दार्चुला
सहुलियत भाडादरमा हेलिकप्टर संचालन गर्न माग गर्दै ब्याँसबासीले कानुन मन्त्रि शाहलाई ज्ञापन बुझाएका छन् । नेपाली सेनाको हेलिकप्टर मार्फत शुक्रबार विहान दार्चुला आउनु भएका सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई उक्त ज्ञापन बुझाएका हुन् ।
साउनको १९ गते जनैपुर्णिमाका दिन सौका समुदायका मानिसहरुको हरेक घर–घरमा व्यक्तिगत पुजा हुने तथा नेपालबाट छाङ्गरु र तिंकरसम्म जाने बाटो नभएको अवस्थामा सदरमुकाम खलंगामा रहेका सौका समुदायका मानिसहरुलाई ब्याँस सम्म आवत जावत गर्न सहयोग मिलोस भन्ने हेतुले उक्त माग गरिएको ब्याँस गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अशोक सिंह बोहराले जानकारी दिनुभयो ।
ब्याँससम्म जाने घोरेटो बाटो समेत नभएका कारण धर्म संस्कृति जगेर्ना गर्न गरिने पुजापाठ प्रभावित हुने भन्दै खलंगा–ब्याँस हेलिकप्टर प्रदेश सरकार मार्फत सहुलियत भाडादरमा संचालन गर्न कानुन मन्त्रि शाहलाई ज्ञापन बुझाएको उहाले बताए । ब्याँस गाउँपालिकाको वडा नम्बर १ तिंकर र छाङ्गरुमा बसोबास गर्दै आएका सौका समुदायका मानिसहरु ६ महिना तिंकर र छाङ्गरु तथा ६ महिना सदरमुकाम खलंगामा बसाईसराई गर्ने गर्दछन् । नेपालको दार्चुला जिल्लामा मात्रै बसोबास रहेको सौका समुदायका छुट्टै रहन सहन, भेषभुषा, रितिरिवाज र संस्कृति रहेको पाइन्छ ।
विगतका वर्षहरुमा प्रयोग गरिदै आएको खलंगा तिंकर घोरेटोबाटो पुर्णरुपमा भत्केको र पछिल्लो समय कालापानी बिवादले चिसिएको नेपाल भारत सम्बन्धका कारण भारतबाट समेत तिंकर सम्म जान रोक लगाएको अवस्थामा हवाई मार्ग प्रयोगको विकल्प नरहेको भन्दै हेलिकप्टर संचालनको माग गरिएको वडा अध्यक्ष बोहराले बताउनुभयो ।
कानुन मन्त्रि शाहले विहान ब्याँसको छांगरुमा सशस्त्र प्रहरीको गुल्म र मल्लो कौवा र तिंकरमा स्थापना गरिने बीओपी क्षेत्रको स्थलगत अनुगमन निरिक्षण गर्नु भएको थियो । मन्त्री शाहले नेपाली सेनाले निर्माण गरिरहेको घाटीबगड क्षेत्रको घोरेटो बाटोको समेत निरीक्षण गर्नु भएको सुरक्षा स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया