काठमाडौं । पर्साबाट निर्वाचित नेपाली कांग्रेसका सांसद अजय चौरासियाले प्रतिनिधिसभामा रास्वपा सभापति रवि लामिछानेका काण्ड प्रस्तुत गर्दा विवाद भएको छ । आफूले बोलेको सबै ठिक तर अरुले यथार्थ बाहिर ल्याउँदा सहनै नसक्ने स्वभाव भएका लामिछानेले बुधबार आफ्नो पोल खोल्दा संसदमा आफ्नो बचाउमा पुरै पार्टीलाई हर्कतमा उतारे ।
पत्रपत्रिकामै आएको र नक्कली र प्रयोजित अडियो भरमा कांग्रेसका नेता तथा नेतृविरुद्ध आफ्ना सांसदलाई बोल्न उतारेका लामिछानेले आफू विरुद्ध प्रश्न उठाउँदा सदन अवरुद्ध गरेर बखेडा झिके । मिडियामा आएकै समाचारका भरमा उनी आफै पनि कांग्रेस नेता र नेतृत्व विरुद्ध बोल्दै हिँडेका छन् । तर आफूले गरेका कर्तुत खोल्दा सहन सक्दैनन । अदालतमा विचाराधीन विषयमा बोल्न पाइँदैन भनेर बचाउ गर्छन् । जबकी अनुसन्धानमा भएको विषय पनि बोल्न नपाइने कुरालाई उनले संस्थागतरुपमै उल्लंघन गरिरहेका छन् ।
सांसद चौरासियाले सदनमा रास्वपाका सांसदहरुले योजनाबद्ध रुपमा लोकतन्त्रका लागि आजिवन लडेको नेताहरु र लोकतान्त्रिक पार्टीलाई होच्याउने गरी व्यंग्यवाण गर्नेगरी हाउसमा बोलिएकोमा आपत्ति जनाए, सरकारको कारवाहीप्रति पनि होच्याउनेगरी कुरा राखिएकोमा पनि उनले आपत्ति प्रकट गरे । ‘यसरी होच्याउनेहरुमाथि लागेको आरोपबारे के भन्नुहुन्छ, सरकारले के गरिरहेको छ ?’ उनले प्रश्न गरे ।
त्यतिमात्रै होइन सञ्चार माध्यममै आएको पदमुक्त भएका सांसद ढाका कुमार श्रेष्ठले समानुपातिक सांसद बन्न करिब ३ करोड रुपैयाँ रास्वपा सभापति लामिछानेको कोर टिमलाई बुझाएको समाचारबारे उल्लेख गर्दा रास्वपाका सांसदहरु चौरासियामाथि खाउलाझै गरी झम्टिएका थिए । ‘कुनै पूर्वसांसदले पार्टीको नेतालाई सांसद बन्न पैसा दिएको भन्ने आरोप लागेको छ,’ चौरासियाले भने, ‘जसरी नागरिकता बदर भएर, बाहिरको नागरिकता त्यागेको निस्सा पेश नगरेर पुननागरिक लिने काम गरियो ।’ चौरासियाले यति बोल्दै गर्दा लामिछाने जर्याकजुरुक उठे र आफ्नो सांसदलाई उठ्न उर्दी गरे । अनि चर्को स्वरमा अदालतको विषय भन्दै बोल्नै नपाइने जिकिर गरे ।
लामिछानेको राहदानी कीर्ते मुद्दामा अदालतले डकुमेन्ट मागेको र सरकारी कार्यालयले आलटाल गरेको विषयमा सरकारसँग प्रश्न उठाउँदा लामिछानेले अदालतसँग जोडेर आफूविरुद्ध प्रश्न उठ्नै दिएनन् । जबकी अदालतमै विचाराधीन संवेदनशील विषयमा उनी विगतमा ठूलो स्वरले चिच्याएर फैसला नै प्रभावित पार्ने हुन् । आफ्नो आङको यत्रो भैँसी नदेखेर उनले बचावमा चौरासियाको सदनमा बोल्ने अधिकारमै अंकुश लगाउन खोजे ।
‘अदालतको भएको विषयलाई रोस्टममा उठाएर माननीयज्यूले के कुरा गर्न खोज्नुभएको हो ? अदालतको अपमान हो कि उहाँले सुनेको भरमा कुरा गर्न खोज्नु भएको हो कि मेरो निस्सा तपाइलाई बुझाउनुपर्ने हो कि ? अदालतले नमाने पनि निस्सासहितका सबै डकुमेन्टहरु उपलब्ध गराइसकेको छु । अदालतको विषय संसदमा उठाउन पाइँदैन,’ उनले भने ।
ढाका कुमार श्रेष्ठले पैसा बुझाएको समाचारलाई लामिछानेले हल्लाका भरमा लेखिएको न्युज भनेर दाबी गरे । तर हल्लाकै भरमा कांग्रेसका नेताहरुविरुद्ध लेखिएको समाचारकै भरमा उनले सदनमा चर्को स्वरले दोषी करार गरेर आफ्ना सांसदलाई बोल्न लगाएको बिर्सिए । आफूलाई पर्दा हल्ला हुने र अरुलाई चाहि दोषी देख्ने लामिछानेको द्वैध चरित्र पनि चौरासियाले पोल खोल्ने क्रममा प्रस्तुत भयो । समाचारलाई हल्ला भन्दै लामिछानेले त्यसलाई संसदको गरिमा जोडे । ‘यो हल्लाको विषय प्रस्तुत गर्ने ठाउँ होइन । प्रमाण छ भने पुष्टि गर्नुहोला,’ उनले भने ।
यस्तो भन्ने लामिछाने अरुका बारेमा भने हल्लाकै भरमा आक्षेप लाएर चर्चामा रहने गर्छन् । लामिछानेले आफ्नो बोल्ने अधिकारमा अंकुश लगाएउपछि चौरासियाले थप जवाफ दिए, ‘मधेसमा कतिपय नागरिकताको मुद्दा चलिरहेको हुन्छ । प्रत्येक मुद्दामा थुनामा बस्नुपर्ने हुन्छ । दोहोरो लिएको अवस्थामा कारवाही हुँदा थुनामा बस्नुपर्ने हुन्छ । तर यहाँ के गरिएको छ । म प्रधानमन्त्रीसँग जान्न चाहन्छु यो मेरो हक पनि हो कुरा सोध्ने ।
एउटा सामान्य मान्छेको सहयोगीले सुसाइड नोट लेख्यो र त्यसमा दोषी देखियो भने त्यसलाई के भन्ने ? सबै नागरिकलाई कानुनअनुसार सरकारले समान व्यवहार गर्नुपर्छ । यस्ता अनेकन कुराहरु, पुरानै नागरिकता नम्बर दिइएको छ, पुरानै मिति जारी गरिएको कुरा पनि आएको छ, यो ठिक हो कि होइन कानुनसम्मत होइन, मेरो सुसूचित हुने अधिकार हो । कसैले विरोध गर्दैमा मेरो सूचनाको हक खोस्न सक्दैन ।’ लामिछानेले निहुँ खोजेपछि चौरासियाले उनका थप कर्तुतहरु सार्वजनिक गरिदिए । त्यसपछि रास्वपा सांसदहरु कालोनिलो भएर उठेका थिए ।
त्यसपछि त्यसको प्रतिवादमा कांग्रेसहरु सांसदहरु उठेपछि सभामुख देवराज घिमिरेले तनावपूर्ण स्थितिलाई शान्त पार्न अदालतमा विचाराधीन विषय नउठाउन ध्यानाकर्षण गराए । त्यसपछि रास्वपा सांसद पछि हटे र नीति तथा कार्यक्रममा चौरासियाले आफ्नो धारणा राखे । उनले नीति तथा कार्यक्रम समृद्धि र सुशासनलाई केन्द्रमा राखेर आएको भन्दै बेतुकको हावादारी तर्क नगर्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया