—लोकनारायण सुवेदी—
आजभन्दा १९ बर्ष अगाडि २००१ सालको सेप्टेम्बर ११ का दिन अमेरिकामाथि अप्रत्याशित र असम्भव प्रायः लाग्ने भयंकर ठूलो आतंकवादी हमला भएको थियो । त्यस आतंकवादी आक्रमणमा चारवटा विमानमा रहेका २४६ यात्रु, १९ जना अपहरणकारी, विश्व व्यापार केन्द्रमा दुई हजार ६०६ र पेन्टागनमा १२५ गरी कुल दुई हजार ९९६ जनाको ज्यान गएको थियो भने ६ हजार जना घाइते भएको औपचारिक पुष्टि गरिएको थियो । तर त्यस घटनामा प्राप्त अन्य प्रमाणका आधारमा अन्य हजारौँ मानिसहरु बेपत्ता भएको आशंका गरिएको थियो । विश्व व्यापार केन्द्रको भग्नावशेषबाट पहिचान गर्न नसकिएका करिब १० हजार हाड र मांसपिण्ड संकलन गरिएको थियो । हुन पनि आक्रमणमा अमेरिकालगायत विश्वका ९२ मुलुकका नागरिक मारिएका थिए । वास्तवमा त्यस घटनाले अमेरिकाको इतिहासमा मात्रै होइन बिश्व इतिहासका पनि कतिपय कुरामा निक्कै ठूलो भिन्नता ल्याइदिएको कुरा इतिहासका जानकार अध्येताहरु उल्लेख गर्दछन् । त्यसले पारेको मनोबैज्ञाकि एउटा असर के हो भने त्यसयता बिश्वमा खुलापन र परस्पर बिश्वासमा निक्कै ठूलो कमी आयो । प्रत्येक देश र समाजमा त्यसपछि हरेक नबागन्तुकहरुलाई सन्देहको नजरले हेर्न थालियो । बिभिन्न देशका बिमानस्थलहरुमा सुरक्षा प्रवन्ध कयौ गुणा बढाइयो र अत्यन्तै कडा पार्न थालियो । अनि बिदेशी आगन्तुकहरुको छानबिन पनि ज्यादा कडाईपूर्वक गरिन थालियो । त्यसपछि आतंकबादीहरुको तानाबाना यसरी जटील हुन थाल्यो कि त्यसबाट बिश्व के कसरी बाहिर निस्कने हो भन्ने अनुमान गर्न पनि मुश्किल हुन गयो र अहिलेसम्म पनि यो सन्देह कायम रहेको मात्र होइन अझ बढ्दै गएको छ ।
यस सम्वन्धमा पहिला पहिला तस्वीर एकदमै प्रष्ट रहेको औंल्याइन्थ्यो । यस क्रममा इस्लामिक आतंकबादको केन्द्र एकथरीले पाकिस्तानलाई मानेका थिए । अफगानिस्तानमा तालिबानको सरकार थियो । त्यसलाई पाकिस्तानले समर्थन दिएको थियो । पाकिस्तान अमेरिकाको एकदमै घनिष्ठ मित्र देश रहँदै आएको हो र रहेको छ । यस प्रकार तालिबान सरकारलाई पनि अमेरिकाको प्रत्यक्ष, परोक्षा समर्थन रहेको ठानिन्थ्यो । साऊदी अरब जस्ता अमेरिकाका केही अत्यन्तै घनिष्ठ मित्र देशहरुले कट्टरपन्थीहरुलाई आर्थिक सहयोग दिने गरेको पनि बेला बेलामा औंल्याउने गरिएकै हो । अमेरिकाको दुश्मनी इरान जस्ता देशहरुसँग थियो । जो साऊदी अरबको पनि त्यस्तै दुश्मन नै मानिन्थे । तर आज यो स्थितिमा भने निक्कै ठूलो परिवर्तन आउन थालेको छ ।
वास्तवमा २००१ को सेप्टेम्बर ११ मा भएको आतंकबादी हमलाले त्यतिबेलाको बिश्व राजनीतिक समीकरणलाई निकै ठूलो स्तरमा परिवर्तन गरिदियो । हुन पनि अमेरिकी इतिहासमा पहिलो पटक आतंकबादीको अमेरिकामाथि त्यो जोडदार हमला गरिएको थियो । तर त्यो आतंकबादी हमलाको तार भने अमेरिकाकै घनिष्ठ मित्र देशहरुसँग जोडिएको पनि बारम्बार औंल्याउने गरिएको थियो । यसका अतिरिक्त अमेरिकाका अन्य कतिपय हितहरु पनि ती दुइ मित्र देशहरुसँग गाँसिएका थिए । त्यसले गर्दा अमेरिका सिधै ती दुइ देशको बिरोधमा आउन सक्तैनथ्यो । आतंकबादी संगठन अल कायदा र त्यसका शक्तिशाली नेता ओसामा बीन लादेनलाई कुनै बेला अमेरिकाले पूर्व सोभियत संघका बिरुद्ध लड्न राम्रोसँग आडधाप दिएको, उचालेको र ठूलो सहयता प्रदान गरेको थियो । अनि सेप्टेम्बर ११पछि ओसामा बीन लादेन पाकिस्तानमै मूलतः डेराडण्डा जमाएर बसेको कुरा पनि पछि आएर उजागर भइसकेको कुरा हो । यद्यपि त्यतिबेला अल कायदासँग लड्नका लागि पाकिस्तानको सहायता पनि अमेरिकाले लिइरहेको थियो । आज अमेरिकामाथि आतंकबादी हमला भएको दुई दशक बित्नलाग्दा पनि स्थितिमा झनै जटीलता आएको छ । बिश्वमा आतंकबादका नयाँ नयाँ दस्ताहरु पैदा भइरहेका छन् र निर्दोष र असंलग्न मानिसहरु मारिने क्रमहरु जारी छन् ।
निश्चय पनि अल कायदाको लागि अमेरिका जस्तो शक्तिशाली देशको मर्मस्थल–‘वल्र्ड ट्रेड सेण्टर रहेको युगल गगनचुम्बी महल’माथि त्यति ठूलो हमला गर्नु चानेचुने कुरा थिएन । तर त्यही घटनादेखि अल कायदा पनि कमजोर हुन थाल्यो । त्यसपछि अहिलेसम्म त्यो शक्ति लगातार कमजोर हुँदै नै आएको देखिदै आएको र अब बिरलै मात्र त्यसको नाम सुनिने गरिन्छ । अमेरिकाले पाकिस्तानमा बीन लादेनको हत्या गरेपछि त अल कायदालाई ठूलै धक्का लागको हो । यद्यपि त्यसको तीन बर्ष पहिला अल कायदाका नेता अल जवाहिरीले दक्षिण एशियाली देशहरुमा समेत आफ्ना गतिबिधि बढाउने र संगठन बिस्तार गर्ने घोषणा पनि गरिसकेका हुन् । बिश्लेषकहरुले आफ्नो कमजोर भएको साखलाई पुनर्बहाली गर्ने अल कायदाको यो काइदा हो भन्ने बिश्लेषण पनि गरिरहेका छन् । हुन पनि रक्त बीज जस्तै गरी अल कायदाले आज प्रायः सारा बिश्वभरी नै आफ्नो संगठनको सञ्जाल बनाएको छ । नाइजेरियामा बोको हराम, अनि इराक र सीरियामा आईएसआईएस संगठनहरु अल कायदाकै क्रुरतम संस्करण मानिएका छन् । पहिला पहिला आतंकबादबाट केही देशहरु मात्र प्रभावित थिए । तर अब बिश्वमा कमै देश यस्ता होलान् जहाँ आतंकबादी घटना दुर्घटना हुने खतराको स्थिति बिकिसत नभएको होला ।
यद्यपि इराक र अफगानिस्तानमा प्रत्यक्ष सैनिक कारबाहीमा फँसिसकेपछि अमेरिका आतंकबादसँग लड्नका लागि थकित भएको जस्तो स्थिति आज देखिदैछ । २००१ को सेप्टेम्बर ११ को घटनापछि त्यस्तो अर्को कुनै घटना अमेरिकामाथि दोहोरिन नसकेको कुरालाई अमेरिकाको उपलब्धी मान्न सकिएला । यद्यपि यो उपलब्धी या सफलता अमेरिकाले आफ्नो खुलापनको सँस्कृतिमा ठूलो परिवर्तन ल्याएर हासिल गरेको औंल्याइन्छ । तर अहिले आईएसआईएसका बिरुद्ध के कस्तो रणनीति हुनुपर्ने हो अमेरिका यस कुरालाई लिएर ठूलो द्विबिधामा देखिन्छ । स्पष्ट छ कि सेप्टेम्बर ११ को घटनाले अमेरिकाका लागि ‘मित्र’ र ‘शत्रु’को सरलीकृत पुरानो परिभाषालाई नै समाप्त पारिदियो । अहिलेसम्म अमेरिका सीरियामा बशर अल असदको सरकार बिरुद्ध लडिरहेका तत्वहरुलाई प्रोत्साहन दिइरहेको थियो । तर आतंककारी संगठन आईएसआईएसको बढ्दो खतराले गर्दा अमेरिका यतिबेला अप्रत्यक्षरुपमा नै सही असदक सरकारको साथमा खडा हुन पुगेको जस्तो पनि देखिन्छ । हुन पनि अमेरिका र सम्पूर्ण बिश्वले नै आतंकबादको कुनै देश, धर्म, जाति र संस्कृति हुँदैन भन्ने जुन शिक्षा लिनु पर्ने थियो त्यो भने अझै पनि राम्रोसँग लिन सकेको देखिदैन । त्यसले गर्दा नयाँ नयाँ किसिमले आतंकबाद फैलिदै गएको देखिदैछ । यो स्थिति सत्ताधारीहरुका निमित्त मात्रै होइन जनताका निमित्त पनि ठूलो चूनौति र असुरक्षाको सन्त्रास फैलाउने स्थिति हो भनेमा अत्युक्ति नहोला ।
तपाईको प्रतिक्रिया