सोचि रहेकी थिए, नारीहरुको विषयमा केही लेख्छु । जब लेख्न बसे, लेख्न कता कता असहज भए जस्तो आभास भयो । कसरी व्यक्त गरुँ छिन्न भिन्न भएका नारीका कथा व्यथाहरु, कहाँबाट सुरु गरु म भनेर । एकछिन सोचमा डुबेर सोचे अनि कतिपय कुराहरु आफैंले भोगेका, समाजमा देखेका, सुनेका, घटेका दर्दनाक पीडाहरु बटुल्दै शारीरिक, मानसिक, आर्थिक, धार्मिक, सामाजिक असमानता, दमन, शोषण, विभेद, हत्याहिंसा, बलात्कार र चुनौतीहरुको सामना सँगै बाँच्न विवश नारीहरुका चीत्कार ।
नारी माथी अन्याय अत्याचार, हत्याको सुरुवात त्यो दिन देखि सुरु हुन्छ, जब आमाको गर्भमा आउछिन । उसले जन्मिन, धर्तीमा पाइला राख्न पाउँछिन कि पाउँदिनिन यो मुख्य विषय हो । एउटी आमाले उसलाई संसार देखाउन चाहे पनि त्यहाँ उसको बुवाले उसको घरपरिवारले रोकेको हुन्छ । मानसिक यातना दिएका हुन्छन् कि पेटमै हत्या गर्न । एउटी नारीलाई आफ्नो बच्चा जन्माउन समेत अधिकार कस्तो विडम्बना हामी छोरी मान्छेहरू जन्मिन नपाउँदै गर्भास्थामै पर्ने पहिलो चुनौती पहिलो चीत्कार ।
कस्तो दरिद्र मानसिकता बोकेको समाज . कस्ले बुझी दिने छोरी हुनुको पिडा आमाको गर्भ देखि छोरी भएकै कारण यो धर्तीमा पाउँदैन । जन्मिने सौभाग्य पाए पनि सुरु हुन्छन् ,उसका दुखका कथाहरु । नारीलाई हेर्ने, सोच्ने सामाजिक, धार्मिक दृष्टिकोण र गरिने विभेदको शिकार बन्न पुग्छे । केही दिन पहिले युटुब भिडियोमा एघार वर्षीय करुणा राईको बलात्कार पछिको हत्याको विषय हेर्दै थिए ।
त्यस घट्नाको परिवेश र घट्नाका कुरा सुन्दा आङ नै सिरिङ्ग भयो । विचरा त्यो कलिलो उमेरको नाबालिकाको हत्याले विचलित तुल्यायो । यो भन्दा अगाडी कैयौं भागिरथी भट्टहरु, कैयौं निर्मला पन्तहरुको बलात्कार हत्या देखिएका, सुनिएका, मिडियामा आएका घट्नाका उदाहरण मात्रै हुन । खोक्रो समाजको इज्जतको लागी फकाइ फुलाइ, धम्काइले लुकाएका, नदेखिएका, दबाएका, किल्चिएका कयौं घट्नाहरु त घाममा शीत विलाए झै विलाएका छन\ ।
नारीहरु शिकार बाट लखेटिदा लखेटिदा सोचको पल्लो सिमान्त डिलमा पुग्दा कयौं नारीहरु एक्लै विद्यालय जाँदा अन्जान मस्तिष्कहरुमा सिर्जना अनि ज्ञान भर्ने, अचेतनाको कालो अन्धकारलाई चिर्ने, भविष्यका फाँट सुन्दर र सुरक्षीत बनाइ शिक्षाको ज्योति छर्ने आफ्नै गुरु सँग डराउछन । एक्लै कार्यालय छिर्दा आफ्नै हाकिम सँग डराउछन\ । एक्लै मन्दिर पुग्दा मन्दिरका पुजारी सँग डराउछन\ ।
यति मात्रै होइन, आफ्नै पार्टीको कार्यालयमा जाँदा देश, जनता र समाज परिवर्तनको लागी हिडेका ती आफ्नै नेता कमरेड सँग पनि डराउछन । पैदल होस या सवारी यात्रा होस पुरुष यात्री सँग डराउछन\ । साहुजी सँग, चौकीदार सँग, घरबेटी बा सँग, बाटोघाटो, घुम्टी मोडहरुमा भेटीने यो त्यो सबै पुरुष सँग डराउछन\ । जुन दिन आमाको गर्भमा हत्या गर्ने प्रयास गरिन्छ । हो, त्यो दिन देखि उनीहरू डराउछन\ ।
पहिलो रजस्वला सँगै घर भित्रको पिंण्जडामा सुगासरी कैद हुन्छीन । हो, त्यो दिन देखि डराउछन । पुरुष घरको शिकारले अघाएर लिङ्गलाई हतियार बनाएर बाहिर शिकारको खोजीमा महिलाहरूलाई शिकार र योनीलाई शिकारको आँखा बनाएर निस्कन्छन् हो, त्यो दिन देखि ती शिकारीका जस्ता आँखा भएका हरेक पुरुषहरू सँग नारीहरु डराउछन\ । नारीहरुले आफ्नै अंग, एक थान स्तन र योनीमा मृत्यु बोकेर हिड्नु पर्ने कस्तो विडम्बना एकान्तमा बसेर चिउडोलाई हातले आड दिएर सोच्छु । कहिलेकाही मलाई लाग्छ, पुरुष भनेको प्रकृतिको एक अनिवार्य अत्याचार हो । पुरुषहरूको आँखामा मन हुन्छ, हृदयमा होइन\ । दिन प्रती दिन नारी माथी गरिने बलात्कार, हत्याहिंसा दुव्र्यवहार र एसिड आक्रमणको शृङ्खला
कहिले अन्त्य होला नारीका चीत्कार कस्ले सुन्ला हाम्रो समाजका नारीहरुले आफूलाई शारीरिक, मानसिक, धार्मिक, आर्थिक, मनोबैज्ञानिक हरेक रुपले कहिले सुरक्षीत महसुस गर्लान् . दाइजो नल्याएको निहुमा जिउँदै नारीहरुलाई कहिलेसम्म जलाएर मार्लान रु कस्तो विचित्रको समाज हुन त कतिपय मानुभावहरुलाई लागेको होला यी कुराहरू त लैंगिक समानताका वहस हुन् । महिलाले धेरै अधिकार र समानता पाएकै छन् । देशकै उच्च पद राष्ट्रपति महिला नै छ । प्रत्येक संवैधानिक अंगहरु देखि लिएर हरेक निकाय, संघ संगठन सबै ठाउँमा तेत्तीस प्रतिशत पुर्याइएकै छ । महिलाहरूलाई अधिकार धेरै भयो । महिलाहरूलाई जति अधिकार दिए पनि हुदैन भन्ने मानसिकता बोकेका महासयहरुलाई प्रश्न माथी प्रश्न गर्न चाहे। के महिलाहरुलाई दिएको हरेक अधिकार ब्यवहारमा लागू भएको छ. तपाईहरुले महिलालाई मनोरञ्जनको साधनको रुपमा हेर्ने दृष्टिकोण र दानविय ब्यवहारमा परिवर्तन ल्याउनु भएको छ . वर्षौंदेखि जरा गाडेर बसेको पितृसत्तात्मक सोच बदलिएको छ र के महिलाहरुले केही पनि गर्न सक्दैन भन्ने नकारात्मक सोच र पुरुषवादी मानसिकतामा परिवर्तन भएको छैन ।
बाहिर भासण र बोलीमा नारीलाई सम्मान गर्नु हुन्छ के त्यति नै घरमा व्यवहारीक रूपमा लागू गर्नु भएको छ . मलाई लाग्दैन गर्नु भएको छ भनेर । किनकि हाम्रो समाजका अग्रज नेता, बुद्धिजीवी शिक्षित ब्याक्ति र ठुलाबडा भनाँदा ब्याक्तिहरुले झन आफ्नै घर भित्रका नारीहरु माथी शोषण, दमन, अन्याय अत्याचार गरेको पाइन्छ । इज्जतको लागी ती महिलाहरूले हरेक किसिमको दमन शोषण सहेर बस्न बाध्य छन । हाम्रो सोच घर भित्रैबाट परिवर्तन हुनु जरुरी छ । यदी पुरुषहरूले नारीहरुलाई घर भित्र गरिने ब्यवहार र हेर्ने दृष्टिकोण परिवर्तन गरेर सहयोगी र दुख बुझ्ने भए तमाम महिलाहरूको पिडा बुझ्न सक्छन् ।
महिलाहरुलाई देखावटी रूपमा देशको ठूलो पदमा राखेर अरु केवल तेत्तीस प्रतिशत पुर्याउनका लागि मात्र अधिकार दिएर केहि हुनेवाला छैन . महिलाहरूको विषयमा यति लेख्दा बोल्दा मान्छेहरुको मनमा धेरै प्रश्नहरू उठ्न सक्छन् । के सबै पुरुषहरुले महिलाहरूलाई हेर्न दृष्टिकोण र दानविय ब्यवहार एउटै छ . हरेक पुरुष पितृसत्तात्मक सोचका छन् त प्रत्येक पुरुषले बाहिर बोली र भासणमा मात्र नारीलाई सम्मान गर्ने गरेका छन् अंह पक्कै होइन । पितृसत्तात्मक सोच र नारीलाई मनोरञ्जनको साधनको रूपमा हेर्ने कुदृष्टि जबसम्म हामी पुरुषमा रहन्छ, तबसम्म नारीहरु पुरुषका शिकार बनि रहन्छन\ . यस्तो गर्नु हुन्न भन्ने पुरुषहरू पनि छन् । जसले ब्यवहारीक रूपमा महिलाहरूलाई सम्मान गर्नु हुन्छ र नारीका हक अधिकारका निम्ति विभिन्न माध्यम बाट आवाज उठाउने पनि गर्नु हुन्छ ।
त्यस्ता महान पुरुषहरू समाज परिवर्तनका सम्बाहक पनि हुन् । सबैलाई थाहा भएको कुरो हो, समाजमा सबै महिलाहरू ठिक र सबै पुरुषहरु बेठीक अनि सबै पुरुष सहि र सबै नारीहरु गलत हुदैनन् । हामीले समाजमा यो पनि देखेकाछौं । महिला र पुरुष बीचको असमानता, विभेद, दमन, शोषण, अन्याय अत्याचार स्वयं नारीहरुले पनि उत्तिकै गरेको पाइन्छ । कतै बुहारीले सासुलाई अनि सासुले बुहारीलाई । त्यस्तै एउटी नारीले अर्को नारीलाई हेप्ने, दुख दिने , अन्याय अत्याचार गर्ने, दाइजोको नाममा जलाउने, बोक्सीको आरोप लगाउने, पुरुषहरुलाई कुरा लगाएर उचाल्नी काम पनि नारीहरुबाटै भैरहेको पाइन्छ । हामी नारीहरुले नै यस्तो अपराध र ब्यवहार देखाउने अनि धर्म र परम्पराको नाउँमा अनेक किसिमका रुढीबादी परम्परा आँखा चिम्लेर पालना गर्ने । अर्को तर्फ आधुनिकताको नाममा पश्चिम् संस्कृति र विकृतिहरुलाई अंगाल्ने गर्यौं भने समाज कसरी परिवर्तन हुन्छ . यो सोचनीय विषय हो ।
समग्र रूपमा हेर्दा समाजमा जतिसुकै परिवर्तन भए पनि नारीहरु नै अन्याय, अत्याचार, दमन, शोषण, विभेद, हत्याहिंसा, बलात्कार जस्ता जघन्य अपराधको शिकार बन्न पुगेको तितो सत्यलाई नकार्न मिल्दैन। यदि लिङ्गलाई हतियार बनाएर निस्केका पुरुषहरुले हरेक नारीहरुलाई जुन दिन देखि आफूलाई जन्माएको आफ्नै आमा जस्तो, आफैंले जन्माएको आफ्नै छोरी जस्तो, आफ्नै दिदीबहिनी, चेलीबेटी जस्तो उस्तै उनीहरू पनि कसैको आमा, कसैको श्रीमती, कसैको छोरी, चेलीबेटी, दिदीबहिनी , बुहारी, नन्द, भाउजू हो भनेर हरेक नारीलाई हेर्ने कुदृष्टि र दानविय ब्यवहार परिवर्तन गरेर नारीलाई इज्जत अनि सम्मान गर्न थाल्छन् । त्यो दिन देखि नारीका चित्कारहरुको अन्त्य हुनेछ ।
त्यसपछि पुरुषहरू सँग डराउने छैनन् उनीहरू अनि रुदा रुदै हास्न थाल्छन् , उमंगहरुले छाउछन । फेरि पनि नारीहरुले भुल्ने छैनन्, उमंगहरु छाउनु अघि उनीहरूले बेहोरेका चुनौतीका व्यावधानहरु, संघर्षहरु । नारीहरुले जन्मिने सौभाग्य पाएपछि पहिलो रजस्वला सँगै कैद हुँदा निस्सासिएका उकुसमुकुसहरु जीवन जिउने क्रममा भोगेका कष्टकर भोगाइहरु, आलोचनाहरु नारीका चित्कारलाई षड्यन्त्र गरि तिरस्करका पहाड बनेर आउने जितकारहरुको त्यो चक्रब्यूहको परिवन्धनमा पनि आफैंलाई
सम्हालेर साहासका साथ संघर्ष गरेका गाथाहरु त्याग, दृढ़ संकल्प र कहरहरु सँगै जंगल, गोरेटो, गाउँबस्ती, शहर, सडक, विद्यालय, कार्यालय, फुटपाथ र गल्ली गल्लीमा हन्डर र ठक्कर खादै, शिकारीको पन्जाबाट बाच्दै, रुदै(भाग्दै, भाग्दै(रुदै, लुक्दै(देखिदै , देखिदै(लुक्दै, लखेटिदै, दपेटिदै, निचोरिदै, चिथोरिदै, किल्चिदै, पिल्सिदै यस्तै यस्तै अकल्पनीय पिडाहरु । यिनै चित्कारहरु अनि चुनौतीपूर्ण बाधाहरुलाई छिचोलेर कसरी धर्तीले झै सरा बोझ सहेर पनि अन्त्यमा विचित्रको समाजमा चित्र कोरेर उमंगका साथ खुशी भएर बाँच्छन नारीहरु ।
हिमानी थापा मगर
तपाईको प्रतिक्रिया