काठमाडौं । मधेसी जनताको हकहित र अधिकारका लागि राजनीति गर्ने भनिए पनि उपेन्द्र यादवले मधेस विरोधी छवि भएको शक्तिसँग सहकार्य गर्दा मधेसी जनता आक्रोशित बनेका छन् ।
खासगरी ४ मंसिरको निर्वाचनमा उपेन्द्रको दल जसपाबाट विभिन्न क्षेत्रमा उठेका उम्मेदवारलाई प्रश्न गर्दै मतदाताले दोकलापन देखाएको भन्दै गुनासो गरेका छन् ।
विगतमा मधेसी विरोधी भनेर एमालेविरुद्ध आन्दोलनमा युवाहरुलाई शहिद बनाएका उपेन्द्रले अहिले तिनै एमालेसँग सहकार्य गरेपछि मधेसी मतदाता जसपाप्रति भड्किएका छन् ।
अर्कोतिर जसपाका उम्मेदवार र कार्यकर्तालाई मत माग्नै कठिन भएको छ । जसको विरोधमा विगतमा राजनीति गरियो उसैसँग सहकार्य गर्दा नेता कार्यकर्ता र उम्मेदवारलाई नैतिक संकट आइलागेको हो । त्यसमाथि सचेत मतदाताले त्यही विषयमा प्रश्न गरिदिँदा कार्यकर्तासँग कुनै जवाफ नै छैन ।
उपेन्द्र उठेको सप्तरी २ मै पनि कार्यकर्तालाई मत माग्न अफ्ठेरो परेको छ । सत्ता र शक्तिका लागि जस्तोसुकै निर्णय गर्ने, हिजोको विरोधी शक्तिसँग आज हात मिलाउने उपेन्द्रका कामले उनी प्रश्नको घेरामा परेका छन् । तर त्यसको सामना कार्यकर्ताले गरिरहनु परेको छ ।
जसपाका एक कार्यकर्ता गुनासो गर्छन्, ‘ठूला नेताले पार्टी सिद्धान्तलाई तिलाञ्जली दिएर जोसुकैसँग पनि सहकार्य गर्दा हामीलाई अफ्ठेरो परेको छ । हिजोको विरोधी शक्तिसँग हात मिलाउँदा हामीले जवाफ दिनुपर्छ । मधेस विरोधी गतिविधिमा संलग्न पार्टीसँग तालमेल गर्दा मतदातामा समेत नकारात्मक प्रभाव परेको छ । यसरी पार्टी र आन्दोलन समाप्तको बाटोतिर जाने हो कि ।’
मधेसका अधिकांश जिल्लामा यस्तै प्रश्नले उपेन्द्रका कार्यकर्तालाई मत माग्नै संकट परेको छ । अर्कोतिर मतदाता पनि रुष्ट हुँदा त्यसको असर आसन्न चुनावमा पर्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया