—लोकनारायण सुबेदी
कञ्चनपुरकी बालिका निर्मला पन्तमाथिको कुख्यात र सर्बत्र चर्चित बलात्कार र हत्या भएको दुइ बर्ष पुगिसकेको छ । तर आजसम्म पीडित परिवारले न्याय पाएको छैन । यो घटना एउटी बालिकाको जीबनसँग नराम्रोसँग खेलबाड र हत्या भएको मात्र होइन त्यस पछि पनि अनेक निर्मलाहरुले त्यस्तै दुराचार र अत्याचार बेहोर्नु परिरहेको छ र एक वा अर्को रुपमा त्यस्ता घटनाहरु घटिरहेका छन् । आज पनि सर्बत्र महिला बलात्कार, हत्या र हिंसाका घटनाले मुलुक आक्रान्त हुन छोडेको छैन । त्यसमा पनि यस्ता क्रूर, बिकृतिजन्य तथा निन्दनीय घटना परिघटनाहरुका सन्दर्भमा खाश अपराधी पत्ता लगाउने र कडा तथा उचित दण्ड सजाय दिएर समाजमा महिलाहरुमाथिको असुरक्षा र सन्त्रासलाई कम गर्ने र उनीहरुको सुरक्षित वर्तमान र सुनिश्चित भबिष्य निर्माण गर्नेतिर भन्दा त्यस्ता अपराधिक घटनाहरुलाई ढाकछोप गर्ने र गलत मोड दिने थप अपराधिक कार्य भइरहेको असैह्य र पीडादायक स्थिति ब्याप्त छ । फलतः महिला र बालिकाहरु परिवार, समाज, राज्य कतैबाट पनि सुरक्षित छैनन् भन्ने सन्देश नै प्रवाह भइरहेको दुःखद र अस्वीकार्य स्थिति बिद्यमान छ । यस स्थितिलाई अन्त्य गर्न सही सामाजिक दृष्टिकोण, सशक्त संबैधानिक र कानुनी ब्यबस्था र तिनको सार्थक कार्यान्वयन तथा नैतिक–सामाजिक मर्यादाको प्रभावकारी परिपालना आदि सबै क्षेत्रबाट एकसाथ लाग्नु पर्ने आवश्यकता अत्याधिक बढेको छ । तर यस कुरामा भने जिम्मेवारीमा बसेकाहरुको ध्यान केन्द्रि भएको देखिदैन । यो आजको हाम्रो देशको दुःखद पक्ष हो ।
सर्सरी हेर्दा प्रष्ट के देखिन्छ भने पशु जगतको उत्कृष्ट प्राणी भनिएको मानिस खाशगरी पुरुषका बीचबाट हुने गरेका कतिपय यस्ता यौनिक क्रियाकलापले अरु पशु पंक्षीभन्दा निकृष्ट र बिकृत धरातलमा खडा भएको यो असभ्य,क्रूर, अमानबीय र जंगली चरित्र हो । मानिसको स्वरुप भएर यसरी पशुभन्दा तल झर्नु र देखा पर्नु कम गम्भीर कुरा होइन । जब बालिका, किशोरी र बृद्धाहरु समेत आफ्नै कतिपय परिवारका सदस्यहरु, नजकिका नातेदार, आफन्त, छिमेकी तथा अन्य यौन पिपासुरुद्वारा यौन आक्रमणमा पर्छन्, अपमानित र पीडित हुन्छन् अनि जीवन नै गुमाउनु पर्ने स्थितिमा पुग्दछन् भने यसले हाम्रो समाज महिलाहरुप्रति कति असहिष्णु, कति क्रूर र कति आक्रामक छ भन्ने कुरा एकदमै प्रष्ट छ ।
त्यसमा पनि राज्यका राष्ट्र सेबक मानिएका र शान्ति सुरक्षाको जिम्मा लिएका ठानिएका जिम्मेवार मानिसहरु नै यस्ता बलात्कार र हत्याका यौनजन्य घोर अपराधका अत्यन्तै अमान्य र समाजद्वेषी जघन्य क्रियाकलापमा संलग्न हुन्छन् र अपराध लुकाउन बालिका, किशोरीहरुको जीवन लिला नै समाप्त पार्नेसम्मको घोर अपराध गरिन्छ भने ती अत्यन्तै कडा सजायका भागी हुन् र तिनमाथि कुनै मोलाहिजा बिना नै कडा कारबाही गरिनु पर्ने कुरा स्वभाबतः उपस्थित हुन्छ । यस सन्दर्भमा हाम्रो देशमा खाशगरी दुई बर्ष पहिला कञ्चनपुरकी एक बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणले यो बिभत्स अपराधको नराम्रोसँग उजागर गरेको हो । निर्मला पन्तको घटना प्रकणको प्रकृति, परिवेश र परिस्थितिलाई हेर्दा यौन दूराचारपछि पोल खोल्ने डरले बालिकाको हत्या गरिएको र त्यसलाई ढाक छोप गर्ने योजनाबद्ध प्रपञ्च रचिएको कुरा उदाङ्ग हुन्छ ।
वास्तवमा यो आपराधिक घटना हुँदाका दिन निर्मला पन्तकी आमाले छोरीलाई खोज्दै बम दिदीबहिनी बबिता र रोशनीको घरमा गएर सोधीखोजी गर्दा ‘अगाडि नै गइसकी भन्नु, घरको गेटबाट भित्र जान नदिनु, पोइल गइहोली भन्नु, पहिले देखि एसपिका छोरा, मेयरका भतिजा र एसपी समेतको बमको घरमा बाक्लो उपस्थिति भइरहनुले घटनालाई थप रहस्यमय र सन्देहास्पद बनाएको बिज्ञ जानकारहरुले त्यतिबेलै बताएका हुन् । त्यसै गरी प्रहरीमा पीडितका बुवा आमाले खोजी गर्न अनुरोध गर्दा उल्टै धम्काएर पठाउनु, निर्मलाको साइकल नहरको छेउमा भेटिदा बम दिदीबहिनीले ‘लाश पनि त्यतै होला भन्नु’, मानिस र सवारी साधनहरु आवत जावत गर्ने बाटोको नजिकै निर्मलाको शव भेटिनु, रातभर पानी पर्दा समेत नजिकैमा रहेको निर्मलाको किताब नभिज्नुले यी तमाम रहस्यभित्र केही छैन भन्न सकिन्थ्यो र ? सिविल ड्रेसमा गएकी एक महिला प्रहरीले निर्मलाको सुरुवाल धो एर उनको यौनांग छोपिदिनु, निदोर्ष ब्यक्ति चक्र बडुुलाई पक्राउ गरेर ११ दिनसम्म थुनेर यातना दिदै घटनालाई स्वीकार्न लगाउनु, मानसिक सन्तुलन ठीक नभएका ब्यक्ति दिलीपसिंह बिष्टको सर्टको गोजी च्यातेर ल्याई निर्मलाको शव नजिकै राखे र दिलीपलाई हिरासतमा राखी दुईवटा कुर्सीको बीचमा च्यँपेर बन्दुकको नालले घोच्दै र घाँटीमा राख्दै घटना स्वीकार गर्न लगाउनु, वर्षातको समयमा बमको पुरानो घरमा पेण्ट(रंग) लगाउनु तथा अम्बाको रुख काटेर फाल्नु, प्रहरीको लापरवाहीका कारण घटनास्थल जोगाउन आवश्यक रेकी र सील नगरिनु तथा त्यहाँ भएका सम्पूर्ण प्रमाणहरु प्रहरी आफैले नष्ट गर्नु जस्ता घटनाहरु रहस्य अर्को गम्भीर पाटो रहेको जान्ने सुन्ने ज्ञाताहरुले त्यतिबेलै बताएका हुन् । यति मात्र होइन घर, परिवार र स्थानीयले शंका गरेका ब्यक्तिलाई पक्रेर अनुसन्धान नगर्नु, आन्दोलन चर्किनु, एउटा अपराधको वास्तविक अपराधीलाई कानूनको दायरामा ल्याई कारवाहीको माग गर्दा अर्का निदोर्ष बालकले समेत ज्यान गुमाउनु जस्ता घटनाले कानुनी राज्यको मूल मर्ममाथि नै गम्भीर प्रहार गरेको र ज्वलन्त प्रश्न उठाएको हैन र ?
यद्यपि निर्मला पन्तमाथि भएको त्यो घोर अत्याचारको घटना अन्तिम घटना भने होइन । यसभन्दा अघि पनि यस्ता अत्याचारका घटनाहरुले निरन्तरता पाइरहेका थिए र पछि पनि पाइनै रहेका छन् । कुरा समाजमा बर्चश्व भएका, पहुचवाला र सत्ताले संरक्षण गरेका ब्यक्ति बिशेषहरुको संलग्नता यस्ता अपराधमा हुनु अत्यन्तै खतरनाक कुरा हो । त्यसैले सचेत मानिसहरुमा र पीडित परिबारका मानिसहरुमा यस्ता घटना बिरुद्ध बढी आक्रोश उत्पन्न भएको र उनीहरुको मन उद्वेलित बन्न पुगेको पनि हो र त्यो बिल्कुलै स्वभाविक पनि हो ।
अर्कोतिर हाम्रो जस्तो समाजमा महिलाहरुलाई आमरुपमा हेर्ने जुन सामन्ती, ताथ बिकृति पूँजीवादी पितृ सत्तात्मक, पुरुष प्रधान दृष्टिकोण र ब्यबहार छ त्यसले महिलाहरुलाई कमजोर, भोग्या र जे पनि गर्न हुने आफ्नै स्वामित्वको ‘बस्तु’ सरह मान्ने प्रबृत्ति गहिरो गरी जरा गाडेर रहेको छ । यो नै एउटा मनबद्वेषी घोर अमानबीय प्रबृत्ति हो । यस्तो असभ्य प्रबृत्ति रहेसम्म कुनै न कुनै रुपमा महिलामाथि हिंसा, हत्या र यौनिक अत्याचारका गतिबिधिहरु दोहोरिइरहने कुरा प्रायः निश्चित छ । त्यसैले महिलामाथि हुने गरेका यस्ता जंगली बर्बर बलात्कार र हत्यामाथि कडा भन्दा कडा कारबहीका साथै महिलामाथिका यस्ता राष्ट्रिय समस्याहरुको निराकण गर्न समाजकै आमूल र अग्रगामी परिवर्तन र उच्च,सभ्य र मनबीय सँस्कृतिको स्थापना र निरन्तर बिस्तार आवश्यक छ भन्ने कुरा यसले प्रष्ट पार्दछ । त्यसैले समाजका शोषित उत्पीडित बर्ग बर्ग–स्तर, तह र तप्काका सबै जन समुदाय आज जागरुप, सचेत र संगठित भएर यस्ता आपराधिक बिकृतिहरु हुन नदिन निरन्तर संघर्षशील भइराख्नु पर्ने ज्वलन्त राष्ट्रिय आवश्यकता छ ।
तपाईको प्रतिक्रिया