काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आचारसंहिता विपरीत कर्मचारीलाई चुनाव प्रचारमा खटाएको खुलेको छ । सप्तरी २ बाट उम्मेदवार बनेका यादवले प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफू जित्न सरकारी कर्मचारी र सरकारी सम्पत्तिको दुरुपयोग गरेपछि निर्वाचन आयोगले एक्सन नै लिएको छ ।
सप्तरी २ मा युवामाझ लोकप्रिय जनमत पार्टीका अध्यक्ष सीके राउत बलियो देखिएका छन् । त्यस्तै लोसपाका पुराना नेता जयप्रकाश ठाकुरको पनि यहाँ जनमत राम्रो छ । तर चुनाव जित्न उपेन्द्र सरकारी कर्मचारी नै मैदानमा उतारेपछि विरोध भएको छ । आयोगले यसमा प्रारम्भिक एक्सन लिएको छ । उपेन्द्रमाथि पनि एक्सन लिने तयारी गरेको छ ।
हाँकाहाँकी आचारसंहिता उल्लंघन गरेका उपेन्द्रलाई आयोगले एक लाखसम्म जरिवानादेखि उम्मेदवारी खारेजीसम्म गर्न सक्छ । तर प्रारम्भिकमा आयोगले उपेन्द्र यादवले चुनाव प्रचारमा खटाएका राजविराज नगरपालिकाका शाखा अधिकृत मनोज कुमार यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ । यादवविरुद्ध सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवको प्रचारप्रसार गरेको भनी उजुरी परेको सन्दर्भमा आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन । सोही दफाको खण्ड (ख) अनुसार निजहरुले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन हुँदैन ।
‘उल्लेखित सन्दर्भमा तपाईंले दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता, २०७९ र प्रचलित निजामति सेवासम्बन्धी कानून समेतको उल्लङ्घन हुने भएकोले तपाईंलाई प्रचलित कानून बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’ स्पष्टीकरणमा भनिएको छ, ‘प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सप्तरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ । अन्यथा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा यसै पत्रबाट जानकारी गराइन्छ ।’
तपाईको प्रतिक्रिया