दार्चुला । तिंकर सडक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाको टोली दार्चुला पुगेको छ । चालु आर्थिक वर्षबाट दार्चुला–तिंकर सडकको निर्माण कार्य गर्ने जिम्मेवारी पाएसंगै नयाँ आर्थिक वर्षको पहिलो महिनामै सेनाको टोली निर्माण सामग्री सहित जिल्ला पुगेको हो । नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ जना नेपाली सेनाको टोली जिल्ला आइपुगेको दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति सेनानी बिक्रमदेव थापाले बताए ।
नेपाली सेनाका आठ ओटा गाडीमा निर्माण सामग्रीसहित सेनाको टोली सदरमुकाम खलंगा पुगेको छ । नेपाली सेनाका महासेनानी गुरुङका अनुसार सडक निर्माण गर्नुपर्ने क्षेत्रको स्थलगत अवलोकन गरेर सोही अनुसार बन्दोबस्ती र व्यवस्थापन गरिने छ । भदौबाट सडक निर्माणको कार्य थाल्ने उनले बताए ।
गत बैशाख १४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ब्याँस गाउँपालिका वडा नम्बर २ घाँटिबगरदेखि तिंकरसम्म ८७ किलोमिटर सडक निर्माणका जिम्मा दिने निर्णय गरेको थियो । एक दशकदेखि निर्माण कार्य सुरु भएको दार्चुला–तिंकर सडकको हालसम्म ४० किलोमिटर मात्रै ट्याक खोलिएको छ ।
तपाईको प्रतिक्रिया