त्यो रात मेरो शरिरमा आकाश खसेर थिचिरहेको थियो । टाउको फुट्ला झैं गरी दुखिरह्यो, आँखाका ढकनिहरु चिम्लिनै मान्दैनन् । मनमा अनेकन कुराहरुले छट्पटी भई शरिर पसिनाले निथु्रक्क भिजेछ । मेरा बलिनधारा आँसुले रोकिने सुरसार नै नगरेकोेले आकाशबाट वर्षात भएर तिमी अब नराउ तिम्रो लागि म रोईदिउँला भनी कैयौं पटक विस्तारा मै आएर भन्दै चुम्मन ग¥यो तर मलाई त्यो चुम्मन भन्दा उनको झटारो नै प्रिय बनिरह्यो ।
मुटुको धड्कन बाघ आएर तर्साएको भन्दा कम थिएन् तर त्यो सुनसान रातमा । उनले फोन काटेर सुतेपछि मेरो मुटुलाई मथ्थर पार्न मन, मस्तिस्क, ज्ञान, विचार, विवेक सबै असफल भईरहेका थिए । उनले रिससंगै खै के पठाइछन् ५/१० मिनेटमा ट्वाईलेट गई रहनु पर्ने भयो । आयो सिरानी च्याप्यो माफ गर न प्लिज तिमी रिसाएर या भनौं तिमीसँग नबोलेर क्षणभर पनि बस्न सक्ने भएको भए तिम्रा धारिला पथ्थर जस्तै वचनहरुसहेर किन यतिका वर्ष पछ्याउँथेँ होला र । प्रिय मान्छे, मलाई एत्ति बुझिदेउ । भित्तामा आत्महत्याको लागि वर्षौंदेखि झुण्डिएको घडी र आरामादायी विस्तारामा पलपल तिम्रै माया र यादमा सुस्ताई रहेको ममा केही फरक छैन् न उ आत्महत्या गर्न सक्यो न म प्रेममा रमाउन । मैले सिरानीमा हररात हरदिन बगाएका आँसुका टाटाहरु मेट्न सिरानीको खोल बारम्बार धोइरहेँ, धोइरहेँ तर त्यो भित्रका टाटाहरु हरदिन हररात अब यहाँ ठाउँ छैन्, आँसु नपठाउ भनि बिन्ति पठाउँछन् तर आँसुका भेलहरु आफ्ना साथीहरुको खोजीमा बगिरहन्छन् इन्द्रावती, कर्णाली र सेती बनेर ।
मेरो मनभित्रको अदालतबाट म नै देषी ठहरिए पनि गल्तीको सिकार त्यही सिरानी, तन्दा, सिरक, जीउमा लगाएका कपडा, मोबाइल आदि आदि नै हुन्थे ।
सारा शहर मस्त निद्रामा छ तर मेरो आँखामा निद्राको सट्टा उही रिसाएकि प्रियसी डुलिरहेकि छिन् । उनी बिनाको एक्लो जिन्दगी घुमिरहन्छ, टेकिरहेको धर्ती भासिए जस्तो झसंग हुन्छु र टोलाईरहन्छु उनकै यादमा । यी यादहरु बारम्बार आएर मलाई दुखाईरहन्छन्, घोचिरहन्छन्, चिमोटिरहन्छन्, चस्किइरहन्छन्, पोलिरहन्छन् र जलाई रहन्छन् तर तिनै पिडाहरुको श्रोत तिमी नै प्रिय छौ, ए ! प्रियसी
उनी उता मस्त निद्रामा विचरण गर्दै होलिन म उनकै यादमा विलाप गर्र्दैछु, विलौना गर्दैछु । मेरो रोदन सुनेर पनि केही गर्न नसक्ने यी सिरक, तन्दा, सिरानी, दराज, रेडीयो, ग्लास, चुलोहरु एकोहोरो नियाली रहेछन् तर केही बोल्दैनन् । कहिले त लाग्दो हो ठिंग उभिएकोे दराजलाई तिम्रा दुःख, पिडा, दर्द र याचनाहरु म भित्रका तख्ताहरुमा मिलाएर बन्द गर सदाको लागि र उड स्वर्णीम संसारमा तर उ मेरो सम्बन्धका विषयमा कहिल्यैै मुख खोलेर बोलेन साथै टेबलमा पल्टिएको बाँसुरीले भन्दो हो, ए मानव तँ त म भन्दा पनि कमजोर रहेछस, यी हेर त मेरो शरिरमा यतिका धेरै खाटासम्म नबसेका आला घाउहरु छन् तर पनि सहनसिल भई बसेकै छु त । मलाई धेरै जुठो हाले, मन लाग्दो बजाए तर म हारेको छैन् । तँ किन उचालिने र पछारिने गर्छस् ए मानव ! यदि उसले तलाई आफ्नो सम्झिन्छ भने चाहेर पनि तँ जस्तै उ टाढा हुन सक्दिन्, यदि उसले तलाई आफ्नो ठान्दैन भने दिनहुँ आलसको तेल तताएर मसाज गरेपनि तिम्रो बन्दैन् भन्दै गाली गर्न सम्झाउन मन त लाग्दो हो तर मेरो व्यक्तिगत जीवनमा उ कहिल्यै हस्तक्षप गरेन ।
उनकै यादमा मुर्छिदैँ स्वादिला र गुलिया सन्देशहरु सम्प्रेषण गर्छु, अफसोस उनको मोबाइलसम्म पुग्दा ति सन्देशहरु तिता, टर्र्रा, अमिला, कस्ता कस्ता नमिठा बनेर प्रस्तुत हुँदा रहेछन् । कति सन्देशहरु चिठ्ठीको खामभित्र बन्दि बनेरै तुइन्छन् भने कत्ति खुल्छन्, पढिन्छन् र रद्दीको टोकरीमा फालिन्छन् । तिनै रद्दीको टोकरीमा फ्याँकिएका सन्देशहरुले मलाई अदृष्य सन्देश पठाउँछन् । तपाईका सन्देशहरु मन्दिरको ढोकासम्म पुगे तर भित्र छिर्न पाएनन् । खाली हात फर्किन मनले मानेन यतै साहदाद गरें ।
उनी विनाको जीवन मेरालागि पानी बिना बगरमा छट्पटिको माछा जस्तै बनेको छ । एक दिन मात्रको काहानी होइन, वर्षौदेखि उनीसँग केही समयको संवादहिनताले पनि मलाई झन धेरै संवादहरुको माग गर्दछ । मलाई ठ्याक्कै एकिन त छैन तर हामीमा दुई वटा मन हुनुपर्छ नत्र तिम्रो अनुपस्थितिमा लाखौँ करोडौँ संवादहरु कसरी हुन्थे होला र !
विहानको झिसमिसे उज्यालोमा एक्लो भँगेरो चिरविर चिरविर गर्र्दै दायाँबाँया यताउता उडिरन्छ । लाग्थ्यो, उ पनि म जस्तै एक्लो छ । रातमा निदाएको छैन, त्यसैले विहानैदेखि आफ्नो प्रियसीलाई खोज्दैछ । उड्दै घर, आँगन, रुखका पातपात हेर्यो, बाटोचौबाटो, कुनाकाप्चा सबैसबै हे¥यो तर कतै भेटेन । अन्त्यमा, थाकेर छतमाआई थुचुक्क बस्यो र झोक्राई रह्यो । यता म पनि झोक्राउँदै त थिएँ, भँगेरा कतिबेला उडेछ पत्तै भएन् । अहिले पनि सोच्छु, त्यो भँगेराले आफ्नी प्रियसी भेट्यो कि भेटेन या म जस्तै कतै वर्षातको भेलमा बग्दै, कतै चर्को घाममा सेकिँदै, कतै हुलमा च्यापिँदै यात्रा गरिरहेको त छैन् !
प्रकृतिको नियम विहान ५ बजे नै उज्यालो त भयो तर मेरो अनुहार उज्यालिएन । मेरा लागि के दिन के रात समान नै त थिए । आँखामा निन्द्रा, मनमा शान्ति, शरिरमा स्फूर्ति, जीवनमा सारथीको हाहाकार ……..
– विजय खत्री
२०७७ भदौ ९, मंगलबार
तपाईको प्रतिक्रिया