सुनसरी । देवानगंज गाउँपालिका-२ स्थित सडकबाट को १ ख ३३६६ नम्बरको मिनी ट्रकमा अवैध रुपमा भन्सार छली ल्याएको १२ लाख ४४ हजार ७ सय रुपैयाँ मूल्य बराबरको विभिन्न सामानसहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ट्रक चालक बर्जु गाउँपालिका-२ बस्ने २८ वर्षीय संजीब गुरुङ, ट्रकका हेल्परहरु मोरङ बिराटनगर महानगरपालिका-७ बस्ने २८ वर्षीय गोपाल थापा मगर र ३५ वर्षीय गोपाल साह रहेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उक्त मिनीट्रक जाँच गर्दा भन्सार छली ल्याएको सूर्ती, ताज महल नामक भारतीय चामल तथा अन्य नेपाली चामल समेत गरी उक्त मूल्य बराबरको सामान फेला पारेको थियो ।
बरामद सामान, मिनीट्रक तथा पक्राउ तीनै जनालाई आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय कोशी व्यारेज पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया