बिहान रवीका किरणहरुले
तिम्रो शरिरमा स्पर्श गर्दा
तिमी गगन चुम्न लम्किहेको हिमाल जस्तै
सुन्दर, स्वच्छ र अनुपम लाग्थ्यो ।
शितल पवनको वेगसंगै
लच्किएको शरिर
दशैं तिहारमा
लिङ्गे पिङमा
बाबुआमा साथीसंगीको नाम लिँदै
मच्चिईरहेकी १६/१७ वर्षिय युवती जस्तै
अनुभुत हुन्थ्यो ।
तिम्रो सुन्दरतामा
लालायीत यी नयनहरु
तिम्रो एकतर्फी मायामा
पौडिँदै थिए
तर अफसोच
जब तिमी
शारिरीक रुपमा परिपक्क भयौ
तिम्रो शरिरमाथि
अर्कैको नजर वर्षियो
शीर पाउ दुवैमा
धारिलो हतियार प्रहार हुँदा
तिमी छट्पटिँदै, रनफनिँदै
उफ्रिँदै ढल्यौ जमिनमा ।
म तिमीलाई
भावविह्वल भई हेरी रहेँ
हेर्दा हेर्दै तिमीलाई
टुक्रा टुक्रा पारियो
अचम्म !
तिमी त आफ्नै टुक्राहरुसँग
प्रेमिल जोडीहरुले
सहमतिले कुम मिलाए जसरी
खेल्न थाल्यौ
या
मैले त्यस्तै पाएँ
म अझै दुविधामा छु ।
अझै निशब्द नियालिरहेँ
त्यो निर्दयीलाई
तातो रातो झिर लिएर
तिम्रो एक टुक्रा शरिर समाई
दुई आँखाको बीचमा
च्वाइँइया पार्दै तिमीलाई प्वाल पार्दा
मेरो मुटु छाति बाहिर निस्किएर
छिटो छिटो
ढुकढुक ढुकढुक गर्दै थियो
एवम् रितले
एक टुक्रा तिम्रो शरिरमा
७/८ वटा प्वाल पा¥यो
पहिलो प्वालको माथि रबर राख्यो
उसले लगाएका केही चोटहरुमा
औँलाले छोप्यो
र
तिमीलाई फुक्यो
अनि निकाल्यो
उसलाई मन पर्ने धुन
त्यही दिनदेखि आफु दुखेर
व्यक्ति व्यक्तिको हृदयमा बास बस्यौ
र प्रिय बन्यौ
ए ! बाँसुरी ।।
– विजय खत्री
२०७७/०५/०५
तपाईको प्रतिक्रिया