-लोकनारायण सुवेदी
हाम्रो देशमा कम्युनिष्ट पार्टीको स्थापना गर्दै सर्बप्रथम राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तथा त्यसलाई उच्च जन गणतन्त्रको चरणमा बिकासको उ्दघोष गर्ने कामरेड पुष्पलालको नीति र कार्यक्रमलाई गणतन्त्र नेपालमा पनि मौलाउन नदिने षडयन्त्रको क्रम जारी रहेको छ । उहाँको त्यो नीति र कार्यक्रम अरु कुनै कुरा नभएर सामन्तबादको समग्ररुपमा अन्त्य र जनता सबै किसिमले अर्थात राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक किसिमले एकपछि अर्को उन्नत दिशामा अग्रसर हुने सामन्तबाद तथा साम्राज्यवादवाट मुक्त र उपयुक्त सामाजिक बातावरणको सिर्जना गर्नु थियो र हो । त्यसकै निमित्त उहाले कम्युनिष्ट पार्टीको युगीन रणनीति ‘नयाँ जनवाद’ तथा बैज्ञानिक समाजवाद र साम्यबादको आदर्शलाई मात्रै अघि सार्नु भएको थिएन त्यसलाई प्राप्त गर्न जनताको संयुक्त जन आन्दोनलको दृढतापूर्वक वकालत गर्नु भएको थियो । संयुक्त जन आन्दोलनकै निमित्त बामपन्थी एकता र संयुक्त मोर्चाको नीति पनि प्रष्ट दिशाबोधकासाथ अघि बढाउनु भएको थियो । निर्णायक एवं आमूल सामाजिक परिवर्तनका लागि संयुक्त जन आन्दोलनले पूर्वाधार निर्माण गर्दछ भन्ने बास्तविक कुरामा उहाँ बिश्वस्त हुनुहुन्थ्यो । अनि त्यस पूर्वाधारको जगमा आमूल अग्रगामी निर्णायक परिवर्तनको उच्च सामाजिक चरणमा प्रवेश गर्ने छलाङ्ग मार्न सकिन्छ भन्ने उहाँको प्रष्ट बर्गीय दृष्टिकोण थियो । त्यसैले संयुक्त जन आन्दोलन मार्पmत जनतालाई चेतनशील बनाउनु पर्दछ । कार्यकर्ताहरु राजनीतिक रुपमा संगठित हुनुपर्दछ, क्रान्ति अर्थात आमूल परिवर्तन अबश्यमभावी छ यसलाई कसैले रोकेर रोक्न सक्तैन भन्ने उहाँको क्रान्तिकारी जीवनको सारभूत निष्कर्श थियो ।
वास्तवमा यो उहाँको महत्वपूर्ण र बस्तुगत यथार्थमा आधारित सही नीतिले नेपाली जन आन्दोलनको बिकासमा अपूर्व र अतुलनीय योगदान पु¥याएको छ । त्यस कुरालाई ठोसरुपमा हामी २०३६ सालको ऐतिहासिक संयुक्त बिद्यार्थी आन्दोलन, २०४६ सालको सामन्ती अधिनायकवादी पञ्चायती ब्यवस्था बिरोधी ऐतिहासिक संयुक्त जन आन्दोलन र पछिल्लो पटक राजा ज्ञानेन्द्रको नेतृत्वमा चलाइएको स्वेच्छाचारी राजतन्त्रलाई धुलधुसरित तुल्याउने र गणतन्त्र स्थापना गर्ने ऐतिहासिक संयुक्त लोकतान्त्रिक जन आन्दोलनबाट राम्रोसँग परिपुष्टी गर्न सक्तछौं । कुरा एकदमै प्रष्ट छ ः स्पष्ट दृष्टिकोण र दिशाबोधका साथ जनताका सबै शक्ति र दलहरु साझा न्यूनतम कार्यक्रममा एक जुट भएर संघर्ष गर्न र अघि बढ्न तयार भए भने त्यसले ठूलो ऊर्जा र उत्साह प्राप्त गर्दछ र त्यस ऊर्जाले देशमा ठूलो अग्रगामी परिवर्तन ल्याउने कुरा निश्चित हुन्छ । माथि उल्लिखित सफल संयुक्त जन आन्दोलनहरुले एकदमै प्रष्टरुपमा यो कुरा प्रमाणित गरिदिएका छन् । हुन पनि जन आन्दोलन बिकासको यो दिशाको आवश्यकता, औचित्य र आधारको खोजी गर्ने पहिलो आधारभूत कार्य कामरेड पुष्पलालबाटै भएको हो । उहाले नै काग्रेस र कम्युनिष्टहरु साझा न्यूनतम कार्यक्रमका आधारमा एकजुट भएर लड्नु पर्ने अवधारणा अघि सार्नु भएको हो । त्यसबापत कम्युनिष्ट खेमाका नेताहरुबाटै उहाँको जीवनकालमा नै उहाँलाई ‘गद्दार’ ‘साम्राज्यबादको दलाल’ भन्ने अनर्गल आपेक्ष र निराधार लाञ्छना पनि लागेको हो र त्यस लाञ्छनाले राजाको पञ्चायती ब्यबस्थालाई सहयोग पनि पुगेको हो ।
क. पुष्पलालले निश्चय पनि डा. केशरजंग रायमाझीको कम्युनिष्ट पार्टीलाई दरबारको पुच्छर बनाउने नीतिको हमेशा डटेर बिरोध गर्नु भएको थियो तर उहाँ छरिएर रहेका कम्युनिष्ट क्रान्तिकारीहरुलाई राजतन्त्र लगायत सामन्तबाद बिरोधी सही नीति र कार्यक्रमका आधारमा एकजुट हुुुनु पर्दछ भन्ने कुरामा एकदमै प्रष्ट हुनुहुन्थ्यो । त्यसैले उहाँले आफुबाट अलग्ग भइ बसेका र गलत दिशातर्फ अनुहार फर्काएका कम्युनिष्ट नेताहरु दिवंगत मनमोहन अधिकारी तथा शम्भूराम श्रेष्ठ र अहिले पनि कार्यरत मोहन बिक्रम सिंहहरुसँग पनि एकताको निमित्त बार्ता चलाउनु भएको थियो । तर उहाँहरुले एकताको लागि कामरेड पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टी नै भंग गर्नुपर्ने पूर्वशर्त राखेपछि त्यो एकता बार्ता एकताको लागि होइन रहेछ भाँड भैलोको निमित्त रहेछ भन्ने कुरा प्रष्ट भएको थियो । त्यसपछि नै वास्तवमा ‘गद्दार पुष्पलाल’ भन्ने किताव प्रकाशनमा ल्याइएको थियो । राजाको प्रत्यक्ष नेतृत्वमा सामन्ती अधिनायकवादी पञ्चायती ब्यवस्थाको रजगज चलिरहेको त्यति बेला नेपाली जनता राजासँग लड्ने कि काग्रेससँग लड्ने अबाञ्छित प्रश्न तेस्र्याइएको थियो । जबकि राजतन्त्रले के कम्युनिष्ट के काग्रेस सबैमाथि हत्या, दमन, जेलनेलको यातना दिने फासिस्ट कारबाही चलाइरहेको थियो । आफ्नो सामन्ती शासन जोगाउन र लम्ब्याउनका निमित्त । त्यसबेला मूख्य दुश्मनको बारेमा बिवाद सिर्जनाले गर्दा नेपाली जन आन्दोलनमा ठूलो भ्रम र अन्यौल सिर्जना गर्दथ्यो र ग¥यो पनि । त्यसै कारणले राजाको नेतृत्वको सामन्ती अधिनायकवादी पञ्चायती ब्यवस्थाको आयु तीन दशकसम्म लम्बिएको कुरा पनि जगजाहेर नै छ । कामरेड पुष्पलाल भने नेपाली जनताको साझा दुश्मन राजतन्त्र र त्यसको नेतृत्वमा रहेको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था हो भन्ने कुरामा एकदमै सुस्पष्ट र दृढ हुनुहुन्थ्यो । त्यसमा कुनै किसिमको सम्झौता गरिएमा त्यो नेपाली जन आन्दोलनका निमित्त घातक सिद्ध हुने कुरा उहाँ बारम्बार औल्याउने गर्नु हुन्थ्यो । वास्तवमा राजतन्त्र र सामन्ती ब्यवस्था नै नेपाली जनताको मूख्य दुश्मन हो भन्ने कुरा इतिहासले सत्य सावित गरिसकेको छ र त्यसलाई नेपाली जनताको अपूर्व संयुक्त लोकतान्त्रिक आन्दोलनले आज इतिहासको किनारामा मिल्काइसकेको पनि छ ।
त्यसैले कम्युनिष्ट क्रान्तिकारीहरुका बीच एकताको खोजी गर्दा होस् या बामपन्थी एकता र संयुक्त मोर्चाको खोजी र बिकास गर्नका लागि होस् क. पुष्पलालले सँधै नै सिद्धान्तनिष्ठ एकतामा जोड दिनु भयो । माक्र्सवादी लेनिनवादी सिद्धान्तका आधारमा सही र बस्तुनिष्ठ समझदारी बनाएर त्यस्तो एकता, सहमति र सहकार्यको खोजी गरिनु पर्दछ भन्ने कुरामा नै उहाँ आजीवन तल्लिन हुनुभयो । यद्यपि उहाँको त्यो महत्वपूर्ण र अपरिहार्य सही बिचार उहाको जीवन कालमा लागु हुन सकेन । तथापि उहाँको देहावशानपछिका महत्वपूर्ण राष्ट्रिय आन्दोलनहरुमा त्यो नीति आमूल परिवर्तनको दिशामा अग्रसर हुनका निमित्त नेपाली जनताको आन्दोलनलाई अघि बढाउन कारगर, प्रभावकारी र निरन्तर सही सावित हुदै आएकोेछ र भइरहेको मात्रै छैन, नेपालको सन्दर्भमा यो एउटा सार्वभौम नीतिको रुपमा स्थापित भइरहेको छ।
नपालको आजको राष्ट्रिय आवश्यकता कमरेड पुष्पलालको यो सही नीतिको रक्षा गर्नु र यसलाई अझ समृद्ध र बिकसित गरेर नेपाली जनता र राष्ट्रको ब्यापक हितमा तत्कालीन तथा दीर्घकालीन रुपमा अघि बढाउनु हो । तर ठीक यही कुराबाट भने नेपाली कम्युनिष्टहरु नराम्ररी बिमुख हुँदै आएका छन् । अरु त अरु आफुलाई पुष्पलालको नीति र कार्यक्रमका सच्चा अनुयायी हौ भन्ने दाबी गर्ने कम्युनिष्टहरु पनि केवल इज्जत धान्नका निमित्त मात्र कामरेड पुष्पलालसँग आफुलाई जोडिरहेका छन् । पुष्पलालको संघर्ष, संगठन र सिद्धान्त अर्थात् ‘तीन स’ सिद्धान्तको सही नीति अनुरुपको आचरण, ब्यवहार र कार्यशैलीबाट उनीहरु पनि कोशौ दूर रहेका छन् । तर आफ्नो संकीर्ण स्वार्थको रोटी सेक्न भने उनीहरु पनि पुष्पलालको नाम अघि सारेर त्यस आधारमा गुटबन्दी गर्ने, अनुशासन तोड््ने र अराजकता फैलाउने तथा इतिहासलाई समेत गलत ब्याख्या गर्ने कार्यलाई नै क्रान्तिकारी कार्यको संज्ञा दिदै क. पुष्पलाललाई बद्नाम गरिरहेका छन् । तत्कालीन राजा ज्ञानेन्द्रले नेपाली जनतामाथि स्वेच्छाचारी शासन लादेर घोर दमनचक्र चलाएकोे बेला नेतृत्वको आफ्नो जिम्मेवारीबाट बिमुख भएर कार्यकर्ता र आम जनताले समेत आशंका गर्ने हदसम्म टाउको निहुराएर मौन बस्ने या बिदेश पलायन गर्ने तथा राजतन्त्र बिरोधी जन आन्दोलनमा समेत एक वा अर्को बहाना बनाएर पुच्छर लुकाएर पछि बस्ने या भाग्ने नेताहरुले समेत अहिलेको सहज स्थितिमा आफुलाई पुष्पलालको कट्टर अनुयायी बनाएर प्रस्तुत गर्न तम्सेको देखिन्छ । यो भन्दा हास्यास्पद र बिडम्बनापूर्ण कुरा अरु के हुन सक्तछ ?
घोर औसरबादी यस्तो प्रबृत्तिले क. पुष्पलालको प्रतिनिधित्व पटक्कै गर्दैन । बरु क. पुष्पलालको नाम भजाएर आफ्नो स्वार्थ सिद्ध गर्ने संकीर्णताको मात्र प्रतिनिधित्व गर्दछ । देशबाट सामन्तवाद तथा अमेरिकी नेतृत्वमा साम्राज्यवाद र भारतीय एकाधिकार पूँजीवादको प्रभुत्वादी शोषण उत्पीडनको अन्त्य गर्न जनताका बामपन्थी तथा लोकतान्त्रिक दल र शक्तिहरुका बीच जुन उच्च स्तरको सैद्धान्तिक, राजनीतिक सुझबुझ, समझदारी र सहकार्यको आवश्यकता छ त्यसलाई आत्मसात गरेर सिद्धान्तनिष्ठ र अनुशासित किमिसले अघि बढ्न तत्पर भएमा मात्र पुष्पलालको सही बाटोलाई सही किसिमले अनुसरण गरेको ठहरिने छ । नत्र भने पुष्पलाललाई कसैले पनि किनबेच गर्ने बजारको बस्तुसरह बनाएर नेपाली जनताको आन्दोलनको सही मार्गदर्शन गर्ने त्यो महान छबीलाई धमिल्याउने दुष्प्रयास गरेको मात्र प्रमाणित हुनजानेछ । क्रान्तिकारी कम्युनिष्टहरुले पुष्पलालको सही बिचार, सिद्धान्त, नीति र कार्यक्रमलाई सही परिप्रेक्षमा बुझेर आत्मसात गर्ने र तदनुकूल ब्यवहार गर्ने हो भने नयाँ नेपाल निर्माणका लागि नयाँ जनबादी क्रान्तिको आधार तयार गर्न, शोषित पीडित जनताका अधिकारकाहरु सापेक्षरुपमा ठोस किसिमले स्थापित गर्न र सामाजिक रुपान्तरणको क्रान्तिकारी प्रकृयालाई सही परिप्रेक्षमा तार्किक टुङ्गोमा पु¥याउन तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै नेपाललाई समानता, समुन्नति, शान्ति र प्रगतिको दिशामा अझ अगाडि बढाउन सकिने छ । बस्तुतः क्रान्तिकारी बिचारको रक्षा यसरी मात्रै गर्न सकिन्छ । तर अहिले पनि कमरेड पुष्पलालका असल परम्परावाट देश र जनतालाई बिमुख राख्ने छलप्रपञ्च र षडयन्त्र चलिरहेको छ । जसले गर्दा ‘भताभुंङ्ग देशको लथालिंग चाला, ज–जसले सक्ला उस–उसले खाला’ जस्तो भएर देश चलिरहेको छ । कुर्सी केन्द्रित अबाञ्छित राजनीतिको खेल र बाह्य चलखेलले गर्दा सम्पूर्ण आधारभूत कुराहरु गम्भीररुपमा ओझेलमा परिरहेका छन् । यसलाई चिर्ने क्रान्तिकारी शक्तिको निर्माण गर्न नसकेसम्म नेपाली जनता र राष्ट्रका समस्या हल गर्ने सही दिशामा अघि बढ्न सकिने छैन । यो सच्चा बामपन्थी तथा क्रान्तिकारी लोकतान्त्रिक शक्ति र दलहरुले मनन गर्नुपर्ने आजको अत्यन्तै गम्भीर महत्वको सर्बोपरी कुरा हो ।
तपाईको प्रतिक्रिया