हुन्छ र कारण पनि थाहा हुँदैन ।
क्यान्सरको रोकथाम तथा समयमै पहिचान गर्न के गर्नु पर्ला ?
क्यान्सरको रोकथाम र पहिचानका लागि परीक्षण (स्क्रिनिङ)मा ध्यान दिनुपर्छ । सुरुकै अवस्थामा पहिचान भयो भने ९० प्रतिशत क्यान्सर पूर्णरूपमा निको पार्न सकिन्छ । तर, ढिलो पहिचान हुँदा बिरामीको उपचार पनि खर्चिलो हुने र पूर्ण निको नहुन पनि हुन्छ ।
केमोथेरापी पटकपटक र केही समयको अन्तरालमा दिइन्छ । किन ?
केमोले शरीरमा आवश्यक नभएको र अनियन्त्रित तरिकाले वृद्धि भइरहेको कोषिकालाई नष्ट गर्छ । त्योसँगै शरीरलाई आवश्यक भएको कोषिकालाई पनि मार्छ । बिरामीलाई एक पटक दिएपछि फेरि केही समयमा ग्याप राखिन्छ । नचाहिने कोषिका नष्ट नभए पनि आवश्यक पर्ने कोषिका त शरीरलाई चाहिन्छ । यो बीचको ग्याप भनेको शरीरलाई आवश्यक पर्ने कोषलाई स्वस्थ राख्न समय दिइएको हो । खानपिनमा ध्यान दिन भनेको नै चाहिने कोषिकालाई स्वस्थ र बलियो राख्न हो ।
क्यान्सर हुनुको कारण के हो ? कस्ता लक्षण हुन्छन् ? क्यान्सर हुनबाट कसरी जोगिन सकिन्छ ?
क्यान्सर हुनुको कारण खानपिन र जीवनशैली नै हो । धूमपान, मद्यपान, मोटोपना र अस्वस्थ जीवनशैलीले गर्दा नै नेपालमा पनि क्यान्सरका बिरामी बढिरहेका छन् । खानपिन र जीवनशैली स्वस्थकर हुनुपर्छ । विश्वमा हुने मृत्युको प्रमुख कारण क्यान्सर पनि बनेको छ । सामान्यतः खोकी दुईचार दिन लाग्छ। । तर, लामो समयसम्म पनि खोकी निको भएन, खकारमा रगत देखा प¥यो भने शंका गर्नुपर्छ । वजन घट्ने, स्तनमा गाँठा भएको महसुस हुने, पेट दुख्ने, कब्जियत हुने, दिसा पातलो आउने, बान्ता आउनेलगायत विभिन्न लक्षण देखिएको अवस्थामा पनि क्यान्सरको शंका गर्नुपर्छ , कुन क्यान्सर हो ? त्यहीअनुसार विभिन्न लक्षण देखिन्छन् ।
शरीरमा कसरी हुन्छ क्यान्सर ?
शरीरमा हजारौको संख्यामा खराब कोशिका हुन्छन् । प्रत्येक सेकेन्डमा नयाँ कोशिका पैदा हुन्छ र पुरानो खराब कोशिका नष्ट हुन्छन् । तर क्यान्सर भएमा रातो तथा सेतो रक्तकोषिको सन्तुलन विग्रन थाल्छ । र, कोषिकाको विकास अनियन्त्रित रुपमा भएर क्यान्सरको रुपमा परिणत हुन्छ ।
तपाईको प्रतिक्रिया