काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवकाे फेरि संसद छिर्ने प्रयासमा धक्का लाग्ने निश्चित भएकाे छ ।
आगामी निर्वाचनमा उनी दुई कारणले हार्ने देखिएकाे छ । पत्रकार कुसुम भट्टराईले आफ्नाे आलेखमा उल्लेख गरेअनुसार सप्तरी २ का उम्मेदवार उपेन्द्रलाई एमालेसँगकाे समीकरण महंगाे र आत्मघाति हुने देखिएकाे हाे ।
आलेखमा उल्लेख भएअनुसार गौर नरसंहार र विगतमा ओलीको कटु आलोचना गरेकाले चुनावी गठबन्धन भए पनि उपेन्द्र यादवलाई एमाले पंक्तिले मत हाल्नेमा शंका उत्पन्न भएको छ ।
विगतमा ओलीको व्यापक आलोचना गर्ने उम्मेदवार भएकाले यादवको बाकसमा एमाले समर्थक मतदाताको मत ‘ट्रान्सफर’ नहुने सम्भावना बढेको छ ।
यादवसँग यतिखेर दुवै कित्ता रुष्ट छ । ओलीको चर्को विरोध गरेको र गौर नरसंहारको काण्ड रचाएको भन्दै एमालेको ठूलो तप्का उनलाई भोट हाल्न इच्छुक देखिँदैन ।
अर्कोतिर ‘प्रतिगामी ओलीसँग साँठगाँठ गरेको’ भन्दै जसपाकै संघीयता, धर्म निरपेक्षता र गणतन्त्र पक्षधर अग्रगामी कित्ता पनि उनीसँग असन्तुष्ट देखिन्छ । केही नेता कार्यकर्ताले त जसपा त्यागीसकेका पनि छन् ।
एमालेको मत पर्याप्त मात्रामा ‘ट्रान्सफर’ नहुने, जसपाभित्रकै असन्तुष्ट कार्यकर्ताले असहयोग गर्ने परिस्थितिले यादव झन् झन् सँकटमा फस्दै गएका छन् ।
सत्ता गठबन्धनको ‘सेफ जोन’ छाडेर एमालेसँग तालमेल गर्न पुग्दा यादव चुनाव नजिकिँदै जाँदा झन् झन् ‘रेड जोन’मा धकेलिएका छन् र उनमा चिन्ता बढ्दैछ ।
अहिले मधेशमा संघीय समाजवादी फोरम हुँदाताकाको जस्तो मदेशवादी शक्तिहरूको वर्चस्व देखिँदैन । मधेश प्रदेशमा गत स्थानीय निर्वाचनमा पहिलो, दोस्रो र तेस्रो स्थान क्रमशः काँग्रेस, एमाले र माओवादी केन्द्रले ल्याएको कटु यथार्थबिच यादवलाई मधेशको शक्तिकै भरमा चुनाव जित्न सहज छैन ।
मधेशमा भएको पछिल्लो विद्रोहका एक नायक डा. सीके राउत र सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरसँग भिड्नु उनका लागि फलामका च्युरा चपाए सरह भएको छ ।
एमाले भनेको चतुर, धुर्त र ‘रकमी’ पार्टी हो । आफ्नो पक्ष सुदृढ गर्ने, तर गठबन्धनमा रहेका अन्य दललाई खासै सहयोग नगर्ने यसको चरित्रको सिकार गत वाम गठबन्धनका बेला स्वयं माओवादी केन्द्र भइसकेको छ ।
गठबन्धन संस्कृतिमा नेपाली कांग्रेस जति इमानदार छ, त्यति इमानदार एमाले देखिँदैन । यसर्थ एमालेको भरमा पर्दा यादव चिप्लिने खतरा बढेको छ । एमालेको मत ‘ट्रान्सफर’ नभएको खण्डमा यादव सकसमा पर्न सक्छन् ।
केही महिनाअघिसम्म शत्रुतापूर्ण र कटु सम्बन्ध रहेका एमाले र जसपाबीच क्षणभरमै सुमधुर सम्बन्ध विकास हुने कुरा पनि आएन । त्यसमाथि उपेन्द्रको अस्थिर स्वभाव देखेका ओलीलाई भोलि जसपासँग सत्ता समीकरणमा सँगै जान सकिने विश्वास पनि छैन ।
अतः आफ्नो थैली कस्ने, अरूको फुके फुकोस् भन्ने रणनीति बनाइरहेको एमालेले यादवलाई धोका नदेला भन्ने पनि कुनै ग्यारेन्टी छैन ।
तपाईको प्रतिक्रिया