बीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले न्यायालय जस्तो संवैधानिक निकायमा विवाद हुन नहुने धारणा व्यक्त गरे । लोकतान्त्रिक समाजवादी पार्टीले बीरगन्जको नगरसभा गृहमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले न्यायालयले न्याय दिन बन्द गरेपछि राज्य खतरामा पर्ने बताए । न्यायालय माथिको विश्वास गुम्न सक्ने अवस्था आए राज्य असफल हुने उनले बताए ।
पत्रकार सम्मेलनमा नेता महतोले न्यायालय भित्र भइरहेको विवाद तत्काल समाधान गर्न प्रधानन्यायधिशले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे । देश प्रधानन्यायधिशको सेटिङ्गमा चलिरहेको तथा सेटिङ्ग गर्ने देशको मुख्य तीन दल कांग्रेस, एमाले र माओवादी रहेको महतोले आरोप लगाए । आफ्नो व्यक्तिगत स्वार्थका लागि ठूला पार्टीहरुले न्यायालयलाई दुरुपयोग गरेको महतोले बताए । जनताको अन्तिम भरोसा न्यायालय रहेको कारण न्यायालय प्रतिको भरोसा टुटे देश असफल हुने.उनले टिप्पणी गरे
देश चलाउने दलहरुको सोच नै गलत रहेको बताउदंै नेता महतोले देशलाई एकल तथा नश्लिय सोचबाट चलाइएको आरोप लगाए । नेपाल सबै नेपालीको रहेको बताउदंै नेता महतोले यो देश बहुल राष्ट्रिय देश रहेको बताए । बहुल राष्ट्रिय सोचबाट सबै जनताको पहिचान र सम्मान हुने चिन्ततले देश चलाउनु पर्ने आवश्यता रहेको महतोको भनाई थियो ।
पत्रकारहरुको प्रश्नको जवाफ दिदैं नेता महतोले राजनितिक दलको लागि चुनाव पनि एउटा संघर्ष रहेको बताउदंै चुनावमा आफ्नो पार्टीको एजेण्डासँग मेल खाने पार्टीसँग मोर्चाबन्दी तथा सहकार्य हुन सक्ने बताए । तर जसपासँग एकताको सम्भावना आफुले नदेखेको उनले बताए । लोसपा पहिला देखि नै सघर्ष गर्दै आएको र आगामी दिनमा पनि संघर्ष गर्ने भए पनि अबको आन्दोलन र संघर्ष राजधानी केन्द्रित हुने नेता महतोले बताए ।
मधेशी जनतालाई दुःख दिएर अबको आन्दोलन नहुने तथा सिंहदरबार बाहिर आन्दोलन गरे राज्यले नसुन्ने गरेको परिपार्टी विकास भएको कारण अबको संघर्ष सिंहदरबार तथा राजधानी केन्द्रित हुने महताले बताए । प्रदेश २ को राजधानीको सम्बन्धमा गरिएको प्रश्नको जवाफमा वरिष्ठ नेता महतोले आफुलाई बीरगन्ज र जनकपुर दुवै प्यारो रहेको बताए ।
राजधानी तोक्ने काम विधान सभाको रहेको बताउदंै नेता महतोले अस्थायी राजधानी जनकपुर राख्नु गलत नभएको बताए । राजधानी विभिन्न आधारमा रहेर तोक्ने कुरा रहेको हुँदा बीरगन्ज अथवा जनकपुर वा अन्य कुनै ठाउँमा तोके पनि आफुलाई आपत्ति नहुने महतोले बताए ।
प्रदेश २ सरकार भ्रष्टचारमा फसेको बताउदैं उनले मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनमा दिएर अनुसन्धानलाई सहज बनाउनु पर्ने तर्क गरे । नैतिकता कसैले सिकाएर सिक्ने काम नरहेकाले के गर्दा राम्रो हुन्छ भन्ने कुरा आरोपी व्यक्ति आफुले नै सोच्नु पर्ने नेता महातोको भनाई थियो ।
लोसपा पर्सा संयोजक पुरुषोत्तम झाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेता लक्ष्मणलाल कर्ण, रमेश कुर्मी, प्रह्लाद गिरी, शिव पटेल, नेजामोदिन समानी, रामचन्द्र पंडित, प्रेमबाबु पटेल, राजेश साह, उमेश सहनी, मुकेश दुवेदी लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजिकरण पार्टीका बीरगन्ज महानगर संयोजक ओमप्रकाश सर्राफले गरेका थिए ।
तपाईको प्रतिक्रिया