काठमाडौं । भारतको मुम्बईमा बुधबार एकैदिन सात जनामा ओमिक्रोन संक्रमण फेला परेपछि २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । भारतमा अहिलेसम्म ७३ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । जसमध्ये महाराष्ट्रमा माात्रै ३२ जना छन्।
कोरोना भाइरसलाई फैलिनबाट रोक्न भन्दै फौजदारी कानुन ‘क्रिमिनल प्रोसिजर कोड’को खण्ड १४४ बमोजिम डिसेम्बर १६ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको मुम्बई प्रहरीले जनाएको हो ।
बिहीबारदेखि लागू हुने निषेधाज्ञाभर ठूला जमघट गर्न पाइने छैन भने सार्वजनिक भेटघाटमा ५ जनाभन्दा बढी मानिस सहभागी हुन बन्देज लगाइएको छ । त्यस्तै, कुनै पनि समारोह वा कार्यक्रम गर्दा कार्यक्रम स्थलको ५० प्रतिशत क्षमता अनुसार मानिसहरू सहभागी गराउनुपर्ने र आयोजकले पूर्ण कोरोना खोप लगाएको हुनुपर्ने छ ।
यसबाहेक, पसल, मल, समारोह वा जमघटमा सहभागी मानिसm सार्वजनिक सवारीमा यात्रा गर्ने मानिसले पूर्ण खोप लगाएको हुनुपर्ने छ । साथै, महाराष्ट्रमा आउने मानिसले समेत पूर्ण खोप लगाएको हुनुपर्ने र ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्ने छ ।
कोभिडसम्बन्धी नियम पालना नगर्नेलाई कडा कारबाही गरिने प्रहरीले बताएको छ । ‘मानिसले कोभिड(१९ का सम्बन्धमा उपयुक्त व्यवहार नगरेको खण्डमा कारबाही गर्ने छौं’, प्रहरी निरीक्षक नासिर कुलकर्नीले भने, ‘हामीले मानिसहरूलाई मास्क लगाउन भनेका छौं ।’
तपाईको प्रतिक्रिया