– गुञ्जा साह
गम्भिर प्रकृतिको सरुवा रोग जस्तै आत्महत्या हाम्रो समाजमा बढिरहेको छ । बिहानबिहानै उठ्नासाथ फलानाले आत्महत्या गर्यो भन्ने समाचार सुनिन्छ । यस्ता घटनाले अहिले सबै प्रभावित भएको छ । वर्तमान समयमा आत्महत्याले एउटा उग्र रुप लिएको देखिन्छ । हाम्रा समाजमा विकृतिको रुपमा छरिएको आत्महत्या एक किसिमको अपराध हो, जसको कुनै सजाय हुदैन । आजकलका युवायुवतिहरु संवेगमा आई यस्ता अपराध गर्ने गर्दछन् ।
धेरै बुझेर कि नबुझेर हो आजकल केही समस्या भयो कि गलत कदम उठाउन आतुर हुन्छन् र आत्महत्याको बाटो रोज्दछन् । हाम्रो समाज अहिले कोरोनाबाट पूर्णतया मूक्त भएको छैन कि दिनप्रतिदिन आत्महत्या काण्ड भईरहेको छ । देखासिकिले पनि धेैरैले यस्ता गलत कदम उठाइरहेको पाइन्छ । यस्तो घटनाले समाजलाई एक किसिमले नाकारात्मक दिशा तर्फ लग्दै छ । आत्महत्याले समाजमा नाकारात्मक प्रभाव पारेको छ ।
विकास गर्न समय लाग्छ तर विनास एक छिन मै हुन्छ । विकास र विनासको कुरा गर्छाै । कुनै पनि नयाँ सन्ततीको विकास गराउदा कति धेरै अपठ्यारा झेल्नुपर्छ , सबै थाहा हुँदाहुँदै पनि हामी बुझेर होस वा नबुझेर आवेगमा रहेको बेलामा शुन्य मतलब राखेको हुन्छौ । बच्चा गर्भ भई जन्म लिनसम्म कति दुःख, कष्ट, पिडा झेलि एक आमाले तिनलाई संसारमा ल्याउन सकिरहेको हुन्छे तथा तिनलाई हुर्काउन, बढाउन, पालनपोषण गर्न धेरै असुविधा भएर पनि आमाबुवाले तिनलाई जिवन चलाउन योग्य बनाउन तत्पर रहि आफ्नो पेट काटेर पनि बालबच्चाको बारेमा सोचिदिने आमाबुवा बाहेक कोहि हुदैन संसारमा । तापनि अचेल मान्छेको संवेग दुःख नसहेर शरीरलाई त्याग गरेर लापरबाही गरिरहेको देखिन्छ ।
कोरोनाले गर्दा ३८ जनाले ज्यान गुमाइसकेका छन् भने १,६४७ भन्दा बढिले आत्महत्या गरिसकेको देखिन्छ । विष खाएर, नदीमा हाम फालेर, झुन्डिएर कति सजिलै तरिकाले आफ्ना ज्यान गुमाईरहेको छ । मान्छे मरणशिल प्राणी हो, जो एकचोटि पृथ्वीमा जन्म लिन्छ एक न एक दिन मरेर जानु नै पर्छ भन्ने कुरा सबैलाई थाहा हुदाहुदै पनि आफ्नो मृत्यु आफ्नो हातमा लिन तर्फ अग्रसर भएको छ । अहिले खास गरेर फासी लागि झुन्डिएर मर्नेको संख्या बढि देखिरहेको छ । झुन्डिएर मर्न सजिलो भएको हो की ? समस्याको विकल्प आत्महत्या नै हो की ? आफ्नो ज्यान त्यागेपछि समस्या सकियो भन्ने सोचाई हो ? आफु नमरी स्वर्ग देखिदैन भन्ने झै स्वर्ग हेर्नको लागि आत्महत्या गर्न आतुर भएको हुन् की ? के जन्म दिने आमाबुवा, साथीभाई, आफन्त लगायत कोही एक व्यक्ती छैन जसले घातक मानसिक रोगीलाई सहि कदम चाल्न बाटो देखाउलान् ?
आत्महत्या समस्याको समाधान होइन, कुनै विकल्प होइन, यसबाट केहि उपहार पाईदैन, कसैले स्याबस तिमीले राम्रो काम गरेका छौ भने गुणगान पनि गर्दैनन् । यो एक किसिमको कायरता हो, ठुलो अपराध हो, मूर्खता हो । आत्महत्याले परिवार मात्र हैन, यसले पुरै समाजलाई डर, त्रास,देखाई वातावरण नै भयावय, डरलाग्दो बनाएको हुन्छ । जिवन एक संघर्ष हो, सुख दुखको संगम हो । जिवनमा अनेकौ अप्ठयारा, समस्याहरु आउँछन् , जसलाई आफु बलियो भएर समस्यासंग जुध्न सक्नुपर्छ ।
संसारमा कुनै पनि काम असंभव छैन । विकासले तिव्रता लिईरहेको बेलामा आत्महत्या तिव्र रुपमा बढ्नु एकदम दुखमय हो । विकास संगसंगै विनाश पनि तिव्र गतिमा बढ्दै छ । खास गरेर भर्खरका युवायुवतिहरु जुन स्कुल, कलेजमा प्रेममा फसेर बाचा, बन्धनलाई निरन्तरता दिन नसकी ,ब्लाकमेलमा परेर कसैलाई केहि भन्न नसकी आत्महत्या गरिरहेका छन । सानातिनो झगडा, आफन्तको साथ नपाई , कुनै कतैबाट सहयोग नपाई यस्ता अपराध गर्न बाध्य भएका हुन्छन् । त्यस्तै वैवाहिक जिवनमा भएको कलहलाइ सुलझाउन नसकी आफन्तबाट सहयोग नपाएर कुसमय मै गलत निर्णय लिन बाध्य भएका छन् ।
वर्तमान समयमा कोरोना महामारीले गर्दा आर्थीक स्तर न्यून भई जिविकोपार्जन गर्न नसकि झुन्डिएर ज्यान त्यागेको संख्या बढिरहेको छ । २, ४ वटा बच्चा भएकाहरु पनि आफ्ना बालबच्चाहरुको बारेमा केहि नसोची आत्महत्या गर्दै छन् । बच्चाहरु कहाँ जान्छन, के गर्छन, कसरी जिविका चलाउछन भन्ने कुरा सोच्न नसकी मृत्युको मुखमा जान आतुर भएकाहरु आफ्नै बालबालिकाको भविष्य अन्धकारमय बनाएर गएका हुन्छन् । कसैले १ लाख २ लाख दिएर गुजारा चल्छन त ति विचारा बालकलाई , पक्कै पनि हैन अनि मर्न बाटो अंगाल्नु किन तिव्रता ? त्यस्तै शिक्षा पाएका व्यक्तिहरु, सर्टिपिकेट भएर पनि योग्य अनुसार जागिर नपाएर हरेस खायी आफुखुशी मर्ने गर्छन् । पढेलेखेका अनुसार काम नपाउनु समाजमा यति धेरै पढेको अनि यस्ता तृक्ष्ण काम गर्छन भन्ने हेपाईले पनि दिक्क मानेर आत्महत्या गर्छन् । गरिबी, बेरोजगारी, इच्छा ,आवश्यकता पूरा गर्न नसकि आत्महत्या गरेको देखिन्छ । सोचे अनुसार प्राप्त गर्न नसक्नु, भएको कुरा बापत संतुष्ट नभई अरुको सम्पत्ति, सन्तती, विकासलाई हेरेर आफुुसंग केहि छैन, जाबो यतिले के हुन्छ, भनि सोचाईले पनि दुखित भएर डिप्रेशनमा गई यस्ता गलत निर्णय लिन सकिरहेको देखिन्छ । असन्तुष्ट, प्रेममा असफल, वैवाहिक जिवनको परेशानि, योग्यता अनुसारको काम नपाई , मानसिक रोगबाट ग्रसित भएका, डिप्रेशनको शिकारमा परेर होस ठेगानलाई सन्तुलनमा राख्न नसकि आत्महत्या गरेको हुन्छ । मानसिक रोगबाट ग्रसित र डिप्रशनका शिकार भएका व्यक्तिहरु आत्महत्याको गरेको पाईन्छ । ८० % भन्दा बढी मानसिक रोगबाट नै ग्रसित भएर आत्महत्या गरेको देखिन्छ । मानसिक रोग हुनुको कारण के हो त ? आर्थिक अवस्था न्युन हुनु, शहरिया जिवनको अपठ्याराहरु, एक्लोपन, बेरोजगारी, असन्तुष्ट हुनु जस्ता धेरै कारणहरु छन् । आफु मरेर गएपछि सारा समस्या टर्छ भावना राखि संसारको मोह माया त्यागेर यस्ता गलत निर्णय लिन सकिरहेको देखिन्छ । तर सबैले तो बुझ्नु जरुरी छ कि आत्महत्या समस्याको समाधान होइन ।
मुलुकी अपराध संहिता संहिता ऐन २०७४, परिच्छेद १२, ज्यान सम्बन्धी कसूर, दफा (१८५) मा आत्महत्या गर्न कसैले कसैलाई दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिती खडा गर्न वा गराउन प्रयास गराएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको छ तर आत्महत्या गर्नेलाई के सजाय हुन्छ । आत्महत्या एक किसिमले सजाय नै हो ।
लकडाउनको अवधिमा भर्खर भएका केही आत्महत्याका घटना : गोलबजार नगरपालिका वडा नम्बर ४ मा रहेको जुलमी साहको छोरी स्कुलकै कक्षाकोठाको पङ्खामा फासी लागि झुन्डिएर,पोखरा गै्रहा पाटन स्थित जयराम कोइरालाको घरमा भाडामा बस्दै आएकी लोकदोहरी गायिका सुनिता नेपालीले फासी लगाएर, स्याङ्जा कालि गण्डकी गाउँपालिका ५ की एक जना २४ वर्षिया महिला गोपा थापा पासो लगाई झुन्डिएर,छिपरा गाउँपालिका ४ बस्ने वर्ष ३३ को विनोद यादवले आत्महत्या गरेका थिए । प्रदेश नम्बर २ जनकपुरको मुर्लि चौकमा एक महिलाले फासी लगाएकी थिइन् । यस्तै बेलहि रजौलमा एक जना युवाले, धनुषाको परवाहा निवासी ज.उ. न.पा. ४ विश्वकर्मा चौक बस्ने संतोष झाले आत्महत्या गरेको छ, यति मात्र नभएर अचेल फेसबुक लाइभ भएर पनि आत्महत्या गर्न शुरु भइसक्यो । दाङमा र चितवनमा फेसबुक लाइभ भएर दुई युवतिले पासो लाई झुन्डिएर आत्महत्या गरेका थिए । आत्महत्या दिनानुदिन बढदै गएको छ । सामाजिक, आर्थिक र सांस्कृतिक कारणले पनि आत्महत्या बढने गरेको छ । प्रत्येक दिन एक पछि अर्काेले आफ्नो ज्यान आफुखुसि त्याग्ने हुनाले समाजमा भयावह रुप लिन सक्छ । आत्महत्यालाई नियन्त्रण गर्न जरुरी छ । मरेर गईसकेको लागि त होइन तर मर्ने इच्छा राख्नेलाई केही भन्न चाहन्छु- “ तिमी मरेर गए पनि ४ दिनसम्म रुन्छन सबै तर दिन बित्दै कोई याद गर्दैन बगिरहेको नदी जस्तै अक्कबिसे्रर जान्छ तिमीलाई, आफ्नो प्रतिद्धन्दी कम भएको महसुस गरी आफु जित्न अगाडी परेको हुन्छ । ”
हाम्रो जिवनमा अनेकौ समस्या, द्धिविधा, कठिनाई , बाध्यता, लान्छाना इत्यादी लाग्न सक्छ, सबैसंग लडेर, समस्या झेलेर अघि बढन सक्नुपर्छ । जिन्दगी अनमोल हुन्छ,यसको महत्त्व बुझ्नुपर्छ । पृथ्वीमा सर्वश्रेष्ठ प्राणीको रुपमा चिनिएको मानवजातिले आफ्नो ज्यान आत्महत्या गरेर गुमाउन प्रयत्न गर्नु दुखमय हो । मानव कजीवन अति मुल्यवान हुन्छ, देख्न नसक्ने,हिंड्न नसक्ने, बोल्न नसक्नेले त जिवन गुजारिरहेका छन् भनेकहामीहरु त सबै रूपमा सक्षम छौं । हामी युवा जनशक्ति सबल भएर पनि मर्नलाई यस्तो आतुर हुनु भनेको कायरता हो । जिवनमा जस्तोसुकै घटना,समस्या, परिस्थिति आए पनि आफु हिमाल जस्तै अटल भएर उभन सक्नुपर्छ र अरुलाई पनि सहिपथ देखाउन अग्रसर हुन जरुरी छ । सुखमा हामी हास्न जान्न सक्नुपर्छ भने दुखमा रुन पनि जान्नु जरुरी छ । आफ्नो दुख, कष्ट, पिडालाई आसुमै बगाएर जिवनलाई निरन्तरता दिन जरुरी छ । मजदुरी गरेर पनि जिवन चलाउन जान्नु पर्छ । जिवनमा हरेश खाएर होस ठेगान गुमाएर आफ्नै शरिरलाई तडपाई तडपाई घाँटीमा डोरी बाँधेर,विष खाएर आफ्नो मुल्यवान जिवनको अन्त्य गर्नु हुँदैन । गल्ति भए पनि सुधार गर्दै लैजानु पर्छ,आखिर मान्छेबाट नै गल्ति हुन्छ , सर्वगुण सम्पन्न कोहि हुँदैन गल्ति गर्ने प्रवृतिलाई सहि मूल्याङ्कन गरेर जिवनयात्रालाई निरन्तरता दिन आवश्यक छ ।
दिनप्रति दिन आफुखुसी मर्नेहरुको बढ्दो क्रमलाई नियन्त्रण गर्न आत्महत्या तर्फ ध्यान दिन जरुरी छ । आत्महत्या रोकथाम गर्नको लागि जनचेतना प्रवाह गर्न जरुरी छ । आत्महत्या नियन्त्रण गर्न अभिभावक र आफन्तको पनि मुख्य दायित्व हुन्छ, आफ्नो छोराछोरीको मन वुझिदिने, समाजिक सहयोग गरिदिने, विचलित हुन नदिने जस्ता कार्य गर्न सके आत्महत्या कम हुन मद्दत पुग्छ । सरकारले हटलाइन सेवा सुचारु गरी समस्या सामाधान गर्न सक्नुपर्छ, किनभने लकडाउनको कारणले अहिले सब सिमित ठाउमा छैन कसको समस्या कस्तो छ, के छ थाहा पाउन पनि हटलाइन सेवाले मद्दत गरेको हुन्छन् । वर्तमान समयमा दिनहु दर्जनौले स्वेच्छाले मृत्यु रोज्दा नागरिक, समाज, सरकार, जनप्रतिनिधिले यसतर्फ ध्यानकेन्द्रित गर्न आवश्यक छ । आफ्ना दाजुभाई, दिदिबहिनीहरु भित्र भित्रै कति पिडामा छ, के अवस्थामा छ, जानकारी लिन जरुरी छ । आत्महत्यालाई निरुत्साहित गर्न ध्यान दिन अति आवश्यक छ ।
तपाईको प्रतिक्रिया