कोहलपुर, असोज ५,
बाँकेको कोहलपुरका विभिन्न पसल, होटल, रेष्टुरा तथा मेडिकल, अस्पताल, तथा औषधी पसलहरुमा कोरोना भाइरसको संक्रमणपछि व्यापार व्यवसाय धरासायी बनिरहेको अवस्था छ । तर पछिल्लो समय भने केही व्यवसायहरु विस्तारै सुधार हुँदै आएका छन् । भने कोहलपुरको दश विगाह क्षेत्रमा पनि ठुलो असर परेको थियो । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिरामीहरु आउन थालेसँगै त्यस आसपासमा व्यापार व्यवसारमा क्रमिक सुधार हुन थालेको छ । यसै विषयमा हामीले किराना पसल तथा कोल्ड स्टोरका संचालन लिलाम शर्मासँग सँग कुराकानी गरेका छौं ।
तपाईले यहाँ व्यापार सुरु गर्नुभएको कति समय भयो ?
मैले २०७० सालदेखि किराना पसल भनेर संचालन गरेको थिए । केही समय भयो कोल्ड स्टोर पनि राखेको छु ।
अहिलेको कोहलपुरको दश विगाह क्षेत्रमा व्यापार व्यवसाय कस्तो छ ?
संसारमै अहिले कहिल्यै अनुमान पनि नगरिएको वातावरण आइपरेको छ । कोभिड–१९ भन्ने भाइरसका कारण शारीरिक सन्तुलनमात्रै होइन, आर्थिक सन्तुलन पनि बिगारेको छ । कोरोना नआउनु भन्दा अगाडीको व्यापार हेर्नेहो भने अहिले हामी व्यापारिक रुपमा निकै पछि परिरहेका छौं । त्यो बेलाको व्यापार हेर्ने हो भने अहिले हामीलाई सटर भाडा थितर्न पनि समस्या भैरहेको छ ।
पछिल्लो समयमा केही सुधार भएको छ की उस्तै छ ?
हामीले देखेको यहाँको सन्दर्भमा मुख्य व्यापार हो । यसमा असर परिसकेको छ । जुन व्यापारको आकार छ त्यो घटेको छ । दोस्रो अस्पताल पनि हो । त्यो बेलाको अवस्था हेर्ने हो भने अलिकति सुधार भएको भन्न सकिन्छ तर खासै सोचे जस्तो भएको छैन ।
अनि तपाईका सेवा ग्राही यो अस्पतालबाट आउनेहरु हुन् या अरु पनि छन् ?
खासमा हाम्रा सेवाग्राही भनेका सबै अधिकांश नेपालगंज मेडिकल कलेजमा आउने विरामी, बिरामीका कुरुवाहरु नै हुन् । यही मेडिकलका कारण नै भनौ न हामीले यहाँ व्यवसाय सुरु गरेको ।
यहाँ व्यवसाय सुरु गर्नुभएको कति वर्ष भयो नी ?
हामीले २०७२ सालदेखि नै सुरु गरेको हो । पहिले खाद्यान्न तथा किराना पसल मात्रै थियो अहिले हामीले विभिन्न प्रकारका पेय पदार्थसहित कोल्ड स्टोरको पनि स्थापना गरेका छौं ।
कतिको चलेको छ ?
चल्ने भनेको अब नेपालगंज मेडिकल कलेजमा जति बिरामी आउँछन् त्यति नै हो होम्रो व्यापार । त्यहाँ बिरामी आए उनीहरुका कुरुवाहरु आएर हाम्रो पसल चल्ने हो नत्र त हामी दिनभर कुर्नुमात्रै पर्छ ।
अनि आज भोली सेवाग्राहीहरु कत्तिको आईरहेका छन् ?
अलिअलि आईरहेका छन् । त्यता आउँदा केही खाउ न त भनेर त हो हाम्रो पसल चल्ने । पहिले स्वास्थ्य बिमा कार्यक्रमले गर्दा यो अस्पतालमा बिरामीहरु पनि धेरै आउथे हाम्रो व्यापार पनि राम्रो नै चल्थ्यो । अहिले के कारणले बिमा कार्यक्रम बन्द भएको छ । यस कारण पनि हामीलाई व्यवसायमा समस्या आईरहेको छ ।
मेडिकल कलेजमा सेवाग्राहीहरुको संख्या बढाउन कसले के गर्नुपर्ला ?
सबैभन्दा पहिले त यो अस्पातलमा सरकारको पनि ध्यान जान जरुरी छ । यो अस्पतालले यहाँका लाखौं नागरिकहरुका समस्या समाधान गरेको छ भने लाखौंका ज्यान बचाएको छ । त्यसपछि अस्पताल प्रशासनले पनि अस्पतालको रेखदेख राम्ररी गर्नुपर्ने देखिन्छ । त्यसपछि स्वास्थ्कर्मी तथा चिकित्सकहरुले बिरामी प्रति उत्तरदायी बन्न जरुरी छ ।
तपाईको प्रतिक्रिया