— लोकनारायण सुवेदी
आजको दुनियाँमा भौतिक उपलब्धीहरुको कुरा गर्ने हो भने त्यो निश्चय नै धेरै बढेको छ । बिज्ञान र प्रबिधिको बिकास अद्वितीय र अकल्पनीय नै छ । तर मानसिक आन्तरिक शान्ति र स्वास्थ्यको दृष्टिले हेर्ने हो भने यो प्रगति अझै पनि कुइरीमण्डलमा नै हराएको जस्तो देखिन्छ । त्यसले गर्दा यत्रो सारा उपलब्धी भइसक्दा पनि मानब समाज असमञ्जसमा नै परिरहेको छ । आखिर मानिस के हो भन्ने प्रश्नको उसले अझै पनि सही उत्तर पाउन सकिरहेको छैन । यो यथार्थ हो ।
अबश्य नै मानिस बिकासको शीखरमा बसिरहेको छ र उसले आज आफ्नो सभ्यताका उपलब्धीहरुको गणना गरिरहेको छ । समाज कहाँबाट काहाँ आइपुग्यो तुलना गरेर हेरिरहेको छ । प्रसन्नता र गर्बको कुरा पनि छ यो । तर यो आजको मानब सभ्यताले बिभिन्न किसिमको त्रासदी र कठिनाईहरु पनि लिएर आएको कुरालाई बिल्कुलै नकार्न सकिन्न । आजको बिशाल भौतिक उपलब्धीहरुको शीखरमा पुगेर पनि मानिस कतै हराएको जस्तो कतै अलपत्र परेजस्तो र अपूर्णताको अनुभव गरिरहेको जस्तो किसिमले भौतारिइरहको प्रतीत हुन्छ । आखिर यस्तो किन भइरहेको छ यो अत्यन्तै बिचारणीय र गम्भीर प्रश्न छ । हुन पनि मानिसकै अस्तित्वलाई लिएर आज सबैभन्दा ठूलो चिन्ता उत्पन्न भइरहेको छ ।
हो, आजको भौतिकबादी बिकासको चरम उत्कर्षमा समेत मानिस सन्तुष्ट छैन, गरीबी छ, अभाव छ,, असमानता छ, अशिक्षा छ, शस्त्रास्त्रको होडबाजीछ, युद्ध छ, युद्धजन्य परिस्थिति छ, सीमित सानो बर्गले श्रोत साधन सबै कुम्ल्याएको या एकाधिकार जमाइरहेको स्थिति छ । यसले गर्दा मानिस प्रगति गर्दै छ कि पिछडिदै गएको छ आज वास्तवमा अत्यन्तै गम्भीरतम् यक्ष प्रश्न खडा भइसकेको या भइरहेको छ । यसको उत्तर खोज्न पनि कठिन भइरहेको छ । वास्तवमा यो प्रगति, उन्नति र उपलब्धीसँग अधिकांश मानिसहरुको सम्वन्ध, स्वामित्व र अपनत्व किन बन्न सकिरहेको छैन ? किन बिश्वमा ८० प्रशित मानिसहरुले आज पनि बिश्वको २० प्रतिशत मात्र श्रोत साधनहरुमाथि निर्भर रहन बिवश हुनु परिरहेको छ ? किन २० प्रतिशत मानिसहरुले ८० प्रतिशतभन्दा बढी श्रोत साधनमाथि कब्जा जमाएर हिहिडरहेका छन् र त्यसलाई कायम राख्न र त्यो सीमालाई अझ बिस्तार गर्न हरेक किसिमले उद्यत भइरहेका छन् ? किन मानिसहरु प्रकृतिका अधिशासित नियमहरुको उल्लंघन गरेर प्रकृति–अमैत्री किसिमले चल्दै आएका र अझ तीब्र किसिमले यस दिशामा चल्न अग्रसर छन् ? किन प्रकृति केन्द्रित अर्थात् यसको संरक्षण, सम्वद्र्धन र कुशल ब्यवस्थापन गरेर आफ्नो जीवनलाई सुन्दर, सुरक्षित र दीर्घगामी बनाउनको सट्टा ब्यक्ति केन्द्रित र तत्कालीन नाफा केन्द्रित भएर चलिरहेका या भस्मासुर किसिमले चल्न उद्यत भइरहेका छन् ?
यस्ता अनगिन्ती प्रश्नहरुका बीचमा निश्चय नै आज समाज कम्तिमा प्रष्टरुपमा दुइ चीरामा नराम्रोसँग बिभाजित छ । सानो मुठ्ठीभर हुने खाने अभिजात बर्ग र हुदा खान बिवश अत्यधिक ठूलो शोषित पीडित बर्ग । अनि यसरी परस्पर बिरोधी दुइ बिचार, दुइ बिश्व दृष्टिकोण, दुइ बर्ग जबर्जस्तरुपमा सिर्जना गरेर परस्परमा लड्नै पर्ने पद्धतिको खडा गरेको छ । यसरी बिश्व मानब समाज आज हजारौ बर्षदेखि परस्परमा बिभक्त भएर आइरहेको यथार्थ सत्य कुरा हो र परस्परमा अन्तरबिरोध पैदा गरको पनि बस्तुगत यथार्थ हो । यसको सही किसिमले निराकरण नभएसम्म यो क्रम एक वा अर्कोरुपमा जारी रहने कुरा पनि निश्चितै छ।
एकातिर बर्ग बिभाजित एउटा परस्पर हित बिपरीत श्रेणीबद्ध समाज छ भने अर्कोतिर जाति, क्षेत्र, लिंग, धर्म–सँस्कृति, पूर्व–पश्चिम आदि अनेक किसिमले मानब समाज आपसमा बिभक्त रहेको छ । त्यहाँ पनि ठूलो देखिने र नदेखिने उत्पीडन छ । सर्सरी र सतहीरुपमा हेर्दा के लाग्दछ भने यी परस्पर बिपरीत किसिमले बाडिएका मानिसहरुका बीच कुनै लेनदेन या सम्वन्ध रहेको छैन । कसैलाई कसको मतलब पनि छैन । तर यथार्थ पटक्कै त्यस्तो होइन । आजको यो परस्पर बिरोधी अन्तरबिरोधपूर्ण समाजलाई आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता छ भन्ने कुरा पनि जोडदाररुपमा उठ्दै र त्यसका निमित्त गम्भीरतम प्रयास र प्रयत्नहरु पनि हुँदै आएका छन् । बिश्वमा एकता, शान्ति, साझा सम्बृद्धि र समरसताको लक्ष पूरा गरिनु पर्ने आवश्यकता बोध गरेर यसका लागि संघर्ष लगायतका बिभिन्न गतिबिधिहरु पनि भइरहेका छन् । अमिल्लदा कुराहरुलाई हटाएर पारस्परिक एकताको पहिचान गर्नुपर्ने, खोजी गरिनु पर्ने र त्यसका लागि समाजमा एकजूटता ल्याउनु पर्ने बिचार बिमर्श र संघर्ष पनि बिगत ऐतिहासिक समयदेखि भइरहेका र हुदै आइरहेका छन् । यसका लागि आवश्यक आत्मबोध र सचेतना पनि अनेकौं समस्या हुँदाहुदै पनि बढिरहेको छ ।
हो, बिगतका पनि सान्दर्भिक कुरालाई अबलम्बन गर्ने, आवश्यकता अनुरुप परिमार्जन गर्ने र बिकसित गर्ने कुरा एकातिर छ भने अर्कोतिर नयाँ नयाँ मानबीय प्रकृति मैत्री खोज अनुसन्धानलाई पनि सही किसिमले अघि बढाउन पर्ने उत्तिकै मात्र होइन, अझ बढी आवश्यकता पनि रहेकोछ । पुराना र नयाँ दुबै असल कुराहरुलाई आत्मसात गर्ने, पक्रने र तिनलाई निरन्तरता दिने कुरा एकातिर छ भने अर्कोतिर पुरानै मात्र मान्ने र नयाँ कुुरालाई तिरष्कार गर्ने अनि नयाँ मात्रै मान्ने र पुरानाजति सबैलाई वेवास्ता गर्ने दुइ अतिबादले पनि भड्काउने, लडाउने, भिडाउने काम गरिरहेको छ । यसले गर्दा एकातिर भ्रामक र अन्धबिश्वापूर्ण कुराका लागि अनावश्यक र अस्वीकार्य लडाई झगडामा पनि मानव समाज फँसेको छ भने यी कुराहरुलाई तिलाञ्जली दिएर नयाँ मानबीय, समुन्नत समाजका लागि न्यायपूर्ण, स्वाभाविक संंघर्ष पनि चलिरहेको छ । सही बाटो लागे सही गन्तब्यमा पुगिन्छ भन्ने कुरा पनि एकातिर छ भने अर्कोतिर अहंकारयुक्त अन्धबिश्वासलाई जानेर नजानेर काखी च्याप्ने प्रबृत्ति, चिन्तन र सोचले पनि काम गरिरहेको छ ।
समग्रमा हेर्दा केही अपवादलाई छाडेर बिकास जतिसुकै भए पनि आम जनता भयावह असुरक्षामा कुवाको भ्यागुतो जस्तै भएर बाच्न बिवश छन् ।उनीहरुको चेतनाको स्तर बढ्न पाएको भए उनीहरु पनि वास्तविकता बुझेर संसारको फराकिलो फलकसँग जोडिने थिए होला तर त्यस्तो अबस्था अझै बिकसित भएको छैन । आज संचारको अभूतपूर्व बिकास अवश्य भएको छ । अनि मानब जीवनको उन्नति, प्रगति र सभ्यताको बिकासको निमित्त संचारको महत्व पहिला कहिलेभन्दा आज अझ बढेको छ ।
तर पनि मानिस असुरक्षा, अनिश्चतता र अज्ञानताले गर्दा कुवाको भ्यागुता सरह नै बाचेको छ । यी कुरा हटाउन सञ्चारको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ । वास्तवमा आधारभूतरुपमा भन्ने हो भने सञ्चार मानिसकै निमित्त जनताकै निमित्त हो । तर आज अरु कुरा जस्तै सञ्चारको कुरा पनि बजारबाटै परिचालित हुन्छ र भइरहेको छ । वास्तविक अर्थमा सञ्चार समग्रमा मानब अभिब्यक्तिकै सम्पे्रषणको एउटा बहुस्तरीय तरीका र प्रकृया हो । त्यसमा सबै किसिमका संबेदनाहरु समाबिष्ट भएका हुन्छन् । ती सबै एक आपसमा अन्तरसम्वन्धित हुन्छन् र त्यसैले समुच्चय संचार समग्रतामा यसले समग्रताकै अभिब्यक्ति गर्दछ । सञ्चार वास्तबमा अन्तरसम्वन्धित कुरा नै हो । हुन पनि सञ्चार हुँदा ब्यक्तिले समष्टिमा भाग लिइरहेको हुन्छ । किनभने समाज सहभागीतामूलक हुन्छ । अनि सञ्चारको अपेक्षा समानुभूति, एक अर्कासाँग सहभाव र अरुको भाषा समेत जान्ने बुझ्ने कुरासँग सम्वन्धित हुन्छ । अनि सञ्चारले मानिसलाई यसरी बद्लिन मद्दत गर्दछ कि मानिस त्यो सम्पे्रषणाको अनुकूल बन्ने गर्दछ र एक अर्काको चेतनाको अंश र परिपूरक बन्दछ । यसका लागि सम्बाद र संबेदना दुबै कुरा चाहिन्छ । जीवन्त अनुभवबाट उत्पन्न सञ्चार सहभागिता अफु र अरुका पनि सम्वादको आधार बन्न सक्तछ । शायद वास्तविक ज्ञान प्राप्तिको बाटो पनि यस्तै हुन्छ होला । अरुलाई बुझ्नु सम्झिनु केवल सूचना लिने दिने कुरा मात्र हुदैन । यो सबैको सिक्ने प्रकृया पनि हो । आजको आधुनिक मानिसले आफ्नो अभिब्यक्ति तथा आफ्नो प्रदर्शनसँग नै बढी मतलब राख्ने गर्दछ । उसले भाषाको बढी नै उपयोग गर्ने गर्दछ । वास्तबमा भित्र बाहिर जहाँ पनि स्वरमा देखापर्ने गुटगत कुरा नै सुन्ने गरिन्छ । यसको पूरा श्रवण त त्यही हुनेछ जहा अकथित या मौन तथा भाषा दुबै नै समन्बित होऊन् । हाम्रा ब्रह्माण्डका सारा अबयबहरु एक अर्काको लागि सहज उन्मुक्तता बिना वास्तविक सञ्चार सम्भव पनि हुने छैन र सम्प्रेषणीय पनि ।
तपाईको प्रतिक्रिया