कोहलपुर, असोज १०,
नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वास्थ्य उपचारका लागि आउनेहरुको संख्या बढी हुने गरेको छ ।
कोहलपुरमा रहेको पश्चिम नेपालकै ठूलो अस्पताल भएका कारण स्वास्थ्य उपचारका लागि आउनेहरुको संख्यामा कमी आएको छैन । कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण कोहलपुरमा होटल व्यवसायको पनि हब बन्दै गएको हो । यो अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी र तिनका कुरुवा बाहिरी जिल्लाबाट आउने गर्दछन् ।
यहाँका आउने बिरामी तथा कुरुवाका कारण कोहलपुर तथा दश बिगाह क्षेत्रका होटल व्यवासयीहरुलाई पत्यक्ष लाभ हुँदै आएको होटल व्यवसायी तथा राजनीतिज्ञ कपिल शाहले बताएका छन् । शहले भने,–‘ नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरकै कारण अस्पताल वरिपरिका साना ठूला होटल रेष्टुराँ चलेका छन् ।’ उनले यो अस्पतालमा आउने आउने बिरामी र कुरुवाले होटल चलेका बताए ।
उनले कोहलपुर क्षेत्रका होटल रेष्टुराँको मुख्य आम्दानी बाहिरी जिल्लाबाट स्वास्थ्य परीक्षण गराउन आउने गरेका सेवाग्राही भएको बताए । शाहले यहाँको स्वास्थ्य क्षेत्रको विकाससँगै होटल रेष्टुराँको व्यवसाय बढ्दै गएको बताए । राजधानी लगायत भारतका विभिन्न शहरमा हुने उपचार यही अस्पतालमा हुने भएपछि देशका विभिन्न जिल्लाबाट धेरै बिरामी उपचारका लागि आउँदा होटल रेष्टुराँको व्यवसाय राम्रो भएको हो ।
यस्तै नेपालगंज मेडिकल कलेजमा पढ्न आउने ठूलो सङ्ख्याका विद्यार्थीका कारण पनि होटल, रेष्टुराँ, नास्ता पसलका साथै यहँँको आर्थिक क्षेत्रमा राम्रो प्रभाव पारेको छ । अस्पतालका बिरामी, कुरुवा, विद्यार्थी, चिकित्सक मुख्य सेवाग्राही भएको दश बिगाह क्षेत्रका व्यवसायीहरु बताउँछन् । दश बिगाह क्षेत्रका सबै होटलहरुको मुख्य आधार अस्पताल हो ।
तपाईको प्रतिक्रिया