काठमाडौं । राष्ट्रिय स्तरको बहुप्रतिक्षीत वैकल्पिक विपी.राजमार्गको फास्टट्रयाक खोल्ने काम सञ्चालन भइरहेको छ ।
यस सडक निर्माणका लागि पञ्चायतकालीन व्यावस्थादेखि नै सडक विस्तारलाई प्रमुख प्राथमिकतामा राखिएको थियो । पटक पटक चर्चामा आईरहने यो सडक हाल सञ्चालनमा रहेको वि. पी. राजमार्ग भन्दा निकै छोटो दूरी हुने छ ।
फूलचोकी, रोशि खोलाको शुरुवात लाकुरिभञ्याङ हुदै रोशि खोलाको अन्त्य सम्मका मनमोहक दृश्य अवलोकन गर्दै पूर्व जाने सवारी साधनहरुको लागि सहज हुनेछ । हाल सञ्चालनमा रहेको वि.पी. राजमार्गको चापलाई दुर्घटना हुनबाट कम गर्नका लागि यो सडकले केहि हदसम्म मद्दत गर्नेछ ।
यस सडक खण्डमा पर्ने दाहालटार, एक्लेखेत, भालुखर्क, बसेरी, गहते, पिपलटार, खाक्सी, चौकिडाँडा सडक विस्तार (ट्रयाक) को लागि वि. स. २०६८ साल बैशाख १६ गते पूर्वमन्त्री टोप बहादुर रायमाझीले शिलान्यास गर्नु भएको थियो ।तत्कालिन संविधान सभा सदस्य संसद हर्षजित लामाको पहलमा केन्दिय सरकारबाट नगद रु ७ लाख बजेट विनियोजन भएको थियो । उक्त विनियोजित रकमबाट काम शुरु गर्नका लागि टुकमान लामाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो ।
यस सडक खण्ड विस्तारको सुरुवाती बजेट कार्यन्वयनको समयमा सडक डिभिजन कार्यलय भक्तपुरले प्राविधिक मुल्याङकन गरेको थियो । उक्त उपभोक्ता समितिले प्राविधिक मुल्याङ्कन गरे भन्दा बढी कार्य सम्पादन गरेको उपभोक्ता समितिका सचिव तथा युवा समाजसेवी ज्ञान बहादुर तामाङ्खले बताउनु भयो ।
वि. स. २०६८ साल देखि २०७७ साल सम्ममा जम्मा सडकको २० किलो मिटर मध्ये १४ किलो मिटर ट्रयाक खोल्न सफल भएको छ । उक्त सडक खण्डको दाहालटार देखि ११ मिटर चौडाईमा ६०० मिटर कालो पत्रे गर्नका लागि समेत बजेट विनियोजन भइ काम सुचारु भइरहेको छ । वैकल्पिक सडक खण्डको बसेरी देखि गहते सम्मको २ किलो मिटर सडक सबैभन्दा अप्ठ्यारो खण्ड भएको बादर लड्ने भिरको उपनामले चिनिने, यस क्षेत्रको काम अहिले निर्माणाधिन अवस्थामा रहेको छ । केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारको समन्वय र सहयोगमा यो काम निरन्तर भईरहेको छ ।यस भिरको काम चाँडै सम्पन्न गरि यहीं आउदो दशैंबाट यातायातका सधानहरु सञ्चालन गर्ने नमोबुद्ध नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कृष्ण बहादुर तामाङले जानकारी दिनु भयो ।
वैकल्पिक वि. पी. राजमार्गको यस खण्ड निर्माण भई सञ्चालनमा आँउदा सम्पूर्ण रोशि भेगका आम नागरिकहरु लाभान्वित हुनेछन् । साथै सो सडक निर्माण भए पश्चात प्रदेश नं. १, २ र ३ बाट काठमाण्डौ प्रवेश गर्ने सवारी साधनहरुलाई सहज हुने देखिन्छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका साथै यस क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि, समाजसेवी, बुद्घिजिवी लगायत उपभोक्ताहरुले पनि सडक निर्माण कार्यमा आवश्यक सहयोग पु¥याउन जरुरी छ भन्ने जानकारी नमोबुद्घ नगरपालिका वडा नं. ११ का सचिव शंकर भट्टराईले जानकारी दिनुभयो ।
यस सडक विस्तारमा केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानिय सरकारको पहल भएता पनि खासै पूर्ण रुपमा केन्द्रित नरहेको र आवश्यक बजेट विनियोजन गर्नका लागि थप पहल गर्नुपर्ने आवश्यक देखिएको छ ।
तपाईको प्रतिक्रिया