क.पुष्पलालको ४३ औंं स्मृति दिवस साउन ७ गतेको अबसरमा
–लोकनारायण सुवेदी
आधुनिक नेपाली राजनीतिक इतिहासका एक महान राष्ट्रिय ब्यक्तित्व, शोषित पीडत जनताका इतिहासकार, बिचारक, सिद्धान्तकार, योजनाकार र कार्यनीतिका प्रबक्ता कामरेड पुष्पलाल जो महान अमर शहीद गंंगालालका सहोदर भाइ पनि हुन्, अत्यन्तै उच्च बिचार र सादा जीवनका प्रतिमूर्ति थिए । उनको सबैभन्दा महत्वपूर्ण पक्ष नेपाली समाजको द्वन्द्वात्मक भौतिकबादी बैज्ञानिक दृष्टिकोणका आधारमा समाजको अध्ययन तथा बर्गीय शोषण र सामाजिक उत्पीडनबाट नेपाली समाजको मुक्ति नै थियो । पार्टी प्रशिक्षण दिदा उनले सदैब ‘जसले आफ्नो देशको इतिहास, सस्ँकृति, भूगोल र समाजका बारेमा यथेष्ठ अध्ययन गर्दैन त्यसले नेपाली समाजको आमूल र अग्रगामी परिवर्तका लागि कुनै सार्थक योगदान दिन सक्तैन’ भन्ने कुरा एकदमै प्रष्टसँग औल्याउँदथे र सबै परिवर्तनकामीहरुलाई कम्तिमा पनि नेपाल र बिश्वको इतिहास पढ्न सदैब प्रेरित र प्रोत्साहित गर्दथे । खासगरी पुष्पलालले अमेरिकी स्वतन्त्रता संग्रामको इतिहास, फ्रान्सेली क्रान्ति, बेलायतको औद्योगिक क्रान्ति, महान अक्टोबर समाजवादी क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम र चीनीया नयाँजनबादी क्रान्ति तथा बिश्वका चलिरहेका साम्राज्यावाद तथा उपनिवेशबाद बिरोधी आन्दोलनहरुको ज्ञान परिवर्तनकामी शक्तिहरुमा हुनै पर्दछ भन्ने कुरामा बिशेष जोड दिन्थे ।
आफु पनि नेपाल र बिश्व समाजको गम्भीर र गहन अध्ययन गर्ने र अरुलाई पनि त्यसो गर्न झकझक्याइरहने क. पुष्पालालमा कुनै दम्भ र तुजुकको गन्धसम्म पनि थिएन । तर जनतामाथि शोषण र अन्याय गर्ने शक्तिका बिरुद्ध निरन्तर संघर्षशील र कहिले नझुक्ने दृढता, परिवर्तनप्रतिको दृढ संकल्प, उच्च साहसले उनी ओतप्रोत थिए । उनको यो ब्यक्तित्वले गर्दा उनलाई भेट्ने नेता, कार्यकर्ता पृुष्पलालप्रति सम्मान र आदरको दृष्टिले हेर्दथे र प्रभावित हुन्थे ।
कमरेड पुष्पलालको जन्म १५ असार १९८१ सालमा त्यतिबेलाको पूर्व २ नम्बर रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो । उनकी माताको नाम तुलसी कुमारी र पिताको नाम भक्तलाल थियो । उनी माता पिताका माहिला छोरा थिए । उनका जेठा दाजु अमर शहीद गंगालाल र अरु तीन भाइहरु गौरीलाल, देबीलाल र बिजयलाल हुन् भने उनकी एक मात्र बहिनी पुष्पलता हुन् ।
पिता भक्तलालले पनि २००९ सालमा गठित अखिल नेपाल न्यून बैतनिक कर्मचारीहरुको हडतालको क्रममा एक्शन कमिटीको अध्यक्ष भएर आन्दोलन चलाएका थिए । दाजु गंगालाललाई त १९९७ सालमै क्रुर राणाशाहीको सत्ताले हत्या गरेको थियो र उनले उच्च शहादत प्राप्त गरेका थिए । उनलाई आफुलाई राणाहरुले मार्दैछन् भन्ने कुरा थाहा थियो । त्यसबेला उनलाई गोली हान्न शोभा भगवती लानु एक दिन अगाडि कमरेड पुष्पलाल दाजुलाई भद्रगोल जेलमा सपरिवार भेट्न गएका थिए । त्यतिबेला गंगालालले पुष्पलाललाई सम्झाउदै र उत्प्रेरित गर्दै भनेका थिए ः ‘हेर माहिला यो मैले प्रजातन्त्रको निमित्त बालेको दियोलाई तैंले प्रज्वलित गर्नेछस्, निभ्न दिने छैनस्’ । आफ्ना दाजुको यी उच्च राजनीतिक दृढताका अमर शब्दहरु नै कमरेड पुष्पलालका निमित्त राजनीतिमा प्रवेश गर्ने प्रेरणा पुञ्ज बने र पुष्पलालले त्यसै दिन दृढ अठोट गरे एकतन्त्री निरंकुश राणाशाही लगायत सम्पूर्ण तानाशाहीका बिरुद्ध आजीवन लड्ने !
१९९८ सालमा पुष्पलाल प्रेमबहादुर कंसारका, शम्भूराम श्रेष्ठ, सूर्य भारद्वाज र राजारामहरुसँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गर्न पुगे । त्यस संघमा रहेका सदस्यहरुले आ–आफ्नो रगतले प्रतिबद्धतापत्रमा सही गरेर लाग्नु पर्ने नियम थियो । संघले राणाशाहीको बिरोध गर्ने, बिद्यालयहरु खोली बिभिन्न खालका सीपमूलक तालिमहरु दिने गर्न थाल्यो । भारत प्रबासमा रहेका नेपालीहरुका बीच पनि राणाशाही बिरुद्ध कृयाकलाप बढाउन पुष्पलालले १९९७ सालदेखि नै बन्दी जीवन बिताइरहेका नेपाल प्रजापरिषदका नेताहरुसँग पनि गोप्यरुपले सम्पर्क राखेर टंकप्रसाद आचार्य लगायतका अरु नेताहरुसहितको फोटो सन् १९४२ मा भारत पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न पनि मद्दत गरे । २००४ सालमा नेपाली राष्ट्रिय काग्रेसले नागरिक अधिकारका लागि आन्दोलन गर्दा त्यसको नेतृत्व पुष्पलाल, शम्भूराम, स्नेहलता,साहना प्रधान आदिले गरेका थिए । जनताद्वारा गरिएको यही पहिलो राजनीतिक जन आन्दोलनका कारण तत्कालीन राणा प्रधानमन्त्री पद्म समशेर राजनीतिक सुरधारका बिभिन्न कदमहरु चाल्ने घोषणा गर्न बाध्य भएका थिए ।
त्यसपछि नेपाली काग्रेसका नेताहरु परस्पर झगडामा लाग्ने र सामन्त बर्गसँग सम्झौता गरेर शासन सत्ता हत्याउनमा मात्र सीमित रहने जस्तो स्थिति पूर्बबोध गरेर पुष्पलालले माक्र्सवादको अध्ययन गर्दै नेपाली जनताले अब छुट्टै बाटो अर्थात् — नयाँ जनवाद, बैज्ञानिक समाजवाद र साम्यवादको बाटो लिनुपर्ने निष्कर्शमा पुगी नेपाली राष्ट्रिय काग्रेसको केन्द्रिय कार्यालय सचिवबाट राजीनामा गरेर कम्युनिष्ट पार्टीको गठन गर्ने बाटोमा अग्रसर भएका थिए । उनले त्यसै क्रममा बिश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्रको नेपालीमा अनुबाद गरे । यही नै नेपालमा पहिलो लिखित कम्युनिष्ट दस्तावेज र साहित्य पनि हुनपुग्यो । त्यसको भूमिकामा कमरेड पुष्पलालले नेपाली समाजको जुन बर्ग बिश्लेषण गरेका छन् त्यसले गर्दा पनि त्यो दस्तावेज अझ महत्वपूर्ण ठहरिन गयो । यसरी कम्युनिष्ट पार्टी गठनको गृह कार्य गर्दै गएर पुष्पलालसहीत पाँच जना मिलेर नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न अपिल गर्दै २००६ साल बैशाखको दोश्रो सातामा एउटा अपिल पत्र जारी गरे । त्यस अपिलको धेयलाई कार्यरुपमा परिणत गर्न नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र, बिधान र केन्द्रिय संगठन समितिको निर्माणकासाथ बिधिवत १५ सेप्टेम्बरका दिन नेपाल कम्युनिष्ट पार्टी स्थापनाको बिधिबत घोषण गरियो । २००८ सालमा सम्पन्न पार्टीको पथ्रम सम्मेलनले त्यसै दिनलाई पार्टीको जन्म दिन र नयाँ जनबादलाई नेपाली क्रान्तिको कार्यक्रम भन्ने महत्वपूर्ण लियो ।
पार्टीको बिधिबत गठन र घोषणा पछि कम्युनिष्ट पार्टी राणाशाहीको बिरुद्ध संघर्षमा होमियो । संघर्षको क्रममा अनुभवहरु सँगाल्दै पार्टीका मजदुर, किसान, महिला, यूवा–बिद्यार्थी जस्ता जन बर्गीय संगठनका साथै प्रगतिशील लेखक संघ समेत क्रमशः निर्माण गरेर सामन्तबाद साम्राज्यवाद बिरोधी संघर्षलाई ब्यापक तुल्याउने र मूख्य गरेर किसान आन्दोलन उठाउने दिशा पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टीले लियो । सामन्तबादसँग साँठगाँठ गर्ने र राणाशाही बिरोधी आन्दोलन सम्पूर्ण सामन्तबादकै उच्छेद गर्ने किसिमले ०७ सालको आन्दोल फैलिन थालेपछि भारतको दिल्लीमा नेहरुको मध्यस्थतामा राणा, राजा र काग्रेसले क्रान्तिलाई अपूरो र अधुरो छोड्ने र आन्दोलन टुंग्याउन कुरामा सहमति गरी सम्झौता गरियो । त्यसको बिरोध गर्दा २००८ सालमा तत्कालीन मातृका सरकारले नेपाल कम्युनिष्ट पार्टी माथि नै प्रतिबन्ध लगायो । त्यसपछि पार्टीलाई किसान आन्दोलनमार्फत सुरक्षित र सकृय राख्दै देशमा खाशगरी काठमाण्डौ उपत्यका, बारा, पर्सा, रौतहट, सप्तरी, सिरहा,झापा र पश्चिममा पाल्पा रुपन्देही (त्यत्तिबेला पाल्ही माझखण्ड भनिन्थ्यो) र सुदुर पश्चिममा समेत भीमदत्त पन्तको पहलमामा किसान आन्दोलन नेकपाको नेतृत्वमा चल्यो ।
यसै क्रममा कमरेड पुष्पलाल अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा भागलिन २०१६ सालमा सोभियत रुसमा पनि गएका थिए । उनले खु्रश्चेभको नीतिको बिरुद्ध स्तालिनको पक्षमा आफ्नो प्रष्ट अडान राखेका थिए । त्यही साल उनी मनमोहन अधिकारी, शम्भूराम श्रेष्ठ लगायतको टोलीसँग चीन भ्रमणमा पनि गए र त्यहाँ चीनीयाँ कम्युनिष्ट पार्टीका नेतृत्वसँग बिचारको आदानप्रदान गरेका थिए ।
२०१७ सालमा राजा महेन्द्रले सैनिक कु गरेर ०७ सालमा नेपाली जन आन्दोलनले प्राप्त गरेको सीमित प्रजातन्त्रलाई पनि समाप्त पारे पछि त्यस्तो कुनै प्रतिगामी कदम राजाले उठाउन सक्ने र त्यसका बिरुद्ध बाम तथा लोकतानित्रक शक्तिश सचेत हुनुपर्ने कुरा बारम्बार उठाउदै आएका कमरेड पुष्पलालले आपसी सैद्धान्तिक मतभेदका बाबजुद राजाको प्रतिगामी कदमका बिरुद्ध काग्रेस र कम्युनिष्ट एक भएर संघर्षको मैदानमा उत्रिनु पर्ने संयुक्त आन्दोलनको जोडदार आह्वान गरे । तर काग्रेसलाई त्यो कुरा मान्य भएन ।
कमरेड पुष्पलाल सिद्धान्तनिष्ठ, दूरदृष्टि एवं उच्च राजनीतिक नैतिकता भएका प्रभावशाली नेता र क्रान्तिकारी योद्धा थिए । उनले जसका बिरुद्ध नेपाली जनतालड्नु पर्ने हो त्यस शक्तिसँग कस्तै कठिन परिस्थितिमा पनि कुनै प्रकारको सम्झौता कदापि गरेनन् । संयुक्त जन आन्दोलनका प्रतिपादक, नयाँ जनवादी कार्यक्रमका नेपालका प्रबक्ता र प्रयोक्ता पुष्पलालको २०३५ साल साउन ७ गते दिल्लीको बल्लभ भाइ पन्त अस्पतालमा असामयिक निधन भयो । वास्तवमा कमरेड पुष्पलाले २०२५ सालमा पार्टीको तेश्रो ऐतिहासिक सम्मेलन गरी नयाँ जनबादी कार्यक्रममलाई साङ्गोपाङ्गोरुपमा अघि सारे पछि नेपाली जनताको संयुक्त आन्दोलन, बापन्थी एकता, संयुक्त मोर्चा जस्ता महत्वपूर्ण कार्यनीति अघि सार्दै कम्युनिष्ट आन्दोनलमा अझ सक्रिय भएको देखिन्छ । त्यस क्रममा उनले पार्टीको चतुर्थ सम्मेलन गर्ने र पार्टीको कार्यपद्धतिलाई बिकसित गर्ने, नोपली साहित्य र सँस्कृतिको ब्यापाक बिश्लेषण गरेर नयाँ जनबादी सँस्कृति जस्तो साँस्कृतिक फाँटको ऐतिहासिक दस्ताबेज अघि सार्ने, माक्र्सबादी बुद्धिजीबीहरुको सम्मेलन गरेर घोषणापत्र प्रकाशनमा ल्याउने, अनि देशको किसानहरुको दोश्रो राष्ट्रिय सम्मेलन (२०३२ साल)मा सम्पन्न गरेर ब्यापक किसान आन्दोलन उठाउने अग्रसरता लिदै आफु थाला पर्ने गरी बिमारी नहुँदासम्म अर्थात् २०३५ साल जेष्ठ १५ गतेसम्म उहाँ पार्टी प्रशिक्षण, कार्यकर्ता भेला र राजनीतिक प्रशिक्षणमा सक्रिय रहुनु भएको थियो । यसरी निरन्तर सक्रिय हुँदाहुदै त्यसै बर्ष अर्थात २०३५ साल साउन ७ गते उहाँको देहाबसान भयो । त्यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई अत्यन्तै ठूलो अपुरणीय क्षति भयो । जसको सही मार्गदर्शनको अभाव आज पनि खट्किरहेको छ । आज पुष्पलाललाई भजाउने कम्युनिष्टहरु त धेरै छन् । तर उनको बाटोमा अग्रसर हुने क्रान्तिकारी निष्ठा, कत्र्तब्यबोध र समर्पणको ठूलो खाँचो छ । आजका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरुले यो राष्ट्रिय खाँचोलाई पूरा गर्दै नेपाली जनता र राष्ट्रको हितमा राष्ट्रिय स्वाधीनता,जनतान्त्रिक स्वतन्त्रता र जनजीबिकाका आधारभूत मुद्दामा अग्रसर हुन आवश्यक छ । नयाँ जनबादी क्रान्तिको मूल ऐतिहासिक कार्यभार यही हो र नेपाली समाजबाट सबै किसिमका बर्गीय शोषण र सामाजिक उत्पीडनको अन्त्य गर्ने मूलबाटो नै यही हो ।
तपाईको प्रतिक्रिया