-जय प्रकाश बगाले
दक्षिण अफ्रिकामा जब रंगभेद नीति विरुद्ध आन्दोलन चलिरहेको थियो, त्यस बेला सन १९६५ मा आन्दोलनको क्रममा भेला भएका ६९ जना कालाहरुलाई हत्या गरिएको थियो, त्यस घटनापछि संयुक्त राष्ट्रसंघले सबै प्रकारका जातिय बिभेद उन्मुलन गर्ने घोषणा गर्यो । नेपाल संयुक्त राष्ट्रसंघको उक्त घोषणा मान्ने एक सदस्य राष्ट्र हो । नेपालको संबिधानले समेत सबै प्रकारका जातिय बिभेद उन्मुलन गर्दै जातीय विभेद दण्डनीय हुने उल्लेख गरेको छ ।
यस श्रृष्टिमा मानवजातिको जम्मा २ वटा प्रजाति छन ; महिला र पुरुष । यो बाहेक प्रकृतिले कुनै पनि प्रकारको जातको कल्पना गरेको पाइदैन । मानब सभ्यताको विकासक्रमलाई अध्ययन गरी हेर्दा कहि कतै जातीय बिभाजन देखिदैन । तथापि आजका २१ औ शताब्दीका बिकसित मानवजातिले जातिय, क्षेत्रिय, लैङ्गिक साथै बर्षको आधारमा मानिसहरूमाथि गर्दै आइरहेको छ । विभेदले मानवजातिको नाङ्गो चरित्र छताछुल्ल पारेको मात्रै छैन, यो सँगै प्राचिनकालअघिदेखि चल्दै आएको सनातन धर्ममाथि पनि ठुलो आघात पुर्याएको छ ।
समाजभित्र धेरै संरचनागत तह छन् । तपाईं हामी आफूलाई प्रगतिशील र जागरुक छौँ भनेर सामाजिक सञ्जालमा चर्का कुरा लेखिरहँदा हामी आफैले कुनै न कुनै रुपमा बाहुनवादको अवशेष बोकेका छौँ कि? एकपल्ट आफैलाई चिमोट्ने बेला आएको छ।
मैले यहाँ समाजका विभिन्न व्यक्तिहरुको सोच, देखेको र भोगेको आधारमा प्रस्तुत गर्ने प्रयास गरेको छु। यदि यो कुनै व्यक्तित्व तपाईंसंग मिल्छ भने तपाई आफूबाटै परिवर्तनको आवश्यकता रहेको महसुस गर्नुहोस् ।
रुकुमलाई जातीय छुवाछुत मुक्त घोषणा गरेको धेरै भैसक्यो। तर रुकुममा घटेको बर्बर घटनापछि सामाजिक सञ्जाल तातिएको छ। सामाजिक सञ्जालमा बाहुनलाई गरिने गाली र त्यसमा दलित र गैरदलितको कमेन्ट देख्दा लाग्छ यो जातीय खाडल झन-झन बढिरहेको छ।
हिजो कामको आधारमा गरिएको विभाजनलाई सामाजिक स्तरको मान्यता दिने हाम्रै समाज हो। आजको समयमा आइपुग्दा, हरेक जातभित्र पनि जात छ। उपाध्याय बाहुनले जैसी बाहुनले छोएको नखाने। जैसी बाहुनले क्षेत्रीले छोएको नखाने। क्षेत्रीले नेवारले छोएको नखाने। नेवारभित्र आफ्नै जातीयताको आफ्नै सञ्जाल छ। कामी, दमाई र सार्कीको बीचमा पनि एकआपसमा छुवाछुत नगर्ने, छोएको नखाने चलन छ। हरेक जातका मानिस ब्राह्मणवादको सिकार छन्। तर त्यसलाई कतै न कतै सबैले आफ्नो स्वतन्त्रतासंग जोडेर यसलाई बचाई राख्न खोजिरहेको देखिन्छ। जन्मेपछि मानवले स्वतन्त्रताको अधिकार पाउनु आवश्यक पनि छ ।
‘जातीयताको सूत्रधार बाहुनहरु हुन्’ भनेर गाली गरेर मात्रै समाज सुध्रिदैन । इतिहासलाई गाली गरेर र आज आफ्नो थरको पछाडी कामी राखेर समाज सुध्रिने भए समाज परिवर्तन गर्न गाह्रो थिएन। कोही पनि जन्मिँदा जातीय विभेद सिकेर आउँदैन। एउटा जातको व्यक्तिले अर्को जातको व्यक्तिप्रति घृणा लिएर जन्मिएको हुँदैन। हामी हुर्किएको समाजले समयसंगै उच्च, कम उच्च र तल्लो जात भनेर सिकाएको छ। यो विभेदको अन्त्य हाम्रो मानसिकतामा हुने परिवर्तन पछि मात्रै सम्भव छ।
हाम्रो समाज ढोंगी छ। मानिसले मानिसलाई आफ्नो दर्जाको सम्झिन्न सक्दैन। जातीय विभेद संस्थागत रुपमा जगडिएको छ। मान्छेको मूल्य मान्यता प्राणभन्दा प्यारो हुन्छ। नियम कानुन बनाएर मात्रै सामाजिक मूल्य मान्यता बदल्न सकिँदैन । कानुन यो समस्या समाधानका लागि एउटा हतियार हो, तर पूर्ण समाधान होइन।
हाम्रो इतिहास, सामाजिक मान्यता र धर्मको आडमा मानव-मानव बीच ठूलो खाडल बनेको हो। समयको माग अनुसार राम्रा कुरालाई जोगाएर भेदभावपूर्ण कुराहरु हटाउँदै र धार्मिक पुस्तकहरु पनि पुनर्लिखित गर्दै जानुपर्छ। अहिलेको संविधानमा उल्लेख भएको समानता र समावेशिताको विपरित उल्लेखित सबै धार्मिक पुस्तकहरुमाथि पनि प्रश्न उठाउन सक्नु पर्छ ।
‘रुल अफ ल’को कुरा गर्ने तर सामाजिक कुरीतिलाई आकार दिने धर्म संस्कृतिलाई पनि प्रश्न गर्न सकिएन भने त्यो कानुनले समाजलाई लगाम लगाउन सक्दैन। त्यस्तै प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक सविधानको धारा १६, धारा २४ , धारा ४० हरु ‘देखाउने दाँत’मात्रै नबनोस्।
आफूलाई पर्दा बोल्ने नत्र आफ्नो मुद्दा हैन भनेर अन्यायमा मौनता साध्नु पनि आफैमा हिंसा हो । हरेक जातभित्र पनि जात रहेको छ। अर्थात् हरेक जातलाई ब्राह्मणवादले गाँजेको छ। यस्तो अवस्थामा हरेकले आफूभित्रको ब्राह्मणवादको अवशेषलाई पहिचान गर्नु जरुरी छ। सबैभन्दा पहिले यो हिंसाविरुद्ध आफूले आफूलाई खबरदारी गर्न जरुरी छ । नत्र यी हिंसाका कुराहरु समाजमा बहसको विषय त बन्ला तर त्योभन्दा माथि उठ्दैन । जातीय विभेद अन्त्य र मानव अधिकारको स्थापना गैरसरकारी संस्थाको डलरको खेती मात्रै बनिरहने छ। राजनीतिज्ञको बजेट सक्ने र नारा बनाएर चुनाव जित्ने हतियार मात्रै बनिरहने छ।
दलितको छोरीसंग सम्भोग चल्ने तर पानी नचल्ने हाम्रो समाजमा, दलितका छोरीहरु गैरदलितबाट बलात्कृत भइरहने छन्। रुकुममा नवराज जस्ता कयौँ युवाहरुको आत्मा भेरी नदीको जातीय भड्खालोमा भड्किरहने छ। केही समय सामाजिक सञ्जालमा चर्चा हुनेछ र विस्तारै फेरि घटना घट्ने छ , भेरीको वहाव जस्तै…. ।
तपाईको प्रतिक्रिया