काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारी काेषबाट तलब खाने डाक्टरलाई चुनावी प्रचारमा उतारेका छन् ।
सरकारी काेषबाट तलब वा पारिश्रमिक लिने कुनै पनि कर्मचारी, चिकित्सक तथा अन्य पदकाे व्यक्तिले निर्वाचनमा कुनै दल तथा उम्मेदवारकाे पक्षमा मत माग्ने, मतादाता प्रभावित पार्नेगरी प्रचार प्रसार गर्न नहुने व्यवस्था विपरीत उपेन्द्रले निर्वाचनमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक एवं गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झालाई प्रचार प्रसारमा उतारेका छन् ।
उपेन्द्रले मतदाता प्रभावित पार्ने उद्देश्यले डा झालाई आफ्नाे प्रचार अभियानमा सहभागी गराएका छन् । डा झाले उपेन्द्रले नै अस्पतालकाे स्तराेन्नति गरेकाे भनेर प्रचार गरेकाे भिडियाे उपेन्द्रकै फेसबुक पेजबाट सार्वजनिक गरिएकाे छ । याे कामलाई अनदेखा गर्न नमिल्ने भन्दै उपेन्द्रकाे पक्षमा खुलेरै बाेलेका छन् सरकारी काेषबाट तलब खाने डा झा । उनी विरामीकाे उपचार तथा अस्पतालकाे सर्वांगिण विकासभन्दा सबै अस्पतालका सेवा उपेन्द्रले ल्याएकाे भनेर आफ्नाे सार्वजनिक पदकाे जिम्मेवारी र मर्यादा विपरीत चुनावी क्याम्पेनमा सहभागी भएका छन् ।
यसमा आचारसंहिताकाे धज्जी उडाएकाे भन्दै निर्वाचन आयाेगले स्पष्टीकरण साेध्ने तयारी गरेकाे छ ।
यसअघि उपेन्द्रले यस क्षेत्रकाे स्थानीय तहकाे कर्मचारीलाई चुनाव प्रचारमा प्रयाेग गरेपछि निर्वाचन आयाेगले स्पष्टीकरण साेधेकाे थियाे ।
सप्तरी २ बाट चुनाव उठेका उपेन्द्रले चुनाव जित्न अनेक हत्कण्डा अपनाएका छन् । नियम कानुन र आचारसंहिताकाे धज्जी उडाएका छन् । सप्तरी २ मा सीके राउत र जयप्रकाश ठाकुरकाे उम्मेदवारीले संकटमा रहेका उपेन्द्र चुनाव जित्न सबै प्रकारकाे अस्त्र प्रयाेग गरिरहेका छन् । नियम कानुनलाई धारे हात लगाउँदा पनि निर्वाचन आयाेगले एक्सन लिन सकेकाे छैन ।
तपाईको प्रतिक्रिया