-लोकनारायण सुबेदी
आज हामी एकाइसौं शताब्दीको तेश्रो दशकबाट गुज्रिरहेका छौं । तर हाम्रो सामाजिक चेतना अझै पनि पुरातन र बर्बर युगकै छ । धामी, झाँक्री, टुनामुना, बोक्सी, डायनी जस्ता कुराले अझै अखडा जमाएकै छ हाम्रो समाजमा । पाँच बर्ष अघिको कुरा हो हाम्रो देशको नवलपरासी जिल्लाको कुडिया गाउँमा ‘देउतालाई बली चढाउन’ भनेर एक जना अबोध बालकको जुन क्रूर, अमानवीय र बिभत्स हत्या भएको थियो त्यसले यस्तै अमानवीय बर्बर अन्धबिश्वासको खुलासा गरेको थियो । त्यो घोर अबाञ्छित र अकल्पनीय घटनाले हाम्रो समाजको एउटा कटु बास्तविकताको नराम्रोसँग उजागरिदिएको र पोल खोलिदिएको थियो ।
कोदाई चमार नामक एकजना स्थानीय झाँक्री, उनका केही नातेदारहरु र अन्य मानिसहरु समेत मिलेर छिमेकका एकजना १० बर्षका अबोध बच्चाको ‘बली दिने’ जुन अत्यन्तै अमानवीय घटना भएको थियो त्यो घोर अन्धबिश्वासयुक्त र क्रुर अपराध थियो र हो नै । त्यसले आज हामीले दाबी गर्ने गरेको सभ्य समाजलाई नराम्रोसँग गिज्याएको र गम्भीर प्रश्न पनि उठाएको थियो । त्यस प्रकारका घटनाहरु वास्तवमा सामाजिक अन्धबिश्वास र अशिक्षाका कारण आज पनि हाम्रो समाजमा मौलाइरहेका छन् । बिगत कालमा पनि यस्ता प्रकारका क्रुरतम घटना घट्ने गरेको र त्यस प्रकारका घटना घटाउनेहरु दण्ड सजायको भागी हुन नपरेको र कतिपय पक्राउ परेका भए पनि अदालतले छुटकारा दिने गरेको समेत अबस्था रहेको पाइन्छ । पाँच बर्ष अघिको नवलपरासीको त्यो बाल हत्या काण्डमा पनि सम्वद्ध अधिकारीहरुको कुरा फेरिएको र यसलाई राजनीतिकरण गर्न खोजिएकोले पनि यस्ता क्रुर घटनाको न्यायिक निरोपण हुनेमा सन्देह उत्पन्न हुन भएको थियो । बालकको हत्या गरेर तीन दिनसम्म शब घर भित्रै राखिदा समेत प्रहरी चौकी नजिक भएको कुडिया गाउँको त्यो घटनाको अत्तोपत्तो हुन नसक्नुले हाम्रो सुरक्षा प्रवन्ध अत्यन्तै फितलो अबस्थाबाट गुज्रिरहेको यथार्थको पनि उजागर गरेको थियो त्यो घटनाले ।
हुन त आज नबलपरासी लगायत सारा देशभरी नै सचेतना फैलाउने र जन जागृत गराउने भनेर अनेक आईएनजीओ र एनजीओहरु छयास्छयास्ती फैलिएका पाइन्छन् । अनि त्यो नबलपरासीको घटना भएकै गाउँमा पनि त्यस्ता केही संस्थाहरु सक्रिय रहेको पाइएका हुन् । तथापि जनताका बीच यस्ता पिछडिएका अन्धबिश्वासयुक्त भावना ब्याप्त रहनुले त्यस्ता संस्थाहरुले ठूलो खर्च गरेर चलाउने सचेतना कार्यक्रमहरुले पनि यस्ता पिछडिएका ग्रामीण क्षेत्रमा कुनै सार्थक परिणति ल्याउन सकेको रहेनछ भन्ने प्रष्ट पारेको थियो र अहिले पनि त्योभन्दा भिन्न स्थिति छैन ।
वास्तवमा हाम्रो समाजका एउटा दुइटा यस्ता असामाजिक र अमानवीय घटनाहरु उजागर हुने गरेको भए पनि यस्ता कयौं घटनाहरु पीडितले कतै कसैलाई भन्न सक्ने चेतना र स्थिति पनि पिछडिएको समाजमा अझै पनि रहने गरेको छैन । देउतालाई मानिसको बलि दिनु ठीकै हो भन्ने घोर अन्धबिश्वास पनि कायमै छ । अनि यस्ता घटना घटिहाले भने पनि तिनलाई समाजमै सामसुम पार्ने, सम्बद्ध सरकारी निकायहरुले पनि मिलापत्र गराउने गरेका कतिपय यथार्थहरु पनि रहेका छन् । यो सबै हाम्रो पछौटे र पुरातन सामाजिक चेतना र प्रबृत्तिको द्योतक कुरा पनि हुन् ।
अहिले पनि हाम्रो समाज जन्तर–मन्तर, झाँक्री–बोक्सी, टुना–मुना जस्ता पुरातन अन्ध मान्यताले जकडिएकै छ । त्यसले गर्दा अबोध मानिसहरुले ज्यानै गुमाउनु पर्ने र रोगले आक्रान्त भएर रहनु पर्ने स्थिति बिद्यमान छ । यो अज्ञानतालाई चिर्न र हटाउन नसकेसम्म यस्ता बाल हत्या, अमानबीय महिला प्रताडना र दुर्ब्यहारका क्रुरतम कथाहरु यथार्थ बनेर दोहोरिइरहेका हुन्छन् । त्यसैले ग्रामीण स्तरका बिद्यालय, उच्च बिद्यालय, स्वास्थ्य चौकी, समाजिक संघरसंस्थाहरु, राजनीतिक दलहरु, प्रहरी चौकी र स्थानीय प्रशासन लगायत सबैले आ–आफ्नो स्तरमा र सामुहीकरुपमा समेत जन सचेतना फैलाउन तदारुखताकासाथ अग्रसर हुनै पर्दछ । सञ्चार माध्यमहरुले पनि अन्धबिश्वासलाई आध्यात्मिक चेतनाको नाममा आधुनिकीकरण गरेर तिनको प्रचार प्रसार गर्ने गराउने कार्य रोक्नु पर्दछ । पुरातन अन्धबिश्वासको ठाउमा नयाँ अन्धबिश्वासले सट्टा भर्ना गर्ने गराउने काम कतैबाट पनि हुनुहुदैन । अन्धबिश्वासबाट ज्यानै जाने र अन्त्यन्तै पीडा र प्रताडना दिने घटनालाई रोक्न कडा दण्ड सजायको पनि समुचित ब्यवस्था गरिनु पर्दछ र तिनको ब्यापक सञ्चार गरिनु पर्दछ । जनतलाई सही दिशामा जागरुप तुल्याउनु पर्दछ । अनि मात्र अन्ध मान्यताहरुबाट हाम्रो समाज मुक्त हुने बातावरण बन्दछ ।
हुन पनि सही दिशाबोधको साँस्कृतिक रुपान्तरण बिना कुनै पनि समाज आधुनिक र सभ्य बन्ने दिशामा अग्रसर हुन सक्तैन । त्यहाँ अनेक अन्ध र असामाजिक मान्यताहरुले गुढ लाइरहेका हुन्छन् र तिनले मानबीय र सामाजिक बिकासमा बाधा ब्यवधान खडा गरिरहेका हुन्छन् । त्यसैले राष्ट्रिय क्षेत्रीय र स्थानीय हरेक तहका सचेत समुदायले त्यस्ता बाधा ब्यवधानहरुलाई पञ्छाउने, चिर्ने र त्यसो गर्ने नीति निर्माण गरेर चल्ने परिपाटी बसाल्नु पनि उत्तिकै आवश्यक छ । वस्तुतः यस स्थितिले समाजमा आमूल परिबर्तनकै माग गर्दछ ।
तपाईको प्रतिक्रिया