बाँके । नेपालगन्जमा गुन्डागर्दीमा संलग्न युवाहरूको खुकुरी प्रहारबाट एक जना पूर्वप्रहरी गम्भीर घाइते भएका छन् । आइतबार राति कल्पतरु होटलनजिकै युवाहरूको खुकुरी प्रहारबाट उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक
(डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
खुकुरी प्रहारबाट केही दिनअघि राजीनामा दिइसकेका वरिष्ठ सई विनोद सिंह घाइते भएको उनले बताए । स्कुटरमा घरतर्फ गइरहेका सिंहलाई मोटरसाइकलमा आएका दुई जना युवाले स्कुटर रोकी विवाद गरेर खुकुरी प्रहार गरेका थिए ।
घटनामा संलग्न नेपालगन्ज कोरियनपुरका दिपेन्द्र अधिकारी र जानकी गाउँपालिका–१ शिवपुरीका भरत थापालाई राति नै पक्राउ गरिएको डिएसपी डाँगीले मिसन टुडेलाई जानकारी दिए ।
‘घटनामा संलग्नहरू राम्रो नियन्त्रणमा आइसकेका छन्,’ उनले भने, ‘घटनाको अनुसन्धान अगाडि बढाएका छौं ।’ खुकुरी प्रहारबाट सिंहका दुवै हातका विभिन्न स्थानमा चोट लागेको छ । पक्राउ परेका दुवै युवाहरू नेपालगन्ज क्षेत्रमा गुन्डागर्दीमा संलग्न रहँदै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटनाको सुक्ष्म रूपमा अनुसन्धान गरेर दोषिलाई कारबाहीको दायरामा ल्याइने डिएसपी डाँगीले जानकारी दिए । ‘घटनामा संग्लन पक्राउ परिसकेका छन्’ उनले भने, ‘घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको छ । कानुन बमोजिम दोषिलाई कारबाही हुन्छ ।’ घाइते सिंहको नेपालगन्जको एक अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया