दार्चुला–
दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको रेडियो दार्चुला एफ एम ९० मेगाहर्जले शुक्रबार (भोली) देखी आधारभुत तह कक्षा ६, ७ र ८ लाई लक्षित गर्दै वैकल्पिक प्रणालीबाट विद्यार्थीहरुको सिकाई सहजीकरणका लागी रेडियो पाठशाला कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । जिल्लाको ब्याँस गाउँपालिका र महाकाली नगरपालिकाको आर्थिक सहयोगमा रेडियो कार्यक्रम (रेडियो पाठशाला) संचालन गर्ने तयारी गरिएको स्टेशन म्यानेजर कमलराज जोशीले बताउनुभयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनका कारण विद्यालय बन्द हुँदा भविष्यका कर्णाधार भनिने विद्यार्थीहरुको पढाईमा थप सहयोग पुगोस भन्ने उद्देश्यले रेडियो कार्यक्रम संचालन गरिन लागेको उहाले जानकारी दिनुभयो । गत चैत्र ११ गते देखी बन्द भएका विद्यालयहरु हाल सम्म खुल्न नसकेको अवस्थामा विद्यार्थीहरुले घरमै बसेर रेडियो सुनेर किताबी ज्ञान हासिल गर्न सक्ने अवस्था सिर्जना गरिएको उहाको भनाई छ ।
रेडियो पाठशाला कार्यक्रममा कक्षा ६, ७ र ८ को अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका कक्षाहरु प्रत्यक्ष रुपमा प्रसारण गरिने स्टेशन म्यानेजर जोशीले बताउनुभयो । कार्यक्रमको पहिलो दिन शुक्रबार (भोली) विहान ९ बजे देखी ९ः३० बजे सम्म कक्षा ८ को गणित र ९ः३० बजे देखी १०ः०० बजे सम्म विज्ञान विषयको पढाई हुने उहाले जानकारी दिनुभयो ।
यस्तै शुक्रबार बेलुकी ६ः०० बजे देखी ६ः३० बजे सम्म अंग्रेजी र ६ः३० देखी ७ः०० बजे सम्म सामाजिक विषयको पढाई हुने उहाले बताउनुभयो । विद्यार्थीको सिकाई सहजीकरणका लागी विषय अनुसारका शिक्षकहरुको समेत व्यवस्थापन गरिएको उहाले जानकारी दिनभयो । स्टेशन म्यानेजर जोशीले रेडियो पाठाशाला कार्यक्रम सुनेर लाभ लिन विद्यार्थी र प्रतिक्रिया दिन अभिभावक तथा सरोकारवालाहरुलाई आग्रह समेत गर्नु भएको छ । यस्तै असार २० गते देखि सीआइएनमार्फत रेडियो पाठशाला कार्यक्रम ९ र १० कक्षाका विद्यार्थीहरुका लागि संचालनमा रहेको छ । उक्त कार्यक्रम शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा प्रशारण भइ रहेको छ ।
तपाईको प्रतिक्रिया