बाँके । पूर्व पश्चिम राजमार्गको कोहलपुर शम्शेरगञ्ज सडक खण्डमा गएराति सवा ९ बजेतिर रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको ज्यान गएको छ । २९ जना यात्रु घाइते भएका छन् ।
राप्तीसोनारी गा.पा. ८ को शम्शेरगञ्ज नजिकै सालको बुटा अगाडि बस ट्रकसँग ठोक्किएको थियो । बर्दिया ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीकाअनुसार अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ७० वर्षीय चानुराम थारु रहेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जोग बहादुर चन्द र नाम खुल्न बाँकी बसन्त भनिने सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते २९ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनाका घाइतेहरूको उद्दारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथै स्थानीयबासी समेत खटिएका थिए ।
तपाईको प्रतिक्रिया