तनहुँ ।जिल्ला अदालत तनहुँको २०७१ फागुन १८ गतेको फैसलाले गौबध मुद्दामा १२ वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी शुक्लागण्डकी नगरपालिका-२ दुलेगौडा बस्ने भरत थापा भन्ने ३१ वर्षीय बिशाल पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी जिल्ला अदालत तनहुँको २०७४ साउन ३१ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका भिमाद नगरपालिका-१ डुम्रेबेशी बस्ने बालकृष्ण भुजेल भन्ने २२ वर्षीय बल बहादुर घर्तीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दुवै जना प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले आ-आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला अदालत तनहुँमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तपाईको प्रतिक्रिया