काठमाडौं – राजनीति कतिसम्म निर्मम हुँदो रहेछ भन्ने कुरा कांग्रेस नेता बालकृष्ण खाँण र उनकी श्रीमती मञ्जु खाँणको सम्बन्धले पुष्टि गरेको छ । सँगै बाँच्ने सँगै मर्ने भनेर बिहे गरेका श्रीमान् श्रीमती एकलाई दुःख पर्दा अर्को फरार भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै गिरोहका सदस्यले नाम पोलेपछि मञ्जु तनावमा थिइन् ।
तर श्रीमान् बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेर लगेपछि मोबाइल स्विच्ड अफ गरेकी मञ्जु अहिले विदेश पुगेकी छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा खाँणलाई प्रहरीले वैशाख २७ गते पक्राउ परेको थियो ।
त्यसयता बेपत्ता बनेकी मञ्जु सिड्नी पुगेको स्रोतले बताएको छ । अस्ट्रेलियामा रहेका एक नेपाली पत्रकारका अनुसार उनी भारतको बाटो हुँदै अस्ट्रेलिया पुगेकी हुन् । तीन दिनअघि नै अस्ट्रेलिया पुगेकी उनी छोरासँगै रहेको बुझिएको छ । स्रोतका अनुसार मञ्जु भारतको नयाँ दिल्ली हुँदै अस्ट्रेलियास्थित सिड्नी विमानस्थल ओर्लिएकी हुन्। श्रीमान् पक्राउ परेर प्रहरी हिरासतमा पुगेको पाँच दिन बितिसक्दा पनि सम्पर्कमा नआएपछि मञ्जुको सोधीखोजी भइरहेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु देउवाले शनिबार राति हिमालय टिभीमा दिएको अन्तर्वार्तामा मञ्जुबारे आफू अनभिज्ञ रहेको बताएकी थिइन् । मञ्जु कांग्रेसको सांसद पनि हुन् । संसद् बैठकमा १० दिन लगातार अनुपस्थित भएमा पद स्वतः जाने अवस्था छ ।
प्रहरीले अहिलेसम्म मञ्जुको बारेमा केही जानकारी गराएको छैन । नक्कली शरणार्थी प्रकरणसँग सम्बन्धित विषयमा मञ्जु र आरजु राणाको अडियो बाहिरिएको थियो। आरजुले उक्त अडियो ‘फेक’ भएको दाबी गर्दै नेपाली प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्। मञ्जु भने आफूमाथि लागेको आरोपबारे केही नबोली विदेश पुगेकी हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतका १२ जना पक्राउ परेका छन्।
तपाईको प्रतिक्रिया